शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘होस्टेल ३’अग्रिम टिकट बुकिङ खुला भएको छ। नेपालका मल्टिप्लेक्स हलहरूले यस फिल्मलाई उत्साहजनक शो दिएका छ्न्।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो दिएको छ। आईएनआई सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो छन्।
बुधबार साँझसम्म देशभर करिब १२० शो सङ्ख्याको अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन्। हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस चलचित्रको व्यापक ओपनिङको प्रक्षेपण गरिएको छ।
‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए। यस कारणले नै तेस्रो भागलाई पनि दर्शकको राम्रो साथ मिल्ने अपेक्षा गरिएको छ।
चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको थियो। ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने हालसम्म यो क्रम २१ लाख माथि पुगिसकेको छ।
हालसम्म पनि नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा रहेको ट्रेलर भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वका देशहरू सहित २० भन्दा धेरै देशमा ट्रेन्डिङमा आएको थियो। चलचित्रले भारतीय चलचित्र उद्योगहरूको विशाल संसारमा समेत ट्रेन्डिङमा प्रवेश गरी इतिहास कायम गरेको थियो।
सशान कँडेलद्वारा निर्देशीत यस फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीको अभिनय छ।
अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्।
चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन्। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन्।
Shares

प्रतिक्रिया