कला


‘होस्टेल ३’ को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

‘होस्टेल ३’ को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

नेपालखबर
पुस १२, २०८१ शुक्रबार १२:२५, काठमाडौँ

नेपालको चर्चित चलचित्र शृंखला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक भएको छ।

पोस्टरसँगै फिल्म आगामी फागुन २३ गते रिलिज गर्ने घोषणा गरिएको छ। 

चलचित्रको पहिलो झलक देखाउने पोस्टरमा चार मुख्य पात्रलाई हर्षित मुद्रामा देखाइएको छ, जसले चलचित्र हास्यरसमा आधारित रहेको संकेत गर्छ। 

पोस्टरमा चलचित्रमा प्रमुख पुरुष पात्रले बास्केटबल कोर्टमा रमाइला गतिविधि गरिरहेको देखिन्छ। यी चार मुख्य पात्र आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरी र पदम तामाङ हुन्।

पात्रहरूको हास्यपूर्ण शैलीले चलचित्रको कथावस्तु रमाइलो र जीवन्त हुने संकेत गर्छ।

‘होस्टेल ३’ ले क्याम्पस जीवनका संघर्ष, मित्रता, र रमाइला क्षणको कथा समेट्ने अपेक्षा गरिएको छ।

सशान कँडेलको कथा र निर्देशन रहेको यस फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन्। चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो।

निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सहनिर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शंकर कोइराला हुन्।

‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलतापछि निर्माण गरिएको हो।

यसले युवामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।

यो शृंखलालाई नयाँ प्रतिभाको उद्‌गमस्थलका रूपमा लिइन्छ । यसको तेस्रो शृंखला पनि नयाँ कलाकारका लागि नेपाली चलचित्र उद्योगमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण माध्यम बन्ने विश्वास लिइएको छ।

यसमा पारस, रिहान, आशिष, पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायत कलाकारको अभिनय छ।

यसको नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad