कला


दिनेश राउतको फिल्म ‘महाभोज’को शुभमुहूर्त, सुटिङ भोलिबाट

दिनेश राउतको फिल्म ‘महाभोज’को शुभमुहूर्त, सुटिङ भोलिबाट

नेपालखबर
माघ १, २०८१ मंगलबार १२:४३, काठमाडौँ

दिनेश राउतको निर्देशनमा बन्ने फिल्म‘महाभोज’को शुभमुहूर्त पूजा गरिएको छ। मङ्गलबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिमसहित विशेष पूजा गरिएको हो।

शुभमुहूर्त पूजामा फिल्मका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला,  बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकार उपस्थित थिए। साथै, चलचित्रका प्राविधिक तथा निर्माण समूह पनि उपस्थित थियो। 

यो फिल्मको पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने बताइएको छ। जसको लागि बुधबार फिल्म टिम त्यसतर्फ प्रस्थान गर्नेछ।

दिनेश राउतले यसअघि ‘पुजार सार्की’ निर्देशन गरेका थिए। चलचित्रमा प्रशंसित निर्देशक राउतले आफ्नो महत्त्वाकाङ्क्षी प्रोजेक्टको रूपमा कलाकारहरूको बुलन्द लाइनअपसहित चलचित्र निर्देशन गर्न लागेका हुन्।

निर्देशक राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताए। 

‘महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो। मैले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु। देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउने छ।’

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माता यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका हिमाल कडरिया हुन्। कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन्। 

चलचित्रलाई यसअघि ‘प्रकाश’ र ‘पुजार सार्की’ लेखेका विकास सुवेदीले लेखेका छन् भने छायाकार राजेश श्रेष्ठ हुन्। सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ।

रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर हुन् भने मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन्।

साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ। काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad