आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन्।
गत तीजको बेला थापाद्वारा अभिनित गीत ‘झुम्का हरायो...’ को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो। त्योबेला थापाले भनेका थिए, ‘अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछु।’
थापाको उक्त अभिव्यक्तिलाई तीजका अवसरमा अष्ट्रेलियामा भएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा पनि दोहोर्याएका थिए।
भिन्न गायन शैलीका कारण आफू चर्चित हुँदाहुँदै पनि कतिपय गीत विवादमा परिरहेको पृष्ठभूमिमा उनले गरेको आत्मसमीक्षाले थापाको कलाकारितालाई के नयाँ मोड दिनसक्छ? यो प्रश्नमा ३७ वर्षीय थापाले भने, ‘उमेर, अनुभव, सङ्गत आदिले आफू नयाँ चरणमा आइपुगेको अनुभूति भएको छ। सुरुआत र सङ्घर्षकालमा भन्दा अझ परिमार्जित र परिपक्क ढङ्गले दर्शक/स्रोतमाझ आउन खोजिरहेको छु।’
आठार वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरु गुजारेका थापा सङ्घर्षको भट्टीबाट खारिएर आउनुभएका प्रतिभा हुन्। युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन्। २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उनीसँग केबल एउटा सपना थियो, मोडल बन्ने । समयक्रममा थापा अभिनय हुँदै गायनतिर डोहोरिए।
गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटकट राजधानी छिर्नुभएका उहाँको अपरिचित सहरमा सङ्घर्ष सुरु भयो।
‘अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ गएको हुँ, कलाकारितामा मलाई तातेताते गराउनुभएको उहाँले नै हो’, थापाले भने, “एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रुपमा म उहाँलाई आदर गर्छु।’
बुबा भारतीय सेनाबाट निवृत्त भएकाले परिवारको पनि चाहना भर्ती होस् अथवा कतै जागिर गरोस् भन्ने थियो। थापाले त्यसका लागि प्रयास गरेका पनि हुन्।
विद्यालय तहको पढाइ सकेर उनी भारतीय सेनामा भर्ती हुने सोचले बनारस पुगे। त्योबेला माइलाबुबा पनि भारतीय सेनामा कार्यरत रहेकाले भर्ती हुन सजिलो हुने ठानेर उनी केही वर्ष बनारसमै बसे।
केही समयपछि लाहूरेको सपना त्यागेर घर फर्किए। घरमा आएपछि अरु कुरा नसोची उनी काठमाडौँ हानिए। गलकोट, मल्ममै जन्मिएका थापाले गायक विष्णु खत्री, बसन्त थापालगायतबाट सानैदेखि प्रभावित भएर काठमाडौँमा भूइँदेखि सङ्घर्ष सुरु गरे। कहिले चलचित्रमा कोरस नाचे त कहिले डान्सबारमा। नृत्य र अभिनय प्रशिक्षणका अलवा उनी विस्तारै अनुभवले पनि खारिँदै जान थाले।
विसं २०६५ मा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए। ‘गाउँको असली दुर्गे त्यो भिडियोमा देख्न सकिन्छ, उहिलेको त्यो दुर्गे अहिले दुर्गेश भइसक्यो’, ठट्यौली शैलीमा उनले भने।
गाउँमा छँदा बालापनका साथीले दुर्गे भनेर बोलाउने गरेको उनी बताउँछन्। नृत्य र अभिनयबाट अघि बढ्नुभएका थापाले पछि गायनमा पनि हात हाले। पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो...’ गाए।
त्यसअघि उनले ‘आफू हाँसे संसार हसाउँछ...’, ‘नघाम लाउनी, न पानी पर्नी...’लगायत गीतमा शब्द र सङ्गीत भरिससेका थिए। त्योबेला आफूले सिर्जना गरेका केही गीत गाउन चाहँदा पनि स्वर चल्दैन भनेर गाउन नपाएको गुनासो उनको छ।
अभिनय र गायनलाई सँगसँगै डोहोर्याएका थापाले हालसम्म ४५ गीतमा स्वर दिएका छन् भने १५ सयबढी म्यूजिक भिडियोमा अभिनय गरेका छन्। उनी म्युजिक भिडियोमा अहिले पनि चल्तीको मोडल हुन्। रामचन्द्र काफ्लेको स्वरमा रहेको ‘माया लाएर के भो...’ गीतको म्यूजिक भिडियोबाट थापा मोडलका रुपमा बढी चिनिन थालेका हुन्।
थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनयगरेका छन्। ‘डाँडै बिसौनी...’, ‘जूनले मात्र देख्छ’, ‘हाँस्न सिकायौ’लगायत उनप्द्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन्। पछिल्लो समय थापाले नायिका प्रियङ्का कार्की र गरिमा शर्मासँग मिलेर तीज गीत ‘झुम्का हरायो’मा नृत्य तथा अभिनय गरेका थिए।
