ad ad

कला


‘वसन्त’को शुभमुहूर्त, प्रकाश सपूत भन्छन्– हाम्रै समयको कथा छ

‘वसन्त’को शुभमुहूर्त, प्रकाश सपूत भन्छन्–  हाम्रै समयको कथा छ

नेपालखबर
भदौ २२, २०८१ शनिबार २२:३२, गण्डकी

गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमुहूर्तगरिएको छ।

चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायांकनको सुरुआत गरे।

सोही क्रममा चलचित्रमा सपना विकको भूमिकामा रहेकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रेका कलाकार प्रभातपाल ठकुरीले चलचित्रको छोटो सम्वाद सुनाएका थिए।

शुभमुहूर्तसमारोहमा बोल्दै चलचित्रका निर्मातासमेत रहेका अभिनेता सपूतले चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताए। 

चलचित्रको ९० प्रतिशत छायांकन आफ्नो गृहथलो बागलुङमा हुने उनको भनाइ छ।

‘चलचित्रलमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउने हुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र संगीत हुनेछ’, सपूतले भने, ‘चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ।’

चलचित्रलमा आफ्नै जन्मगाउँ बागलुङ्को धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ। अभिनेता सपूतले चलचित्र ‘वसन्त’ मार्फत बागलुङको सभ्यता, कला, संस्कृति र जनजीवनका कथाव्यथा उजागर गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

अभिनेत्री खड्काले चलचित्र छायांकनका क्रममा बागलुङ आउन पाउँदा थप ऊर्जा मिलेको प्रतिक्रिया दिए। 

गलबन्दी प्रडक्सनका कार्यकारी प्रमुख दिल शिरीषका अनुसार दुई महिनामा चलचित्र छायांकन पूरा गर्ने लक्ष्य लिइएको छ।

चलचित्रको छायाङ्कन बागलुङसहित केही भाग काठमाडौँ र तराईमा गरिने उनको भनाइ छ। गायन क्षेत्रमासमेत चर्चित सपूतले पहिलोपटक आफ्नै चलचित्र निर्देशन गर्न लागेका हुन्। 

गायन करिअरको शिखरमा रहेकै बेला उनले चलचित्र निर्माण तथा निर्देशन गर्न लागेका हुन्। सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी–२’ बाट अभिनेताका रुपमा उदाएका थिए। 

‘वसन्त’मा पनि उनी आफैँ मुख्य पात्रका रुपमा देखिँदै छन्।

‘परदेशी–२’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उनको भनाइ छ।

चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ। विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक सपूतले बताए। 

कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ। 

चलचत्रिमा ‘शान्ति’ पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिएका छन्। 

गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ। चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पारेका छन्। 

चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ। चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन्।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन्।

सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन्।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिन्छन्। 

चलचित्रको शुभमुहूर्तसमारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलगायत उपस्थित रहेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .