ad ad

कला


सुर्खेतमा कर्णाली सभ्यताकाे बहस, प्रदेशमन्त्री भन्छन्ः कर्णाली प्रज्ञा प्रतिष्ठान बनाउँछाैँ

सुर्खेतमा कर्णाली सभ्यताकाे बहस, प्रदेशमन्त्री भन्छन्ः कर्णाली प्रज्ञा प्रतिष्ठान बनाउँछाैँ

नेपालखबर
चैत ४, २०७६ मंगलबार ८:१५,

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको दुर्लभ सभ्यता संरक्षण गर्न प्रदेश सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको बताएका छन्।

रूपान्तरण नेपालले प्रदेश राजधानी सुर्खेतमा आयोजना गरेको ‘कर्णाली सभ्यता माथिको बहस तथा सम्मान’ कार्यक्रममा मन्त्री ज्वालाले कर्णालीको सभ्यता बचाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका हुन्।

कार्यक्रममा युमी नेपाल, जापानका संस्थापक शरद राई र नेपाल सरकारकाका उप–सचिव गगनबहादुर विश्वकर्मालाई कर्णाली प्रदेशका १५ हजार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरी प्रदेशको सार्वजनिक शिक्षालाई प्रोत्साहन गर्न पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको छ।

साथै नेपाली भाषा, साहित्य, संस्कृतिमा पु¥याएको योगदानको मूल्याङ्कन गरी डा. मधुसूदन गिरीलाई सम्मान तथा नव नियुक्त मध्यपश्चिम विश्वविद्यालयका उपकुलपती प्राध्यापक डा.नन्दबहादुर सिंहलाई बधाई ज्ञापन गरिएको छ। प्रमुख अतिथि प्रकाश ज्वालाले ताम्रपत्र र रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले दोसल्ला ओडाएर सम्मान गरे।

कार्यक्रमको दोस्रो चरणमा कर्णालीको भाषा र संस्कृतीबारे अवधारणा पत्र प्रस्तुत गर्दै भाषा तथा संस्कृतिविद् डा. मधुसुधन गिरीले कर्णाली सभ्यताको महानदी भएको बताए। डा. गिरीले थुप्रै जात, जाती र भाषा संस्कृतिको उत्पत्ति भएको कर्णाली नेपाली भाषाको समेत उद्गम स्थल भएकाले यहाँको सभ्यताको प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले ‘कर्णालीको ऐतिहासिक सिल्क रोड’को बारेमा आफ्नो भनाई राख्दै कर्णाली सभ्यताको बलियो इतिहास हो भन्ने प्रमाण अहिले पनि अस्तित्वमा रहेका मठ मन्दिर, नेपाली भाषाका पुराना शिलालेखहरूमा भेटिने बताए। १०औँ शताब्दीतिर अहिलेको भारत तथा चिनका विभिन्न राज्यहरूसँग खस राज्यले व्यापार गर्ने गरेको इतिहास स्मरण गर्दै शाहीले त्यतिखेरै समृद्ध भएको कर्णालीलाई सबै पक्ष सक्रिय रूपमा लागे फेरि पनि पहिलेको जस्तै समृद्ध बनाउन सकिने धारणा राखे।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले ‘कर्णालीको इतिहास तथा सभ्यता’ को विषयमा आफ्ना भनाई राख्दै इतिहासमा कुनै दिन नेपालकै छिनासिम पहिलो र दुल्लु दोस्रो विशाल सहरको रूपमा परिचित भएको बताए।

उनले भने, ‘१३९३ मा खस राज्यको अन्त्य भएर बाइसे र चौबिसे राज्यको सुरुवातसँगै कर्णालीको जुम्ला राज्य एकीकरण पछि कर्णालीको व्यापार सुक्दै पिछडिन पुग्यो।’

कुनै समय सिक्किम दार्जिलीलङका सिक्काहरू ल्याएर तिब्बतको सुन कर्णालीमा व्यापार हुने गरेको स्मरण गर्दे उनले कर्णाली नदी सभ्यताको मुहान हो भन्ने कुरा बिर्सन नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .