वृत्तचित्रहरूको दक्षिण एसियाली मेला मानिने ‘फिल्म साउथ एसिया’ को चौधौँ संस्करण बिहीबारबाट सुरु हुँदैछ। ललितपुरको यलमाया केन्द्रमा चार दिनसम्म चल्ने महोत्सवमा ४७ वटा वृत्तचित्र र लघु चलचित्र प्रदर्शन हुनेछन्।
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिम रहेको महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका ९ देशका फिल्म सहभागी हुँदैछन्। जहाँ बेस्ट फिल्म, जुरी अवार्ड, बेस्ट स्टुडेन्ट फिल्म, बेस्ट डेब्यु फिल्म र बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने सहायक फेस्टिभल डाइरेक्टर पवस मानन्धरले जानकारी दिए। उनका अनुसार यो वर्ष बेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको हो।
बिहीबार बिहान ९ बजेबाट सुरु हुने महोत्सवमा निर्देशनसम्बन्धी कार्यशाला पनि हुनेछ। उक्त कार्यशालामा भारतका चर्चित निर्देशक कवीर खान प्रमुख अतिथि हुन्। बजरंगी भाइजान, चन्दु च्याम्पियन, एक था टाइगर जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका खान महोत्सवका मुख्य आकर्षण हुन्। कार्यशालाम उनले आफ्नो निर्देशकीय अनुभव सुनाउनेछन्।
निर्देशक खानले सन् १९९९ मा पहिलोपटक यस फेस्टिभलमा सहभागिता जनाएका थिए। त्यसबेला उनको डकुमेन्ट्री ‘द फरगटन आर्मी’ प्रदर्शन भएको थियो। त्यसपछि उनी फेस्टिभलका लागि दुईतीन पटक नेपाल आइसकेको समेत सहायक फेस्टिभल डाइरेक्टर मानन्धरले जानकारी दिए।
मानन्धरका अनुसार पहिलो दिन यलमायाका तीनवटा हलमा विद्धार्थीहरूले तयार पारेका ७ वटा लघु चलचित्रहरू देखाइनेछ। जसमा लभ लाइक आवर्स, अ फरगटन समर, हेलो गाइज, पोट्रेट अफ फुड, विसपर्स बाइ द रिभर शोर, रेमन्यान्ट (अवशेष) र पी फर पापाराजी सर्ट फिल्म रहेका छन्।

अपराह्न साढे ४ बजे ओपनिङ फिल्मको रूपमा भुटानी फिल्म ‘एजेन्ट अफ ह्यापिनेस’ देखाइनेछ। अरण भट्टराई र डोरात्या जुर्बो निर्देशित यस फिल्मले भुटानको ग्रस नेसनल ह्यापिनेसको सूचकांकबारे चित्रण गर्छ। फिल्मले दुई सरकारी अधिकारीलाई पछ्याउँछ।
त्यसैगरी, दोस्रो दिन शुक्रबार सुरुवातमै तीनवटा अलगअलग विधामा छलफल चल्नेछन्। दक्षिण एसियामा मानवीय कार्यको प्रसारसम्बन्धी छलफल हुनेछ।
त्यसपछि के हो त एन्थ्रोपोसन? भन्ने शीर्षकमा छलफल चल्नेछ। पत्रकार कनकमणि दीक्षित सहजकर्ता रहेको कार्यक्रममा दीपक ज्ञवाली, कुन्द दीक्षित र सञ्जिवनी योञ्जन वक्ता रहेका छन्। कार्यक्रममा जलवायु परिवर्तनदेखि मानिसले प्रकृतिमाथि गरेको हस्तक्षेत्रको विषयमा छलफल गरिनेछ।
अपराह्न ४ बजे चलचित्रसम्बन्धी छलफल कार्यक्रम रहेको छ। ‘नेपाली चलचित्रको अकाशिँदो बजार’ विषयमा निर्देशक दीपेन्द्र गौचनले छलफल चलाउने छन्। वक्ताहरूको भने टुंगो लाग्न सकेको छैन। सोही दिन साँझ साढे ६ बजे अन्तर्राष्ट्रिय फेस्टिभलमा चर्चा बटुलिसकेकी पत्रकार सुबिना श्रेष्ठ निर्देशित वृत्तचित्र ‘देवी’ को प्रिमियर हुँदैछ।
त्यसैगरी, शनिबार र आइतबार ब्रिटिस काउन्सिलले विमन अफ द वर्ल्ड फेस्टिभल गर्दैछ। साउथ एसियासँगको सहकार्यमा ब्रिटिस काउन्सिल र कथाहरूसँगले दुईवटा मास्टरक्लास गर्दैछ। हाउ टु: फाइन्डिङ फन्ड्स फर योर डकुमेन्ट्रिज र हाउ टु मेकिङ कट एडिटिङ मास्टरक्लास विथ श्वेता वेंकट चल्नेछ। श्वेताले ‘ग्याङ अफ वासेपुर’ जस्ता फिल्महरू सम्पादन गरिसकेकी छिन्।

महोत्सव अवधिभर दक्षिण एसियाली मुलुकका छोटा फिल्म र डकुमेन्ट्री प्रदर्शन हुनेछन्। महोत्सवको अन्तिम दिन गतवर्ष हलमै रिलिज भएको चर्चित डकुमेन्ट्री ढोरपाटन (नो विन्टर होलिडेज) पनि प्रदर्शन हुनेछ। त्यसैगरी, क्लोजिङ फिल्मको रूपमा सौनक सेनको ‘अल द्याट ब्रिद्स’ देखाइनेछ। अस्कर नोमिनेट यस फिल्मले दिल्लीको प्रदुषणलाई समेटेको छ। प्रदुषणले आकाशबाट चिलहरू खस्न थाल्छन्। र, ती चिलहरूलाई दुईजना दाजुभाइले घरमा लगेर उपचार गर्ने कथा फिल्मभित्र छ।
यसवर्षको महोत्सवमा आफूहरू विशेषगरी एन्थ्रोपोसनमा केन्द्रित भएको हिमाल साउथ एसियाका प्रमुख कनकमणि दीक्षितले बताए। उनका अनुसार एन्थ्रोपोसन विज्ञानमा प्रयोग हुने शब्द हो। जसले मानवीय क्रियाकलापबाट पृथ्वीको पर्यावरण परिवर्तन भएको युगलाई दर्साउँछ।
‘मुख्यतया हामीले आधुनिक युगमा आएर प्राकृतिक वातावरण यसरी बिगारेका छौँ, अब प्रकृतिले थेग्न नसक्ने भइसकेको छ। त्यो कुराको संकेत धेरै फिल्ममा पायौँ। त्यसैले महोत्सवलाई दर्शकहरूलाई सुसूचित मौकाको रूपमा एन्थ्रोपोसन शब्द प्रयोग गरेका हौँ। धेरैले यो शब्द सुनेका छैनन्। शब्द नभई त कसरी व्यथा बुझिन्छ। एन्थ्रोपोसन भनेको व्यथा हो। जलवायु परिवर्तनलगायतका अहिले जति पनि प्राकृतिक परिवर्तन भइरहेका हुन्छन्। त्यो सबै बुझाउने शब्द एन्थ्रोपोसन हो। जसलाई हामीले आँट गरेका हौँ,’ उनले भने।
महोत्सवका सहभागी धेरै फिल्महरू प्रकृति र मानवबीचको द्वन्द्ध र सहकार्यमा केन्द्रित छ। डकुमेन्ट्री पत्रकारिताको सबैभन्दा नजिकको विधा रहेको दीक्षित सुनाउँछन्।
‘पत्रकारले जुन किसिमको गहिरो र खोजमूलक पत्रकारिता गर्न खोज्छन्। त्यसको सबैभन्दा नजिकको विधा हो डकुमेन्ट्री मेकिङ। मानिसहरूको व्यवहार बदल्नलाई सिनेमाभन्दा डकुमेन्ट्री अझ बढी प्रभावकारी हुन्छ। डकुमेन्ट्री ननफिक्सन विधा हो, जहाँ वास्तविकतालाई कलात्मक हिसाबले प्रस्तुत गरिन्छ। मानिसहरूलाई समाजका चिन्ता गर्नुपर्ने विषयहरूलाई सबैभन्दा राम्ररी प्रस्तुत गर्ने तरिका फिल्मभन्दा डकुमेन्ट्री नै हो,’ उनले भने।

दीक्षितका अनुसार तीन दशकअघि नेपालसहित साउथ एसियामा डकुमेन्ट्रीको माहोल खासै थिएन। त्योबेला डकुमेन्ट्री फिल्ममेकर भौँतारिरहेका थिए। धेरै मेहनत तर थोरै दर्शक। जसकारण डकुमेन्ट्री बनाउन साह्रै दु:ख थियो। ती मेकरहरूको समर्पणबाट प्रभावित भएर फेस्टिभलको आयोजना गरिएको उनको भनाइ छ। सन् १९९७ देखि दीक्षितको पहलमा महोत्सव सुरु गरिएको हो।
भन्छन्, ‘अर्को कुरा उहाँहरूले जे कुरा प्रस्तुत गर्नुहुन्छ। त्यो समाजलाई चाहिने मात्र हुन्छ। तर, डकुमेन्ट्री फिल्म बनाउँदा रिस्क छ। के फुटेज जम्मा हुन्छ, थाहा हुँदैन। बनाउन गाह्रो र पैसा पनि नकमाउने। तर, उहाँहरूको आँट र लगनले धान्छ। त्यसैले पनि यो महत्त्वपूर्ण कुरा भनेर लागेका थियौँ।’
काठमाडौँका दर्शकहरूको साथका कारण यो महोत्सव अहिलेसम्म गर्न सम्भव भएको उनको भनाइ छ। जसले दीक्षितलाई महोत्सव गर्न थप उत्साह दिन्छ। २७ वर्षदेखि महोत्सव गरिरहेका उनी डकुमेन्ट्रीमा दर्शकको लगाव बढिरहेको सुनाउँछन्।
‘डकुमेन्ट्रीमा दर्शकको लगाव बढ्दो छ। दक्षिण एसियाका देशहरूमा यस्तो पाइँदैन। विषय, दक्षिण एसियाभरिका फिल्ममेकर र काठमाडौँका अडियन्सले नै २७ वर्षदेखि यो महोत्सव हुँदै आएको छ,’ दिक्षितले भने, ‘यो दक्षिण एसियाका फिल्ममेकर भेला हुने ठाउँ हो। उहाँहरू यहाँ आउनु भनेको दक्षिण एसियाको केन्द्रबिन्दु नेपाल हो भन्ने हो। जसले एकअर्का देशहरूका संस्कृति आदानप्रदान हुन्छन्।’
पुरस्कृत डकुमेन्ट्रीलाई ‘ट्राभलिङ फिल्म साउथ एसिया’ को नामबाट दक्षिण एसिया र विश्वका विभिन्न सहरमा पनि प्रदर्शन गरिने बताइएको छ।
Shares

प्रतिक्रिया