आगामी जुन र जुलाई महिनामा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ। क्यानडाको विभिन्न सहरमा कार्यक्रम हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए।
‘हामीले विभिन्न कार्यक्रम पश्चात यो शो भव्य रुपमा गर्न लागेका छौँ। यहाँका नेपालीले डिमाण्ड गर्नुभएका कै कारण उहाँहरूलाई लिएर शो गर्न लागेका हौँ। यो शोमा हाँस्ने र नाच्ने हो,’ उनले भने।
नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ। नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्दै विगतमा भण्डारीले प्रकाश सपूत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका छन्।
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न पाइनेछ। उनका अनुसार क्यानडाको टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यानकुभर लगायतका सहरमा कार्यक्रम हुनेछ।
यो कार्यक्रम आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा हुन लागेको हो।
क्यानडामा प्रस्तुती दिने खबरले कमेडियन सुमन कार्की उत्साहित छ। उनले भने,‘क्यानडामा पहिलोपटक प्रस्तुती दिदै छौँ। त्यहाँका लागि हामीले फरक रुपमा आफ्नो तयारी गरिरहेका छौँ। क्यानडामा नेपाली कार्यक्रम बढिरहेको सन्दर्भमा हामीले प्रस्तुती दिन पाउनु हाम्रो लागि सुखद हो। हामी दर्शकको समयको भरपुर सदुपयोग हुने किसिमको प्रस्तुतीको तयारी गरिरहेका छौँ।’
आई र यु इन्टरटेनमेन्टमार्फत निश्चल पौडेल र आगन इभेन्ट्समार्फत जिआर भण्डारीले क्यानडामा नेपाली कला र संस्कृति झल्किने विभिन्न कार्यक्रम गर्दै आएका छन् । उनीहरूले ‘ऊनको स्वीटर’ नामक चलचित्र पनि क्यानडामा नेपालकै मितिमा प्रदर्शन गर्दैछन्।
Shares

प्रतिक्रिया