भोलिबाट विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ प्रदर्शन हुँदैछ। केही दिनअघि यस फिल्मको अग्रिम बुकिङ खुलेको थियो।
‘तेल भिसा’ ले मल्टिप्लेक्स हलहरुबाट उत्साहजनक शो पाएको छ। यस फिल्मले देशकै ठूलो मल्टिप्लेक्स हल क्यूएफएक्सले देशभरिका हलबाट ४९ शो पाएको छ। जसमध्ये काठमाडौँ उपत्यकामा २५ र उपत्यकाबाहिर २४ शो पाएको हो।
त्यसैगरि, यस फिल्मलाई चावहिलस्थित एफक्युब सिनेमाजले ६ शो, आईएनआईले ९, वान सिनेमाजले ७ बिग मुभिजले ४, सीडीसी सिनेमाजले ४ शो उपलब्ध गराएको छ।
यतिखेर सिनेमा हलमा ‘पूर्णबहादुरको सारंगी’ सहित ‘ह्रस्व दीर्घ’ ले राम्रो व्यापार गरिरहेका छन्। जसकारण माउथ पब्लिसिटी बलियो आउँदा ‘तेल भिसा’ शो बढ्ने देखिन्छ।
शंकर घिमिरे निर्देशित यस फिल्मले बुहारी स्याहार्न विदेश गएको सासुले अमेरिका पुगेपछि भोग्नुपरेको कानुनी झमेलालाई समेटेको छ। यस फिल्मले डायस्पोराको ममस्पर्शी कथा प्रस्तुत गर्छ।
दोहोरो चरित्रमा देखिएका विपिन बुवा र छोराको भूमिकामा छन्। विपिन र वर्षासहित फिल्ममा पूजा चन्द्र, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ।
अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मलाई नेपालसहित अमेरिकाको मेरिल्यान्डमा खिचिएको फिल्मको कथा शंकर घिमिरेले नै लेखेका हुन्।
शुक्रबारदेखि प्रदर्शनमा आउने अर्को फिल्म ‘अग्निदहन’ ले भने मल्टिप्लेक्स हलहरुमा न्युन शो पाएको छ। बुधबार गरिएको प्रिमियर शोमा भने यस फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।
Shares

प्रतिक्रिया