कला


मधेस आन्दोलनको कथा ‘राजागंज’को ट्रेलर सार्वजनिक

मधेस आन्दोलनको कथा ‘राजागंज’को ट्रेलर सार्वजनिक

नेपालखबर
फागुन १९, २०८१ सोमबार २१:२८, काठमाडौँ

दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ।

मधेसमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ। आन्दोलनकाबीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ। प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसल पनि ट्रेलरमा हेर्न पाइन्छ ।

सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठुलो सिनेमा रहेको बताए। उनले भने, ‘मैले यसअघि यति ठूलो सिनेमा निर्माण गरेको थिइनँ। कलाकारसहित सिनेमामा एक हजार बढि मानिस संलग्न थिएँ।’ सिनेमालाई सन् २०१५ को परिवेशमा निर्माण गरिएको पनि निर्देशक रौनियारले जानकारी दिए।

अन्तर्राष्ट्रिय महोत्सवहरुमा सिनेमा प्रशंसा पाएकाले नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास उनको छ। आगामी चैत १ गतेबाट प्रदर्शन आउने फिल्ममा आशा र दयाहाङसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ।

यस फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा सहभागिता जनाइसकेको छ। यस फिल्मले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्। यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad