ad ad

कला


राजामौलीको फिल्ममा काम गरेका मदन भन्छन् : केही वर्षमै नेपाली सिनेमा कमर्सियल्ली विश्वभर पुग्छ

‘मैले जे देखाउँछु, त्यही हेर भन्ने जमाना गयो’
राजामौलीको फिल्ममा काम गरेका मदन भन्छन् : केही वर्षमै नेपाली सिनेमा कमर्सियल्ली विश्वभर पुग्छ

लक्ष्मी बलायर
जेठ ३१, २०८१ बिहिबार १८:५३, काठमाडौँ

पछिल्लो समय नेपालमा फरकफरक विधाका फिल्म बन्न थालेका छन्। यसै वर्ष दर्शकमाझ प्रस्तुत भएका ‘बोक्सीको घर’ र ‘फर्की फर्की’ पनि नयाँ विधाका फिल्म हुन्। जुन फिल्मले नयाँ स्वादका कथा पस्केका छन् र यस्ता कथा पनि चल्छन् भन्ने देखाए। यसै लहरमा थपिएको छ, ‘बाटो: रोड टु डेथ’।

रोड थ्रिलर विधाको यो फिल्म मदन थापाको लेखन र निर्देशनमा तयार भएको हो। भारतको चेन्नईमा हुर्केका थापाले नेपाली फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन्।

बाग्लुङ पुर्ख्यौली घर भएका मदन चेन्नईको कोयमबटुरमा जन्मेका हुन्। बुवाको भारतमा सरकारी जागिर भएकाले उनी चेन्नईमै हुर्किए।

मदनलाई सानैदेखि फिल्म क्षेत्रमा रुचि थियो। मदनका बुवा केही समय फिल्म क्षेत्रमा भएकाले छोराको इच्छा बुझे। र, मदनको हौसला बनेर उभिए।

परिवारको हौसलाबीच मदनले भारतको सत्यभामा विश्वविद्यालयबाट फिल्म नै अध्ययन गरे।

अध्यननसँगै उनले दक्षिण भारतीय फिल्महरूमा समेत काम गरिसकेका छन्। मदनले ‘बाहुबली’ फेम्ड एसएस राजामौलीको प्रोडक्सनमा बनेको तेलुगु फिल्म ‘युद्धम शरणम’ मा सह-निर्देशकको जिम्मेवारी सम्हालेका थिए। यस फिल्ममा चर्चित अभिनेता नागा चैतन्य मुख्य भूमिकामा छन्। साउथ फिल्मसहित उनीसँग सर्ट फिल्म र विज्ञापनमा पनि काम गरेको अनुभव छ।

त्यही अनुभवका आधारमा नेपाली फिल्म ‘बाटो: रोड टु डेथ’ बनाएको मदन सुनाउँछन्। यो फिल्म शुक्रबार रिलिज हुँदै छ।

 भारतमा बसे पनि नेपालप्रतिको लगावले यो फिल्म बनाउन प्रेरित गरेको उनको भनाइ छ।

‘भारतमा बसे पनि नेपालप्रतिको छुट्टै माया छ। सानैबाट बुवाआमामा नेपालप्रतिको माया देखेका थियौँ। घरमा हामी नेपालीमा पनि कुरा गर्छौँ। राजेश हमालका केही फिल्म पनि हेरेको थिएँ र म पनि एक दिन नेपालमा फिल्म बनाउँछु भन्ने लागेको थियो। तर, डेब्यु फिल्म नै नेपाली हुन्छ भन्ने थाहा थिएन,’ उनले नेपालखबरसँग भने। 

उनी बेलाबेला चितवन मामाघर आइरहन्थे। सन् २०१९ ताका घुम्न आउँदा मदनको भेट चन्दन झासँग भयो। मदनले काठमाडौँ फिल्म्सका झालाई स्टोरीको आइडिया सुनाए। जुन स्टोरी झालाई निकै मन परेछ। झाले लगानी गर्ने भएपछि उनले फिल्म बनाउने तयारी थाले।

तमिल कथालाई नेपालीमा रुपान्तरण
दक्षिण भारतीय फिल्म उद्योगमा हुर्किएका मदनको मन पर्ने विधा हो, थ्रिलर। त्यसैले उनले यही विधामा ‘बाटो’को कथा बुनेका थिए। तमिल भाषामै निर्माण गर्ने उनको सोच थियो।

यो स्क्रिप्टको लागि बेलायतमा अंग्रेजी फिल्म नै बनाउने योजना पनि नभएको होइन। तर, केही ढिलाइ भएपछि उनले नेपाल आएर निर्मातासँग स्टोरी पिच गरे। निर्माताको साथले फरक जनरामा फिल्म बनाउन सम्भव भएको उनी बताउँछन्।

‘स्टोरी पिच गर्दा उहाँलाई निकै मन परेछ। उहाँले नयाँ चिज फिल्म क्षेत्रमा ल्याएर आउने चाहना राख्नुभयो। भिजन मिलेपछि फिल्म बनाउने तयारीमा लाग्यौँ,’ मदनले सुनाए।

सुरुमा तमिल कथालाई नेपाली भाषा, परिवेश र सन्दर्भमा ढाल्नुपर्ने थियो। जसको लागि उनले थिएटरका आशान्त शर्मा र सुलक्षण भारतीको सहयोग लिए। साथै अन्य कलाकारहरूको सहयोगले नेपाली अडियन्सले सहजरूपमा बुझ्ने गरी नेपालीमा कथा भनिएको सुनाउँछन् उनी।

फिल्ममा सबै थिएटर आर्टिस्ट
फिल्ममा आशान्त र सुलक्षणसहित मिथिला शर्मा, रक्षा थापा, पशुपति राई, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभास अधिकारी, गणेश उपाध्याय, किरण शाही लगायतको अभिनय छ। मुख्य भूमिकामा देखिएका उत्पलमार्फत अन्य कलाकार जोडिएका हुन्।  

यो फिल्म नेपालकेन्द्रित मात्रै नभएकाले आफूले चलेका कलाकार नराखेको उनको दाबी छ।

‘फिल्मको स्क्रिप्टअनुसार नै उहाँहरूलाई लिएका हौँ। यो फिल्म नेपालभित्र मात्रै चलाउन बनाएको भए ठूलो स्टार लिँदा हुन्थ्यो होला। तर, नेटफ्लिक्स, प्राइम भिडिओमा आउने सिनेमाका प्राय: आर्टिस्टलाई चिनिदैन। तर, उनीहरूको प्रस्तुतिले दर्शकलाई आकर्षित गरिरहेको हुन्छ। अर्को, चलेका कलाकार राख्दा यो फिल्म बनाउन गाह्रो हुन्थ्यो होला। किनकि, उनीहरूसँग त्यति धैर्य र समय हुँदैन। एउटै सिनको लागि ३०/४० टेकसमेत लिएका छौँ,’ उनले भने।

कलाकार पक्का भएपछि सन् २०२२ बाट फिल्मको छायाङ्कन सुरु गरियो। तीनवटा सेड्युलमा खिचिएको कथाले काठमाडौँदेखि धरानसम्मको एक दिनको यात्रा कथा भन्छ। विशेष गरी, उदयपुरको गाईघाटको दृश्य खिच्न ५० दिन लागेको थियो। कलाकारहरूले आफूले सोचेभन्दा पनि राम्रो काम गरेको सुनाउँछन् उनी।

विश्वमा पुरानो भए पनि नेपालमा पहिलोपटक रोड थ्रिलर बनाएको उनले दाबी गरे।

‘नेपालका लागि नौलो चिज हो। रोड थ्रिलर भए पनि हामीले कमर्सियल खालको नै फिल्म बनाएका छौँ। यसभित्र थ्रिलरसहित एक्सन, ड्रामा, सेन्टिमेन्ट, कमेडी सबै चिज छ,’ थापाले भने, ‘फिल्मले दर्शकलाई एकदम उत्साहित बनाउँछ। उहाँहरूको पैसा असुल होस् भनेर फिल्म बनाएका हौँ।’

प्रोस्ट-प्रोडक्सनको काम भारतमा
फिल्मको गुणस्तरमा विशेष ध्यान दिइएको थापा बताउँछन्। फिल्मलाई साउथकै सिनेमाटोग्राफर शरण ऋषिले खिचेका हुन्। जसले रजनीकान्तका फिल्महरूमा समेत काम गरिसकेका छन्। फिल्मको सम्पादन स्वयम् मदनले गरेका हुन्।  

नेटफ्लिक्स र प्राइम भिडिओलाई मध्यनजर गर्दै फिल्मको प्रोस्टप्रोडक्सनको काम पनि चेन्नईमा गरिएको हो। यस फिल्मले नेपाली सिनेमाको मापदण्ड भत्काउने मदनले दाबी गरे।

भन्छन्, ‘नेपाली सिनेमाको गुणस्तरको जुन मापदण्ड छ। त्यसलाई पनि ब्रेक गरेर दर्शकलाई एउटा सरप्राइज प्याकेज दिन खोजेका छौँ। ट्रेलर हेरेर धेरैले हलिउड मुभीजस्तो भनेर प्रतिक्रिया दिनुभएको छ। नेपालमा पनि यत्तिको क्वालिटीमा फिल्म बनाउन सकिन्छ भनेर हेर्नको लागि पनि यो फिल्म हेर्न जरुरी छ।’

उनका अनुसार फिल्मले थ्रिलरसहित पारिवारिक कथासमेत भन्छ।

‘जीवन भनेको संयोग र गन्तव्यबीचको खेल हो। हाम्रो हातमा केही छैन। जति पनि हुन्छ, परिस्थितिले हुन्छ। यो फिल्म एक दिनको कथा हो। बाहिरबाट डराउने थ्रिलर देखिए पनि फिल्मको मुख्य सन्देश परिवारको बारेमा हो,’ उनले भने।

गुणस्तरका हिसाबले कुनै सम्झौता नगर्दा यो फिल्म बनाउन साढे तीन करोड खर्च भइसकेको समेत निर्देशक थापाको दाबी छ। नेपालसहित हिन्दी, तमिल, तेलुगु र अंग्रेजीमा डब गरेर रिलिज गरिनेछ।

नेपाली र साउथ उद्योगमा मदनले देखेको भिन्नता
चेन्नईबाट नेपाल आएर मदनलाई फरक जनरामा फिल्म बनाउनु चुनौती थियो। यस्तोमा उनले धेरैको साथ र सहयोग अपेक्षा गरेका थिए। तर, नेपाली उद्योगमा खासै साथ पाएनन्।

‘नयाँ जनरा र नयाँ मेकर आएपछि यहाँको सिनियर मेकरले हेरेर सुझाव दिनुपर्छ। तर, यहाँ त्यस्तो पाइनँ। हुन त आशा गर्ने क्षेत्र चलचित्र विकास बोर्ड पनि छ। नेपालमा उत्प्रेरणा दिने र नयाँ टिमले काम गर्ने माहोल छैन,’ उनी भन्छन्।

नेपालमा गुटबन्दी पनि अत्यधिक रहेको उनको बुझाइ छ।

‘राम्रो फिल्म बनाएर दर्शकसम्म पुर्‍याउने सबैतिरको फिल्ममेकरको चाहना हुन्छ,’ नेपाली फिल्म उद्योगका समस्याहरू औँल्याउँदै उनले भने, ‘धेरै चिज सुधार गर्न आवश्यक देखेँ। एउटा त समय ढिलाइको समस्या छ। अर्को, नेपालमा टेक्निसियनको सहभागिता कम छ। सबैले छुट्टाछुट्टै आफ्नै काम सोचिरहेका छन्। त्यस्तै, ग्रुपिजम पनि अत्यधिक छ। खुट्टा तान्ने प्रवृत्ति धेरै छ। जुन बहसको विषय हो।’

उनका अनुसार केही समयअघि दक्षिण भारतीय फिल्मबारे धेरैलाई थाहा थिएन। तर, बाहुबली, पुष्पा र आरआरआरले साउथ उद्योगलाई विश्वभर पुर्‍याएको छ। सबैले मिलेर काम गर्दा नेपाली सिनेमालाई पनि छिट्टै विश्वभर पुर्‍याउन सकिने मदनको निष्कर्ष छ।

भन्छन्, ‘अब दुई-तीन वर्षमा नेपाली फिल्म कमर्सियल्ली विश्वभर पुग्छ। मबाट होस् वा अरू फिल्मेकरबाट। यो क्षेत्रमा आफूले सिकेको सेयर गर्न चाहन्छु र सिक्न पनि चाहन्छु। नेपालको फिल्मलाई दुनियाँभरि सेलिब्रेट गरियोस् भन्ने चाहना छ।’

साथै निर्देशकले फिल्म क्षेत्रका सबै विभागबारे ज्ञान राख्नुपर्नेको धारणा छ।

‘फिल्म पढ्ने बेलामा फिल्म क्षेत्रमा २४ वटा डिपार्टमेन्टबारे पढाइन्छ। जुन निर्देशकले सिक्नुपर्छ। बल्ल हेड भएर काम कसरी गराउने भन्ने हुन्छ,’ उनी भन्छन्।

फरक कन्टेन्टको लागि दर्शक तयार छन्
‘बोक्सीको घर’ र ‘फर्की फर्की’ चल्दा निकै आशावादी छन् मदन। किनकि यी फरक विधामा बनेका फिल्महरू हुन्। मदनलाई पनि आफ्नो फिल्मको कन्टेन्टमा विश्वास छ। 

‘इतिहासमा कुनै पनि चिजलाई स्वीकार गरेपछि मात्रै अगाडि जान सक्छ। अहिले नयाँ विधाका फिल्महरुलाई पनि दर्शकहरूले रुचाउनुभएको छ। यसको मतलब अडियन्स छुट्टै किसिमको कन्टेन्टको लागि रेडी हुनुहुन्छ। उहाँहरू ओपन माइन्डेड हुनुहुन्छ,’ उनले भने, ‘कोभिडपछि दर्शकहरू निकै स्मार्ट हुनुभएको छ। दर्शकलाई भाउ नदिएर मैले जे देखाउँछु, त्यही हेर भन्ने जमाना गइसकेको छ। अब अडियन्सहरु आइडिया दिने भइसक्नुभएको छ। उहाँहरूलाई के चाहियो, त्यो हामीले दिनुपर्छ।’

नेपाली सिने क्षेत्रमा आउने नयाँ मेकरलाई प्रोत्साहन गर्न पनि यो फिल्म चल्नुपर्ने उनको तर्क छ।

भन्छन्, ‘यो फिल्म नचल्दा अब नयाँ मेकरलाई गाह्रो हुन्छ। नेपाली फिल्म सुरुमा प्रयास गर्दा असफल हुँदोरहेछ भन्ने नाजिर बस्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .