कला


फिल्म ‘मोदीबेनी’को पोस्टरमा यस्तो अवतारमा देखिए वर्षा र अमर

फिल्म ‘मोदीबेनी’को पोस्टरमा यस्तो अवतारमा देखिए वर्षा र अमर

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १३:२५, काठमाडौँ

आगामी साउन १८ गतेबाट रिलिज हुने फिल्म ‘मोदीबेनी’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक दुई पोस्टरमा मुख्य कलाकारहरू वर्षा शिवाकोटी र अमर प्रताप श्रेष्ठ देखिएका छन्।

वर्षालाई पोस्टरमा रहस्यमय र गम्भीर अवतारमा देखाइएको छ। पहाडी इलाकामा उभिएकी उनी सेतो पहिरिनमा देखिएकी छिन्। अर्को पोस्टरमा डेब्यु अभिनेता अमरलाई ‘एङ्ग्री योङ म्यान’को रूपमा देखाइएको छ।

उनी कुनै पहाडी इलाकामा हातमा बाँसको लट्ठी समाएर रिसाहा भावमा उभिएका छन्। उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको अवस्थामा छन् भने नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन्। अमरले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका थिए।

फिल्मका निर्देशक शङ्कर कोइरालाले चलचित्रको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए। उनले यस चलचित्रमा अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको खुलासा गरे।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए। चलचित्रमा बदलाको कथा रहेको बताउँदै निर्देशकले कथाको अन्य 'क्लु' दिन भने अस्वीकार गरे।

सार्वजनिक पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। उनले आफूले पोस्टरहरूमा बदला र पीडालाई देखाउनुपर्ने रहेकोमा सोही अनुरूप डिजाइन गरेको बताए।

अभिनेता श्रेष्ठको पोस्टरबारे व्याख्या गर्दै उनले कुनै मिसनमा रहेर आक्रामक लडाइँ भावनामा रहेको पात्र रहेको बताए। अभिनेत्री शिवाकोटीलाई राखिएको पोस्टरबारे भीमसेन भन्छन्, ‘रहस्यमय र सन्दिग्ध एवम् भित्री पीडा लुकाइरहेकी महिला जसले बदलाको भावना राखेकी छन्।’

यस फिल्ममा अमर र वर्षा सहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्। दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको फिल्मलाई उत्सव दाहालले खिचेका हुन्। यस फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यकाबाहिर वितरण गर्दैछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad