कारोबार


पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

फाइल तस्बिर


रासस
फागुन २७, २०८१ मंगलबार १२:२५, गण्डकी

पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ।

कुल ३८ दशमलव ८८ किमि दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमि सडक कालोपत्र भएको छ। चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमिमा दुईतर्फी र १४ दशमलव १५ किमिमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए। उक्त सडक निर्माणको म्याद वि.सं. २०८२ पुससम्म छ। यसअघि दुईपटकसम्म म्याद थप भएको थियो। 

पश्चिमतर्फ तनुहँमा दुई किमि सडक मात्र कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताउनुभयो। कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उनको भनाइ छ। तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। एक वर्षभित्र कामसक्ने लक्ष्य लिइएको इञ्जिनियर नेपालले बताए।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो। पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इञ्जिनियर नेपालले जानकारी दिए।पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए। पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर नेपालले बताए।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ। पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ। चिनियाँ निर्माण कम्पनीले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो। कुल ८१ किमि दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो। 

कुल ४१ दशमलव ४५ किमिको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो। पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ। सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ। 

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ। चार लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ। पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इञ्जिनियर नेपालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad