आज शुक्रबार सिनेमा हलहरुमा नेपाली फिल्म ‘तेल भिसा’ र ‘अग्रिदहन’ प्रदर्शनमा आएका छन्। ‘पूर्णबहादुरको सारंगी’ को दबदबाकाबीच यी दुई फिल्म आजबाट हलहरुमा लागेका हुन्।
विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ ले हलबाट राम्रो शो पाएको छ। यद्धपी, बलियो वर्ड अफ माउथ पब्लिसिटीले फिल्मको व्यापार निर्धारण गर्नेछ।
ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन्। यस फिल्मले बुहारी स्याहार्न विदेश गएको सासुले अमेरिका पुगेपछि भोग्नुपरेको कानुनी झमेलालाई समेटेको छ। यस फिल्मले डायस्पोराको ममस्पर्शी कथा प्रस्तुत गर्छ। फिल्ममा दोहोरो चरित्रमा देखिएका विपिन बुवा र छोराको भूमिकामा छन्।
विपिन र वर्षासहित फिल्ममा पूजा चन्द्र, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ।
अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मलाई नेपालसहित अमेरिकाको मेरिल्यान्डमा खिचिएको फिल्मको कथा शंकर घिमिरेले नै लेखेका हुन्।
तर, बोक्सी प्रथामा आधारित फिल्म ‘अग्निदहन’ ले भने मल्टिप्लेक्स हलहरुमा न्युन शो पाएको छ। बुधबार गरिएको प्रिमियर शोमा यस फिल्मलाई रुचाइएको थियो।
घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ। कोविदशरण उपाध्यायको परिकल्पना रहेको फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद रहेको छ।
नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ।
Shares

प्रतिक्रिया