‘सङ्गीत क्षेत्रमा यति छिट्टै स्थापित हुन्छु जस्तो लागेको थिएन, तर सङ्घर्ष गर्दै जाँदा सम्भव हुँदो रहेछ’, गायक थापाले भने, ‘यसको श्रेय म मेरो अभिभावक र दर्शक÷श्रोतालाई दिन चाहान्छु।’
काठमाडौँ जस्तो सपनाको सहरमा उनलाई अनेक अवरोध पनि नआएका होइनन् । तर उनले बाधाहरु सजिलै छेके, रोके र पहिलाएए। सुरुआतिकालमा रेष्टुराँ र बारमा नृत्यकारको रुपमा काम गरेका थापा अहिले अभिनय र सङ्गीतमा सिद्धहस्त बनेका छन्।
काठमाडौँको ठमेल र दरबारमार्गका डान्सबारमा नाचेका ती दिनको सम्झनाले अझ यो क्षेत्रमा राम्रो गर्न प्रेरित गर्ने उनले बताए। डान्सबारमा काम गर्दागर्दै अभिनयमा छिर्ने र चलचित्रमा काम गर्ने सोख पलाएपछि आफूले नियमित नृत्य र अभिनय प्रशिक्षण लिन थालेको थापाको भनाई छ।
‘मेरो अभिनयको यात्रामा ‘जुनले मात्र देख्छ...’ बोलको गीतले राम्रो मोड दिएको हो, उक्त गीतबाट धेरै दर्शकको माया र सद्भाव पाउन सकेँ’, उनले भने, “त्यसपछि ममा झन् अभिनयमै प्रतिबद्ध भएर लाग्ने सोंच आयो, मलाई आफूभित्रको म भेटाए झैँ लाग्यो।’
गायनमा पनि उजको भिन्न पहिचान छ। पाँच वर्षअघि थापाले गाएको तीज गीत ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा...’ त्योबेला चर्चित बनेको थियो। जुन गीतको म्यूजिक भिडियोलाई हालसम्म झण्डै दुई करोड पटक हेरिएको/सुनिएको छ।
उक्त गीतलाई सातौँ संस्करणसम्म निरन्तरता दिएका थापाले यसै वर्षदेखि उक्त गीतको सिलसिलालाई अन्त्य गर्ने घोषणा गरेका थिए। थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन्।
पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै’मा प्रोमोशनल गीत गाएका थापाले आगामी कात्तिकमा प्रदर्शन हुने चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएका ‘उठेर नाचिस्यो...’ गीत अहिले युट्युबमा चर्चित छ। सदीक्षा कट्टेलसँगको युगल गायन रहेको उक्त गीतमा शब्द र सङ्गीत पनि थापाकै रहेको छ।
प्रदर्शनका क्रममा रहेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन्। उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन्।
गायकभन्दा बढी स्टेज परर्फमरका रुपमा आफूलाई चिनाउन चाहाने थापाले गीत गायकै आधारमा प्रतिबन्धसमेत झेलेका छन्। केही वर्षअघिको तीज गीतमा प्रयोग भएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले उनलाई कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
तिहारका बेला थापाले सार्वजनिक गरेको ‘हेप्पी तिहार...’ बोलको गीत पनि आलोचित भएपछि विवादित अंश सम्पादन गरेर पुनः युट्युबमा अपलोड गर्नुपरको थियो। ‘निश्चित उमेर समूहलाई लक्षित गरेर गाउँदा कतिपय गीत समाजलाई पाच्य नहुँदो रहेछ, स्रोता/दर्शकको आलोचना र सुझावले मलाई नयाँ ढङ्गले अघि बढ्न प्रेरणा दिएको छ’, उनले भने।
चलचित्र ‘द ब्रोकन हर्ट’मा अभिनय गरेका थापाले चलचित्र अभिनयको क्षेत्रलाई भने सोचेजसरी अगाडि बढाउन सकेका छैनन्।
अभिनय सँगसँगै गायनमा लागेपछि उनले साङ्गीतिक यात्राका क्रममा देशदेशावर घुम्ने अवसर पाएका छन् अष्ट्रेलियादेखि जापान र हङ्कङदेखि इराकसम्मका सहरमा थापाले आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेका छन्।
देशभित्रका मेला/महोत्सवमा पनि उनलाई भ्याइनभ्याइ हुने गरेको छ। उनलाई युट्युबबाट पनि राम्रो कमाइ हुन्छ। ‘दुर्गेश थापा’ नामको युट्युबमा सस्क्राइबरको सङ्ख्या दस लाखबढी पुगेको छ। ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’, ‘ज्योति अवार्ड’लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट थापा सम्मानित भएका छन्। रासस
Shares

प्रतिक्रिया