अभिनेता दयाहाङ राई फिल्म ‘कार्साङ’मार्फत ६ महिनापछि पर्दामा देखिँदै छन्।
शेर्पा समुदायको कथामा बनेको उक्त फिल्ममा दयाहाङ मुख्य भूमिकामा छन्।
पात्र नयाँ लागेकाले आफू यस फिल्ममा जोडिएको पत्रकारसँगको भेटघाटमा दयाहाङले बताए।
आफू आर्थिक अवस्था कमजोर भएको पात्रमा देखिएको उल्लेख गर्दै उनले सुटिङ अनुभव सुनाएका छन्।
उनका अनुसार फिल्ममा झाँक्री विद्या जान्नुपर्ने रहेछ। जसका लागि उनले आगोमा नाच्नुपर्ने दृश्य थियो। जुन सिन गर्न निकै डराएको दयाहाङले बताए।
‘झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो। आगोमा नाच्नुपर्ने थियो। सिनेमा हो, चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ। तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो। डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ। मलाई के गर्नु, गर्नु भयो। ट्राईचाहिँ गर्छु भन्ने भयो। आगोमा पसेँ, सफल भएँ। साँच्चै उहाँहरूसँग ज्ञान रहेछ,’ उनले भने।
झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनले बताए।
यम शेर्पाको डेब्यु निर्देशन रहेको फिल्म पुस २६ गते रिलिज हुनेछ।
‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ। यसमा दयाहाङसहित सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारले अभिनय गरेका छन्।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्।
सहनिर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताका रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
Shares

प्रतिक्रिया