ad ad

कला


तीज नजिकिएपछि विदेशका कार्यक्रममा पुग्न कलाकारलाई चटारो

तीज नजिकिएपछि विदेशका कार्यक्रममा पुग्न कलाकारलाई चटारो

लक्ष्मी बलायर
भदौ २, २०८१ आइतबार १०:५६, काठमाडौँ

हरितालिका तीजको उमंगले छोइसकेको छ। युट्युबमा सयौं तीजलक्षित गीतहरु सार्वजनिक भइसकेका छन्। तीजलक्षित सांगीतिक कार्यक्रमहरु समेत आयोजना हुन थालेका छन्। सांगीतिक कार्यक्रममा पुग्न गायक-गायिकाहरुको व्यस्तता बढेको छ।

यस वर्ष युट्युबमा आएका तीज गीतले खासै चर्चा पाउन सकेका छैनन्। तीजका नयाँ गीतको भ्युज पनि कम छ। तीजका नयाँ गीतले माहोल बनाउन नसके पनि देशविदेशमा हुने कार्यक्रममा पुग्न भने कलाकारलाई चटारो छ।

विदेशमा रहेका नेपालीहरुले पनि धुमधाम साथ तीज मनाउने गर्छन्। त्यहाँका नेपाली समुदायले तीज आउन एक महिनाअगावै तीजविशेष कार्यक्रम आयोजना गर्दै आएका छन्। आर्थिक हिसाबले पनि फाइदा हुने भएकाले विदेशबाट आएका निम्ता हत्पत्ति छाड्दैनन्। भ्याएसम्मका कार्यक्रममा पुग्ने उनीहरुको लक्ष्य हुन्छ।

यस वर्ष पनि केही कलाकार तीजविशेष कार्यक्रमको लागि विदेश पुगिसक्दा केही भने जाने तरखरमा छन्।

अहिलेकी सर्वाधिक चर्चित गायिका शान्तिश्री परियार एक साताअघि नै अमेरिका पुगिसकेकी छिन्।

‘अब नाच्छ अमेरिका’ शीर्षकमा आयोजना भएको कार्यक्रम सुरू भइसकेको छ। अगस्ट १० मा बोस्टन सहरबाट सुरु भएको कार्यक्रममा शान्तिसहित गायिकाद्वय रचना रिमाल र ज्योति मगरले सांगीतिक प्रस्तुति दिएका थिए। साथै मोडल करिष्मा ढकालले पनि दर्शकलाई छमछमी नचाइन्।

फ्लाइ नेपाले आयोजना गरेको कार्यक्रम अमेरिकाका ८ राज्यमा हुँदै छ। आयोजकका अनुसार गायिका तथा मोडलको टोलीले बोस्टनसहित न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम गर्नेछ।

यसपालीको तीजमा यी चारजना कलाकारले तीज पनि विदेशमै मनाउनेछन्। झण्डै दुई महिनाका लागि महिनाको तय भएको यो कार्यक्रम असोज १३ गतेसम्म चल्नेछ। अमेरिकाका कुल २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको छ।

त्यसैगरी, तीज विशेष कार्यक्रममा अत्याधिक खोजिने गायक हुन् पशुपति शर्मा। शर्मा पनि तीज विशेष सांगीतिक टुरको लागि अस्ट्रेलिया पुगिसकेका छन्। उनको साथमा गायिका देवी घर्ती मगर, शोभा त्रिपाठी र मोडल रूविना अधिकारी पनि गए। यस कार्यक्रममा गायिका कोमल वलीको पनि प्रस्तुति हुनेछ। उनी केही समयदेखि नै अस्ट्रेलियामा छिन्।

दिदीबहिनी इभेन्टको आयोजनामा अस्ट्रेलियाका विभिन्न सहरमा हुने ‘तीज साँझ’ मा सबैले प्रस्तुति दिनेछन्। शनिबार साँझ भएको कार्यक्रममा पशुपतिसहित घर्ती र अधिकारीको प्रस्तुति रहेको थियो। सबै कलाकारलाई दर्शकहरुलाई मनोरञ्जन दिए। पशुपति शर्माले अस्ट्रेलियाको कार्यक्रममा आफू एक महिना व्यस्त हुने बताए।

‘योपटक तीजमा विदेशतिरै व्यस्त हुनेछु। अस्ट्रेलियामा विभिन्न १५ वटा सहरका लागि तीजविशेष सांगीतिक कार्यक्रम तय भइसकेको छ। भदौ १६ गते अस्ट्रेलियाको कार्यक्रम सकेपछि न्युजिल्यान्ड जाने योजना छ,’ उनले भने।

तीज विशेष कार्यक्रमकै लागि गायक खुमन अधिकारी पनि शुक्रबार दुबई पुगिसकेका छन्। आइतबार उनी वालिङ समाज स्याङ्जा, युएईको तीज धमाका कार्यक्रममा गुञ्जिनेछन्।

‘दुबईको कार्यक्रमपछि अस्ट्रेलियाको कार्यक्रम तय गरिसकेको अधिकारीले जानकारी दिए। २१ अगस्टसम्म अस्ट्रेलिया पुग्नेछु। भदौ २२ गतेसम्म अस्ट्रेलियाका १२ सहरमा हुने तीज कार्यक्रममा नै व्यस्त हुनेछु।’

त्यसैगरी, गायिका समीक्षा अधिकारी पनि जापानमा हुने कार्यक्रममा जाने तयारीमा छिन्। उनीसँगै गायक रामजी खाँडको पनि जापानमा प्रस्तुति हुनेछ।

प्रीति आलेसहित कुलेन्द्र विश्वकर्मा, प्रकाश दुतराज, मोडल तथा डान्सर नारायणी खत्री लगायतका कलाकारहरु युएई गइसकेका छन्। युएईको याक एन्ड यती एभरेस्ट क्लबमा हुने तीज धमाकामा यी कलाकारहरुको प्रस्तुति छ।

त्यसपछि गायिका आले अस्ट्रेलियाको कार्यक्रममा जानेछिन्। त्यहाका विभिन्न सहरमा अगस्ट २३ देखि १ सेप्टेम्बरसम्म हुने तिज धमाका कार्यक्रममा उनी प्रस्तुत हुनेछिन्। तर, तीजको दिन भने साउदी अरब हुने आलेले बताइन्।

गायिका सुनिता दुलाल पनि तीजविशेष कार्यक्रमको लागि युरोप पुगिसकेकी छिन्। उनी आइतबार पोर्चुगलमा आयोजना हुने तीजविशेष म्युजिकल नाइटमा प्रस्तुति दिनेछिन्। त्यसपछि अस्ट्रेलिया र नेपालका विभिन्न जिल्लामा कार्यक्रम तय भइसकेको उनले फेसबुकमार्फत जानकारी दिएकी छिन्।

गायिका मेलिना राई यस वर्षको तीजको अवसरमा जापानर भारतका सहरहरुमा जानेछिन्। ३१ अगस्टमा जापानको तीज कन्सर्टमा गुञ्जिएपछि उनले ६ सेप्टेम्बर दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा हुने तीज कार्यक्रममा प्रस्तुति दिनेछन्।

खेम सेन्चुरी लगायतका थुप्रै गायक–गायिकाले पनि विदेश तथा स्वदेशका तीज विशेष कार्यक्रम तय गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .