ad ad

कला


शान्ति श्री, रचना, ज्योति र करिष्माले दिए अमेरिकाको बोस्टनमा सांगीतिक प्रस्तुति

शान्ति श्री, रचना, ज्योति र करिष्माले दिए अमेरिकाको बोस्टनमा सांगीतिक प्रस्तुति

नेपालखबर
साउन २७, २०८१ आइतबार १५:३३, काठमाडौँ

गायिका शान्तिश्री परियारदेखि ज्योती मगर, रचना रिमालले अमेरिकाको बोस्टनमा सा‌गीतिक प्रस्तुति दिएका छन्।

अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा गायिकाहरुसहित मोडल करिष्मा ढकालले दर्शक नचाए। 

‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित कार्यक्रमको आयोजना गरेको हो।

तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो। 

मञ्चमा देखा परेका करिष्मा, रचना, शान्ति श्री र ज्योति मगरले बोस्टनका ५ सय बढी दर्शकलाई तीन घन्टा भरपुर मनोरञ्जन दिए। प्रस्तुतिको सुरुवात करिष्माले ‘हिजो राति सपनीमा’ बोलको नृत्यबाट गरेकी थिइन्। 

करिष्माले तताएको माहोललाई थप जोशिलो बनाउँदै गायिका रचना रिमालले आफ्ना हिट नम्बरहरु प्रस्तुत गरेकी थिइन्।

उनले परदेशीलाई भावुक बनाउने ‘नमुछे आमा दहीमा टीका’बाट गाउन सुरु गरे पनि प्रस्तुतिको अन्त्यतिर ‘सम्झिने पानी छम्किने’ ‘मिनरल वाटर’ आदि गाएकी थिइन्।

रचना रिमालपछि शान्ति श्री परियारले ‘गलबन्दी च्यातियो’,‘अरेली काँडैले’ ‘लाहुर जाने रेलैमा’ लगायतका दर्जन हाराहारी चर्चित गीत प्रस्तुत गरेकी थिइन्। तर ‘बोल माया’ ‘लौन दाजै’ गीतबाट आफ्नो गायकी सुरु गरेकी उनले दर्शकलाई सुरुमै भावुक बनाएकी थिइन्।

कार्यक्रमको बिट मार्ने गरी मञ्चमा आएकी ज्योति मगरले पनि आफ्नो पहिचान अनुरुप दर्शकलाई गीत र नृत्यको धुनमा डुबाएकी थिइन्। उनले पनि आफ्ना चर्चित गीत ‘ढाडे बिरालो’ ‘उही मुलाको सिन्की’ गाइन्। 

आयोजक विनोद अधिकारीले परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताउँदै पहिलो कार्यक्रम अन्त्यन्त सफल रहेको प्रतिक्रिया दिए। 

‘देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा ‘अब नाच्छ अमेरिका’ सफलतापछि हामीले ‘अब नाच्छ अमेरिका’ को तयारी गरेका थियौँ। जसको सुरुवात बोस्टनबाट भव्यताका साथ सुरु भएको छ,’आयोजक विनोदले भने, ‘यो चाडबाडको समयमा दर्शकको तीन घन्टाको अमूल्य समय सार्थक पारौँ भन्ने हाम्रो प्रयास हो जुन पहिलो कार्यक्रमले नै पूरा गरेको छ।’

उनका अनुसार गायिका तथा मोडलको टोलीले न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया आदी ठाउँमा कार्यक्रम गर्नेछ।

अमेरिकाका कुल २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको उनले जानकारी दिएका छन्। करिब २ महिना चल्ने कार्यक्रम सकेर टोली सेप्टेम्बर ३० मा नेपाल फर्कनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .