सुख र दुःखको मेल हो जिन्दगी
समय र भाग्यको खेल हो जिन्दगी
एक्लै पनि जिन्दगी चल्दोरहेछ
एक्लै पनि जिन्दगी चल्दोरहेछ
एक दिनअघि सार्वजनिक भएको यो गीत अहिले गायिका एलिना चौहानको जीवनसँग मिलिरहेको छ। गीतका शब्दझै एलिनाको जिन्दगी पनि एक्लै चलिरहेको छ।
केही समयदेखि गायिका चौहान बैवाहिक सम्बन्धलाई लिएर चर्चामा छिन्। एलिनाको श्रीमान्सँग सम्बन्ध बिग्रिएको खबर यतिखेर सामाजिक सञ्जालमा छाएको छ।
गत वैशाखमा गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग वैवाहिक बन्धनमा बाँधिइन्। बिहेको केही महिनामै एलिना श्रीमान्सँगै अस्ट्रेलिया उडिन्।
तर, गत तीजको अवसरमा नेपाल आएकी एलिना अस्ट्रेलिया फर्किएकी छैनन्। विष्णु भने उता फर्निचरको व्यवसाय समालेर बसिरहेका छन्।
केही समयअघि एलिना ओशो ध्यानमा देखिएकी थिइन्। अस्ट्रेलिया नर्फिनु त्यसमाथि ओशोमा देखिनु। जसले श्रीमान्सँगको सम्बन्धमा दरार आएको भन्दै मिडियामा निकै हल्ला चल्यो। त्यसयता एलिनालाई श्रीमान्सँगको सम्बन्धको प्रश्नले हैरानी भोग्नु परिरहेको थियो।
तर, केहीदिनअघि गायिका ज्योति मगरले फेसबुकमा एक स्टाट्स राखिन्। जसमा उनले आफूसँग एक गायिकाले श्रीमान्बाट हिंसा भोगेको कुरा सेयर गरेको उल्लेख गरेकी थिइन्।
स्टाट्समा लेखिएको थियो, ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो। २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर्र आँसु झारिन्। उनले रगताम्मे अनुहार, आँखा र मुखभरि निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी यस्तोसम्म भोगें भनिन्।मैले उनलाई स्ट्रङ होउ मुभ अन गर त भनें, तर मेरो मन अति नै भारी हुँदैछ। साँच्चिकै उनको पीडामा मलाई धोको फेरेर रुन मन लाग्दैछ। एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आममहिलाको हालत के होला? जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहिएछ भने मात्रै उनको अनुमतिमा नाम मेन्सन गर्नेछु। उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो।’
भलै ज्योतिले पछि स्टाट्स हटाइन्। तर, बद्री पंगेनीले पोस्ट गरेको यात्राको भिडिओबाट धेरैले ती गायिका एलिनानै रहेको अनुमान लगाइहाले। पछि बद्रीले पनि त्यो भिडिओ डिलेट गरेका थिए।
अस्ट्रेलियामा छँदा एलिनाले एक गीतमा टिकटक बनाएर भिडिओ राखेकी थिइन्। उक्त भिडिओमा एलिनाको अनुहारभरि निलडाम देखिन्थ्यो। जुन भिडिओले सामाजिक सञ्जालमा तरंग ल्याएको थियो। श्रीमान्सँगको सम्बन्ध बिग्रिएको भन्दै अड्कलबाजी भएपछि एलिनाले स्पष्टीकरण नै दिएकी थिइन्।
उनले गीतको भावअनुसार भिडिओ बनाउन निलडामको मेकअप गरेको बताउँदै आफू ठिक रहेको दाबी गरेकी थिइन्। यो कुरा ज्योतिले उल्लेख गरेसँग मिलेपछि हल्लामा थप बल पुग्यो।
झन् हिजो सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो कार्यक्रममा एलिनाको वैवाहिक सम्बन्धबारे खुलासा गरिदिए। उनीहरूको सम्बन्ध नटिक्ने भन्दै भविष्यवाणी गर्न समेत भ्याए।
बाहिर विभिन्न हल्ला भए पनि निकटस्थहरूका अनुसार एलिना र विष्णुको सम्बन्ध ठिक छैन। लामो समयदेखि छुट्टाछुट्टै बसेका उनीहरूको सम्बन्ध बिग्रिएको एलिना निकटहरूले जनाएका छन्। यद्दपी, हालसम्म उनीहरुबीच सम्बन्धविच्छेद भएको छैन।
Shares

प्रतिक्रिया