कला


लण्डनमा गुन्जियो कन्दरा, प्रत्येक प्रस्तुतिमा ‘वान्स मोर’

लण्डनमा गुन्जियो कन्दरा, प्रत्येक प्रस्तुतिमा ‘वान्स मोर’

नेपालखबर
पुस २२, २०८१ सोमबार ४:५६, काठमाडौँ

‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ।

शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो। कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो। कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ।

नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।

गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाए। उनका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए।

ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गरेका थिए।

कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भने, ‘विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ।’

कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन्। ड्रम्समा रहेका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुन्।

कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ।

यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ।

नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad