ad ad

कला


नेपाली सिनेमामा ‘कल्ट कल्चर’ भित्र्याउने ‘बाटो’!

नेपाली सिनेमामा ‘कल्ट कल्चर’ भित्र्याउने ‘बाटो’!

श्रीजु सरल
असार २, २०८१ आइतबार १८:९, काठमाडौँ

पछिल्लो समय नेपाली सिनेमामा नयाँ-नयाँ प्रयोग भइरहेका पाइन्छन्। केही महिनाअघि सौरभ चौधरी निर्देशित 'अगस्त्य'ले दक्षिण भारतीय शैलीको एक्सन थ्रिलर नेपाली सिनेमामा भित्र्यायो। केही हप्ताअघि सुयोग गुरुङले 'फर्की फर्की' मार्फत् नेपाली सिनेमामा 'साइ-फाइ'को सफ्ट भर्सन भित्र्याए। यतिबेला भने निर्देशक मदन थापाले नेपाली सिनेमामा 'बाटो'मार्फत 'कल्ट कल्चर' भित्र्याएका छ्न्। थापाकै लेखनसमेत रहेको यो प्रयोगात्मक सिनेमा 'बाटो' शुक्रबारबाट क्यूएफएक्स लगायत देशभरका हलहरूमा प्रदर्शनरत छ।

आउनुस्, मिस्ट्री-थ्रिलर जनरामा बनेको यो फिल्मको रहस्य खोतलौँ। 'बाटो'को उत्खनन गरौँ।

कथा
आ-आफ्ना कथा-व्यथा बोकेर तीन युवा काठमाडौँबाट धरान जाँदैछन्। कोमल प्रत्यारोपणका लागि जिउँदो मुटु एम्बुलेन्समा बोकेर धरान जाँदैछ। मञ्जिल आफ्नी बिरामी आमालाई भेट्ने हतारमा ट्याक्सी चढेर धरान जाँदैछ। ट्याक्सी ड्राइभर टोनी पनि डरलाग्दो शर्टकट बाटोबाट यात्रुप्रतिको जिम्मेवारी बोकेर धरान जाँदैछ। तर, गन्तव्य नपुग्दै धरानमा उनीहरूलाई अरू कसैले पर्खिएर बसेका छन्। एउटा रहस्यमयी प्राणीहरूको गिरोह उनीहरूको प्रतीक्षामा छन्।

यी तीनजना र त्यस अजीव गिरोहको भेट भएपछि के हुन्छ? के कोमलले समयमै मुटु अस्पताल पुर्‍याउन सक्ली त? के जीवन र मरणसँग लडिरहेकी आमालाई मञ्जिलले भेट्न पाउला त? अनि, उता हरि पनि त छ। के उसले आफ्नो बदला लिएर छाड्ला त? उसलाई कोसँग र किन बदला लिनु छ?

फिल्मको कथा यिनै प्रश्नहरूको जवाफ दिँदै अघि बढ्छ।

पटकथा
कथा सालको पात हो भने पटकथा दुना वा टपरी हो।

कथाभित्र पात्र, तिनको हुलिया, हाउभाउ र तिनले बोल्ने संवाद र तिनीहरू देखिने सेटका दृश्यहरूले बान्की दिएर पटकथा बुन्ने गरिन्छ। यी पक्षहरूमा फिल्म अब्बल देखिन्छ। तर, दुना, टपरी बुन्न जसरी सिन्का चाहिन्छ कथाको पटकथा बुन्न पनि त्यस्तै सिन्काको आवश्यकता पर्छ। अर्थात्, पातहरू खप्टिएर मात्रै पुग्दैन, तिनलाई, बान्की दिएर मात्र पनि पुग्दैन। दिइएको बान्कीमा त्यो रहन सम्भव त्यतिबेला हुन्छ जतिबेला एउटा पातलाई छेडेको सिन्काले कुनै अर्को पातलाई पनि छेडेर समाउनेछ। पातहरूका आँतभित्र त्यो सुइरोले छेड्न सक्नुपर्छ। तब, कथाले बलियो पटकथाको आकार लिनसक्छ।

पातको आँत छेड्ने सुइरो भनेको के हो त? त्यो भनेको पात्रहरूको मनोविज्ञान छाम्ने काम। र, यो थ्रिलर सिनेमाका लागि अझै बढी विशेष हुन्छ। चाहे त्यो अनुराग कश्यपको रमन राघव होस्, चाहे मार्टिन स्कर्सिजीको ट्याक्सी ड्राइभर या फेरि अल्फ्रेड हिचककको भर्टिगो! यी सबैमा पात्रको मनोविज्ञान यसरी छामिएको छ कि दर्शकहरू ती पात्रको मानौँ ढुकढुकी सुन्न सक्छन्। तिनले लिएको आनन्द, तिनले भोगेको पीडा, तिनले महसुस गरेको त्रासदीसँग दर्शक एकाकार भइदिन्छन्। र पनि, अगाडि के हुनेवाला छ? दर्शकमा यो कुतूहल मर्नुको साटो दुई गुणा बढिदिन्छ।

'बाटो' मा पातको आँत छाम्ने त्यही सुइरोको अभाव छ। सबै पात्रहरूसँग एउटा अलग र आकर्षक व्यक्तित्व छ। तर, तिनको मनोविज्ञान स्पष्ट नहुँदा दर्शकहरूको कुतूहलको ग्राफ बढ्नुको साटो घट्दै जान्छ। हुलिया र संवादले मात्रै दर्शकलाई कति परसम्म तानिरहन सक्ला र?

यद्यपि, जुन किसिमका रोचक, दुर्लभ र चाखलाग्दा पात्रहरूको परिकल्पना गरिएको छ, तिनलाई सतहभन्दा मुनि पुगेर निर्माण गरिन्थ्यो भने ती पात्र नेपाली सिनेदर्शकको हृदयबाट यसैउसै ओझेल पर्ने थिएनन्। र पटकथामा पनि त्यसले एउटा गहिराइ थप्ने थियो।

तर, नआत्तिनुस्। पटकथामा डगमगाए पनि फिल्मले कथावाचनबाट आफूलाई बलियो तुल्याएको छ।

कथावाचन
फिल्मको कथा पत्र-पत्रमा भनिएको छ। यो किसिमको मल्टी-लेयर्ड स्टोरीटेलिङले फिल्मलाई जनरामा फिट गराउन सहयोग गरेको छ। कुनै पनि पात्रभित्र गहिरिएर ल्याउन नसकेको 'गहिराइ' फिल्मले अनेक पात्रहरूको वरिपरि घुमेर सिर्जना गर्ने कोसिस गरेको छ।

उता सुहाना, हरि अनि मालाको वियोगी कथा। यता टोनी र मञ्जिलको तनाव। त्यहीँनेर कोमलको छटपटी। कतै फेरि आमाको मार्मिक पर्खाइ। फेरि उता अर्काथरी रहस्यमयी प्राणीहरूको सामूहिक आतंक! पात्रहरूमा देखिने यी विविधताले कथामा एउटा जटिलताको सिर्जना गरिदिएको छ। जसले दर्शकको मनभित्र कथामा 'गहिराइ छ है' भन्ने छाप छोडिदिन्छ। साथै, यसले दर्शकलाई ती फरकफरक दुनियाँका अलगअलग पात्रहरूबीचको अन्तरसम्बन्ध खोतल्न पनि हौस्याउनेछ। भन्न सकिन्छ, त्यसरी (पटकथामार्फत्) बाँधिन नसकेका दर्शकलाई फिल्मले यसरी (कथावाचनमार्फत्) बाँधेको छ।

प्रविधि
दर्शकलाई बाँधेर राख्न फिल्मले प्रयोग गरेको अर्को मोहिनी धागो हो- सिनेम्याटोग्राफी! विशेषगरी, पहिलो हाफमा एरियल सट्स र ट्रयाकिङ सट्सले दर्शकलाई व्यस्त राख्न फिल्मले कुनै कसर छोडेको छैन। फिल्म हेर्ने अधिकांश दर्शकले सिनेम्याटोग्राफर शरन ऋषिबारे पक्कै चासो गर्नेछन्।

क्यामरापछि रङले पनि दर्शकलाई फिल्मको थिमबाट भड्किन दिनेछैन। सुरुवातमा प्रयोग गरिएका फिका र उज्याला रङहरू कथा जति अघि बढ्दै जान्छ उति गाढा र अँध्यारा हुँदै जान्छन्। यसले पात्रको मनोदशासँग दर्शकलाई एकाकार हुन सहयोग गरेको छ।

यस्तै, फिल्मको ध्वनिमा पनि दृश्य सुहाउँदो काम भएको छ। फिल्मका यस्ता विविध प्राविधिक पक्षमा भएको मेहनतले दर्शकलाई बाँधेर राख्नेछन्।

अभिनय
नेपाली सिनेपर्दामा नयाँ अनुहारलाई लिएर नयाँ काम हुनु एउटा दुर्लभ र साहसिक कदम हो। फिल्मले लिएको एउटा स्थापित अनुहार हो- मिथिला शर्मा। आमाको भूमिकामा शर्माको अभिनय सदाबहार लाग्छ।

यस्तै, मुख्य पात्र मञ्जिलको भूमिकामा उत्पल झाले प्रशंसनीय काम गरेका छन्। डायलग डेलिभरी, फेसियल एक्स्प्रेसन र फिजिकल मुभमेन्ट तीनै पक्षमा उनको अभिनय कौशल अब्बल लाग्छ।

ट्याक्सी ड्राइभर टोनीको भूमिकामा सुलक्षण भारतीको काम उदाहरणीय लाग्छ। भलै, स्कर्सिजीको फिल्ममा जस्तो पहेंलो ट्याक्सी नेपाली सडकमा नभेटिएला तर, भारतीले टोनीको चरित्रलाई यसरी न्याय गरेका छन्, लागिदिन्छ- टोनी हाम्रै टोल-छिमेक वा गल्लीमा भेटिने एउटा जानपहिचानको युवा हो।

कोमलको भूमिकामा रक्षा थापाको अभिनय सन्तोषजनक नै लाग्छ। पशुपति राई र आशान्त शर्माले पनि माला र हरिको चरित्रलाई सन्तोषजनक रूपमा निर्वाह गरेका छन्।

यस्तै, विजय ताम्राकार, आभास अधिकारी, राजेन थापा र गणेश उपाध्यायले पनि अजीव पात्रहरूलाई यथासक्दो विश्वसनीय बनाउन गरेको मेहनत प्रशंसायोग्य लाग्छ। उनीहरूले लवज, अनुहारको भावभंगी र शारीरिक हाउभाउमा गरेको मेहनतलाई दर्शकहरूले पक्कै रुचाउनेछन्।

कल्ट कल्चर
यतिबेला विश्वव्यापी रूपमा कल्ट सिनेमाको विस्तार भइरहेको छ। त्यसो त, नेपालमा पनि कल्ट पात्रको जन्म आजभन्दा बाह्र वर्षअघि निर्देशक निश्चल बस्नेतको 'लुट' मार्फत् भइसकेको छ। खैर, पहिला त 'कल्ट' भनेको के हो? यसैबारे कुरा गरौँ।

कल्ट अर्थात् पन्थ! हामीले वामपन्थी वा दक्षिणपन्थी त पक्कै सुन्दै आएका हौँ। कुनै विशेष दर्शन, मत, धर्म वा सम्प्रदाय वा बाटोलाई पन्थ भनिन्छ। र त्यो विशेष दर्शन, मत, धर्म वा बाटो पछ्याउनेलाई पन्थी।

लुटमा त्यस किसिमको एउटा विशेष पात्र थियो- हाकु काले। जसको धर्म थियो- धनी हुनु। भगवान थियो- पैसा। जसको दर्शन थियो- हात थापेर यहाँ केही पाइँदैन, धुत्न जान्नुपर्छ! र उसको मत थियो- बल होइन, दिमाग लगाउनुपर्छ!

भलै यो फिल्म बस्नेतले कल्ट सिनेमा बनाउँछु भनेर बनाएका होइनन् न त यो पात्रलाई नै कल्ट पात्र बनाउने उनको योजना थियो। तर, नेपाली सिनेबजारमा यस पात्रको मत र दर्शनसँग सहमति राख्ने दर्शकहरूको बाहुल्य यसरी देखियो कि हाकु कालेका हरेक डायलग भाइरल भए। र नेपाली सिनेबजारमा पैसा कमाउने नभएर धुत्ने, खोस्ने, ठग्ने र लुट्ने पात्रहरूलाई नायक बनाएर फिल्महरू बन्न थाले। यसरी जानअञ्जानमै लुट्को हाकु काले एउटा कल्ट पात्र बन्न पुग्यो।

र बाटोमा भने एउटा विशेष बाटो समाएका, एउटा विशेष दर्शन बोकेका पात्रहरूको एउटा समुदाय छ। एउटा पन्थ छ- कल्ट छ। जसको आफ्नै किसिमको जीवनयापन छ, आफ्नै किसिमको रहनसहन, संस्कृति र मूल्यमान्यता छ। जहाँ एउटा विशेष किसिमको 'कल्ट कल्चर' छ।

यद्यपि, यी कल्ट पात्रहरूलाई आम पात्रहरूभन्दा अझै प्रस्टसँग अलग्गै देखाउन सकिन्थ्यो। लवाइ, खवाइ र दर्शनमा मात्र भिन्न देखाउनुको साटो आम पात्रहरूभन्दा यिनलाई शक्तिशाली या फेरि चमत्कारी देखाउन सकिएको भए दुई दुनियाँबीच एउटा स्पष्ट धार कोरिने थियो कि? यिनले प्रयोग गर्ने भाषालाई आम पात्रले प्रयोग गर्नेभन्दा बेग्लै बनाउँदा मात्रै पनि एउटा स्पष्ट रेखाले यिनीहरूलाई छुट्याइदिने थियो।

जे होस्, बहुआयाम र नवीनताको खोजी गर्दै भौँतारिइरहेको नेपाली सिनेमामा कल्ट कल्चर भित्रिनु बिलकुलै आवश्यक थियो। तर, के यो कल्ट कल्चर पनि दर्शकहरूको माझमा हाकु कालेजत्तिकै लोकप्रिय होला त? जवाफ जेसुकै आउनसक्ला तर, नेपाली सिनेमाभित्र कल्ट कल्चर भित्र्याउन निर्देशक थापाको 'बाटो'ले एउटा बाटो खोलिदिएको कुरा अकाट्य छ।

जाँदाजाँदै, बाटोले आफ्नो यात्रा पक्कै पूरा गरेको छैन। अपेक्षा गरौँ, अर्को यात्रामा बाटोले आफूलाई हरतरहबाट बलियो बनाएर आउनेछ। किनभने, 'बाटो' नेपाली दर्शकले खोजिरहेको एउटा विशेष यात्रा- 'कल्ट यात्रा'को ‍सुरुवात हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .