ad ad

कला


पुजार सार्की : प्रेम र जात दुवै मुद्दामा चुकेको फिल्म

पुजार सार्की : प्रेम र जात दुवै मुद्दामा चुकेको फिल्म

श्रीजु सरल
जेठ १४, २०८१ सोमबार १९:६, काठमाडौँ

यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा विकास सुवेदी लिखित अनि दिनेश राउत निर्देशित नेपाली सामाजिक चलचित्र 'पुजार सार्की' प्रदर्शनरत छ। लेखक सुवेदी र निर्देशक राउतको सहकार्य नयाँ होइन। यसअघि सन् २०२२को 'प्रकाश'मा पनि सुवेदी र राउतको सहकार्य रहिसकेको छ।

प्रकाश भर्सेस पुजार सार्की
तर, उही जोडीको लेखन र निर्देशन हुँदाहुँदै पनि 'प्रकाश' र 'पुजार सार्की' बीच एउटा गहिरो खाडल देखिन्छ- भिन्नताको! कस्तो भिन्नता?

'प्रकाश' को सुरुवातमै मुख्य पात्र, त्यो हली केटो आफ्नी आमासँग मास्टर हुने आफ्नो सपना जसरी पनि पूरा गरेर छाड्ने प्रण गर्छ। सुरुवातमै यो पनि थाहा हुन्छ कि उसको बा बेपत्ता छन् र त्यसैकारण उनीहरू आर्थिक विपन्नतामा छन् र आफ्नै गाउँठाउँमा हेपिएका छन्। जसकारण, दर्शकहरूलाई मुख्य पात्रको पृष्ठभूमि, उनीहरूले भोगिरहेको पीडा, गरिरहेको संघर्षबारे सबै कुरा थाहा हुन्छ। दर्शक अब पात्रको संवेदनासँग एकाकार भइदिन्छन्। पात्रको मास्टर बन्ने सपना अब पात्रको मात्रै रहेन, हलभरिका दर्शकहरूको पनि भयो।

तर, पुजार सार्कीको पटकथा लेखन बिलकुलै फरक ढंगले गरिएको छ। अँध्यारोमा एउटा जोडी परालको आडमा प्रेमालाप गर्छ। तर, प्रेमालाप धेरै परसम्म पुग्न नपाउँदै तिनको प्रेमकथामा कुनै खलपात्र देखापर्छ। भोलिपल्ट उज्यालोमा थाहा लाग्छ, एउटा ब्राह्मण पात्र उही प्रेमी पात्रलाई ब्राह्मण तुल्याई खलपात्रबाट बचाउन चाहन्छ। तर, एकैछिनमा यस्तो लाग्छ कि ब्राह्मण पात्र त्यस प्रेमी पात्रलाई खलपात्रबाट बचाउनका लागि होइन, आफ्नै स्वार्थको लागि पो प्रयोग गर्न चाहन्छ। तर, आफ्नो के स्वार्थ? यो भने थाहा हुँदैन। जे होस्, दर्शकलाई यो थाहा लाग्छ- प्रेमी पात्र तथाकथित तल्लो जातको हो। र उसलाई प्रेम सफल पार्नका लागि जातको त्यस्तै तथाकथित भर्‍याङ उक्लनु छ र तथाकथित उपल्लो जातको पात्रले उसलाई त्यसमा मद्दत गर्नेवाला छ।

यतिले त दर्शक पात्रको जात उक्लिने लक्ष्यसँग एकाकार हुन मान्दैनन्। के ब्राह्मण पात्र वास्तवमै उसलाई मद्दत गर्न चाहन्छ त? उसको नियत आखिर के हो? के ऊ फस्न लागेको त होइन? सबैकुरा रहस्यमयी लाग्छ। रहस्यले कौतुहल जगाउँछ, यो पक्का हो। तर, यो रहस्यलाई यति लामो तन्काइन्छ कि रहस्य बुझ्ने बेलासम्म नआइपुग्दै दर्शकको कौतुहल दिक्दारीमा बदलिइसकेको हुन्छ। रहस्य बुझ्दै गर्दा 'ए! यस्तो पो रहेछ?' जस्तो नलाग्ने त होइन। तर, त्यसले दर्शकले महसुस गरिसकेको दिक्दारीलाई बिर्साउन भने सक्दैन।

त्यसो त 'प्रकाश'को प्रेमकथाले दर्शकलाई जति छोएको थियो, पुजार सार्कीका पात्रहरूको प्रेमकथाले दर्शकलाई उत्तिकै छुन सक्दैन। कारण फेरि पनि उही- स्थापनाको अभाव। जसरी प्रकाशमा प्रकाश र राधाबीचको प्रेमकथालाई प्रकाशको मास्टर सपनासँगसँगै समानान्तर रूपमा अघि बढाइएको थियो, त्यसले उनीहरूबीचको प्रेमकथालाई बलियो गरी स्थापित गर्न सघाएको थियो। उनीहरूको प्रेमकथा बुझेका दर्शक तिनको प्रेम सफल भएको हेर्न चाहन्थे। तर, पुजार सार्कीमा उनीहरूको प्रेमकथालाई स्थापना नगराई सँगै हुने चाह मात्रै दोहोर्‍याइरहिन्छ। जसकारण, दर्शकको हृदयमा उनीहरूको प्रेम सफल होस् भन्ने कामना उत्तिकै जोडसँग धड्किँदैन।

अँ, निकैपछि, एउटा गीतमार्फत् दुवै जोडीका प्रेमकथा देखाउने प्रयास त गरिएको छ। तर, यतिबेला त्यति प्रभावकारी लाग्दैन। भनिन्छ नि, रोगपछिको उपचारभन्दा रोगअघिको सावधानी निको!

यी त भए लेखनको हकमा दुई फिल्मबीच देखिएका केही भिन्नताका उदाहरण। निर्देशनको हकमा पनि यी दुई फिल्म बिलकुल भिन्न लाग्छन्। विपरीत नै भन्न मिल्नेझैँ भिन्न। सामाजिक-राजनीतिक विषयवस्तुमै आधारित फिल्म 'प्रकाश'मा निर्देशक राउतले पात्रहरूलाई त्यति मात्रै बोल्न लगाएका थिए जति सामान्य दैनिकीमा आम मान्छेहरू बोल्ने गर्छन्। राउतको 'प्रकाश'मा मौनताले पनि धेरै कुरा बोलेको थियो भने बिम्बले पनि संवादको विकल्पमा काम गरेको थियो। चाहे भित्तामा लेखिएको 'वर्गीय मुक्ति जिन्दावाद' होस् या फेरि प्रकाशले उखेलेर फ्याँकेको पर्खालको ढुंगा किन नहोस्!

तर, ठीक विपरीत पुजार सार्कीका पात्रहरू मानौँ मौनता बुझ्दैनन्। बिम्ब चिन्दैनन्। कतिपय ठाउँमा त फिल्म कथा भन्न बसेको भन्न पनि सन्देश र उपदेश दिन दौडिरहेको समेत महसुस भइदिन्छ। विशेषगरी, पहिलो हाफमा।

द्वन्द्व भर्सेस द्वन्द्व
हरेक फिल्ममा द्वन्द्व त हुन्छ नै। तर, पुजार सार्कीमा द्वन्द्व छ, अनि द्वन्द्व पनि छ। हो, एउटा पटकथाको द्वन्द्व। अर्को, द्वन्द्वको पटकथा।

द्वन्द्वकालीन परिवेशमा कथा भन्ने यस फिल्ममा यस्ता द्वन्द्व छन् जसले द्वन्द्वको पटकथालाई कमजोर या बलियो तुल्याएका छन्। र यस्ता द्वन्द्व पनि छन् जसले पटकथाको द्वन्द्वलाई फितलो वा कसिलो पारिदिएका छन्।

दुई पक्षबीच चलेको गोली लागेर आमाको मृत्यु हुन्छ। तर, छोरो पात्र मातृशोक मनाउँदैन। न कुनै पात्रलाई त्यसमा अफसोस नै महसुस हुन्छ। के प्रगतिशीलहरू संवेदना नभएकाले द्वन्द्वमा होमिने हुन्? या फेरि ज्यादा संवेदनशील भएकैले होमिँदा हुन्? उता फेरि मैते छ, जसको यस्तो बेला पनि गम्भीरतासँग साक्षात्कार नै हुँदैन। उसको उरन्ठेउलो प्रवृत्तिले यतिबेला पनि दर्शकलाई पात्रहरूको स्थितिसँग एकाकार हुन दिँदैन। यो द्वन्द्वले त पटकथाको द्वन्द्वलाई भयावह बनाएर दर्शकको ढुकढुकी छाम्नपर्ने हो। तर, पात्रहरूलाई जीवन्त कम र आदर्श ज्यादा, वास्तविक कम र नाटकीय ज्यादा देखाउन खोज्दा पटकथामा निम्तिने यो द्वन्द्व कमजोर लागिदिन्छ।

त्यसो त, समग्रमा फिल्मले प्रगतिशील पात्रलाई उत्पीडित नै तुल्याएर छोडेको छ।

त्यसो त तथाकथित फेरिएको व्यवस्थाको नकाब उतार्ने काममा भने फिल्म इमानदार उभिएको छ।

आन्दोलन र अधिकारको सपना देखाएर मैया र मैतेजस्ता उत्पीडितहरूको पिठ्युँमा टेक्छन् तथाकथित क्रान्तिकारीहरू र सत्ताको भर्‍याङ चढ्छन्। जसै सत्तामा पुग्छन् भर्‍याङलाई मानौँ लात्ताले हानेर ढलाइदिन्छन्। डाँडाबाट गुल्टिँदै गुल्टिँदै तल बगरमा मिल्किन्छन् मैयाँ र मैतेजस्ता भर्‍याङहरू! तब कथित क्रान्तिकारीहरू बहुदलको एक जोर नकाब तयार पार्छन् र पञ्चहरूसँग मिलेर सत्ताको राजनीति गर्छन्। दर्शकले यहाँनेर पक्कै सोच्लान्, बहुदल भनेको कतै नकाबधारी पञ्चायत त होइन? 

अनि आन्दोलन? त्यो त अरूकै थाप्लामा! अधिकार नि? त्योचाहिँ आफ्नै पोल्टामा! आखिर, आन्दोलन र राजनीति सत्तामा नपुगुञ्जेल मात्रै न हो। यहाँनेर भने फिल्म र वास्तविकताको अनुहार दुरुस्तै देखिन्छ।

वर्ग भर्सेस जात
आन्दोलन र राजनीतिको कुरा गर्दैगर्दा जातीय मुक्ति र वर्गीय समानताको मुद्दासम्म नपुगी फर्किन मिल्दैन। जात र वर्ग एकअर्कामा नङ र मासुजसरी टाँस्सिएका विषयवस्तु हुन्।

जब मान्छेमा सम्पन्नताको भोक जाग्यो वर्ग विभाजनको परिकल्पना बन्यो, अवधारणा बन्यो। त्यही अवधारणालाई कार्यान्वयनमा ल्याउन जातीय विभाजनको मन्द विषादी तयार पारियो र त्यसलाई समाजमा छिटियो। फलस्वरूप जातीय विभाजनले जातीय विभेद निम्त्यायो र सँगसँगै पलायो वर्गीय विभाजनको ट्युमर! जुन आज वर्गीय विभेदको रूप धारण गरेर क्यान्सरजसरी समाज र देशभरि फैलिएर रहिआएको छ। तथाकथित उपल्लो जातिकाहरू राजा बने, राजाका खास बने। बाँकीलाई कथित तल्लो जाति करार गरियो, रैती बनाइयो, दास बनाइयो।

अब फिल्मतिर फर्कौँ, जसरी 'प्रकाश' मा जात र वर्गका कुरा समानान्तर आएका थिए। 'पुजार सार्की'मा त्यसरी आउन सकेको छैन। यस फिल्ममा वर्ग विभेदप्रति सम्पूर्ण रूपमा आँखा चिम्लिइएको छ। त्यसो त, ठाउँठाउँमा 'सामन्ती' जस्ता शब्दहरूको प्रयोग भएको छ। जुन शब्दले जातसँग भन्दा 'वर्ग' व्यवस्थासँग सोझो सम्बन्ध राख्छ। तर, फिल्मको कथामा भने वर्ग संघर्ष कतै पनि देखिँदैन। वर्ग संघर्ष देखिन्थ्यो त उरन्ठेउलो पात्र मैतेले उठबस गरेको दृश्य प्राकृतिक रूपमै विश्वसनीय लाग्ने थियो। जसरी 'प्रकाश' मा आमा पात्रले इन्द्रबहादुर बाजेसँग माफी मागेको दृश्य स्वतस्फूर्त विश्वसनीय लागिदिन्छ दर्शकलाई!

त्यसो त, मैते पात्रलाई उरन्ठेउलो देखाउनुले नै फिल्ममा वर्गीय विभेद सम्बोधन हुन नसकेको देखिन्छ। तीन मुख्य पात्रमध्ये सबैभन्दा बढी स्पेस पाएको मैते उरन्ठेउलो हुँदा ऊ हरेकबेला, हर कोहीसँग विवाहको बाहेक अरू कुरा गर्दैन। उरन्ठेउलो भएकै हुँदा ऊ आफ्ना बा र आमासँग पनि तथानाम बोल्छ र गाउँ डुल्न हिँड्छ। जसले गर्दा घरमा अन्य समस्या के छन्? दु:खसुख के छन्? आर्थिक माहोल कस्तो छ? ऋण छ, छैन? आदि इत्यादि कुनै पनि विषयमा उनीहरू प्रवेश नै गर्दैनन्। यसरी अन्तर्जातीय विवाहको लागि उरन्ठेउलो भएर लागि परेको मैतेको चरित्रका कारण फिल्मको कथाले वर्गीय मुद्दालाई कतैबाट पनि छुन सकेको छैन!

यो त भयो, मासु अर्थात् ट्युमरको कुरा। अब नङ अर्थात् विषको कुरा गरौँ। जातीय विभेदको! जातीय विभेदविरुद्धको मुद्दा भने फिल्मले सुरुदेखि नै उठाएको मुद्दा हो। अन्तर्जातीय विवाहलाई जातीय आन्दोलनको बिम्ब बनाएर कथा भन्ने कोसिस नराम्रो होइन। तर, अन्तर्जातीय विवाहलाई फिल्ममा यति धेरै स्पेस दिइन्छ कि त्यसले सम्पूर्ण जातीय आन्दोलनलाई नै सानो देखाइन्छ। जातीय मुक्तिका लागि अन्तर्जातीय विवाह गरिनु विद्रोह हो या अन्तर्जातीय विवाहको लागि चाहिँ जातीय मुक्ति चाहिएको हो? दर्शकलाई फिल्मले सोच्न बाध्य नगराउला भन्न सकिन्न।

पात्र भर्सेस पात्र
फिल्ममा दुई मुख्य पात्र प्रगतिशील विचार बोकेर हिँड्छन्। यी दुवै आफ्नो ज्यानको दाउ थापेर निस्वार्थ समाज र देशका लागि लड्छन्। र यी दुवै पात्र तथाकथित उपल्लो जातिका देखाइएका छन्।

त्यसो त फिल्ममा अरू दुई मुख्य पात्र पनि छन्। जो लाटा छन्, सोझा छन्, कतै त धूर्त पनि छन्। र यी दुवैलाई तथाकथित तल्लो जातिको देखाइएको छ। वास्तविकतामा पनि के यस्तै हुन्छ? प्रगतिशील र निस्वार्थी जति सबै तथाकथित उपल्लो जातिका मात्रै हुन्छन्? अनि कथित तल्लो जातिले सधैँ लाटा र धूर्त हुनैपर्ने जरुरी किन होला?

कथित तल्लो जातिको प्रतिनिधि पात्र 'मैते' जस्तो नै किन? नेपालीमा एउटा उखान छ- जता मल्को, उतै ढल्को! अर्थात् फाइदा हुने कुरा जता देख्यो, उतै लहसिने! अझै स्पष्ट शब्दमा भन्नुपर्दा- अवसरवादी! फिल्मले तथाकथित तल्लो जातिको प्रतिनिधित्व गरिरहेको पात्र मैतेलाई अवसरवादी चित्रण गरिदिएको छ। ऊ आफ्नो स्वार्थ पूरा हुने देखुञ्जेल पुजारसँग लपक्कै टाँसिन जान्छ। फेरि पुजारले पार लाउन नसक्नेजस्तो देखेपछि उसलाई अनेक गालीगलौज गर्दै अर्को पात्रसँग उस्तै गरी टाँसिन्छ।

उता उस्तै कथित तल्लो जातिकी मैयालाई पनि कपटी पात्रका रूपमा चित्रण गरिएको छ। ऊ आफ्नो मर्जीअनुसार कुनै विशेष घटना घटाउन आफ्नो सबैभन्दा नजिकको पात्रलाई पनि धोकामा राख्न सक्छे। यस्ता पात्रलाई कथित तल्लो जातिको प्रतिनिधित्व गर्ने जिम्मेवारी फिल्मले किन दिएको होला?

यसर्थमा, फिल्मले समाजका वास्तविक पात्र र फिल्मी पात्रबीच सन्तुलन कायम गर्न सकेको जस्तो लाग्दैन। दुई प्रगतिशील र निस्वार्थी पात्रमध्ये एउटाले त कथित तल्लो जातिको प्रतिनिधित्व गरिदेओस्! किन दिइएन त्यस्तो भूमिका यी समुदायका पात्रलाई?

धुर्त हुँदाहुँदै पनि कथित तल्लो जातिलाई कथित उपल्लो जातिले निस्वार्थ साथ दिने हुँदा आफै उत्पीडित हुन बाध्य भए? फिल्मले आखिर भन्न खोजेको के हो?

फिल्म भर्सेस फिल्ड
वि.सं. २०७७ साल जेठ १० गते रुकुमपश्चिममा जुन घटना घट्यो त्यसबारे थाहा नपाउने नेपाली सायद छैनन्। फिल्मको ट्रेलरमा समेत जेठ १० को जातीय विभेदले निम्त्याएको बर्बरतापूर्ण नरसंहारको घटना टड्कारो प्रतिबिम्बित छँदै थियो। र फिल्मभित्र समेत जेठ १० को मिति तोकेरै उल्लेख गरिएको छ। तर, के फिल्मले फिल्डमा आखिर जे भएको हो त्यसलाई जस्ताको त्यस्तै देखाउन सकेको छ त? सक्नु, नसक्नु पनि पछिको कुरा। के जस्ताको त्यस्तै देखाउने 'प्रयास' मात्र भए पनि गरेको छ त? के यो फिल्म फिल्ड (वास्तविक घटना)को इमानदार रिपोर्टिङ हो त?

पहिला फिल्डले के भन्छ, त्यसकै कुरा गरौँ। जेठ १० को उक्त घटना (रुकुम घटना) का प्रत्यक्षदर्शी एवं मृतक नवराज वि.क.का घाइते साथीहरूका बयानअनुसार नवराजलाई उनकी प्रेमिकाले आफूलाई भगाएर लैजान आफ्नो घर बोलाइन् र जब साथीहरूसहित नवराज त्यहाँ पुगे सिङ्गो गाउँ उनीहरूमाथि निर्मम र बर्बर किसिमले जाइलाग्यो।

तत्कालीन गृह मन्त्रालयद्वारा गठित सहसचिव नेतृत्वको छानबिन समिति र राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोलीले रुकुमपश्चिमस्थित स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुसन्धानले पनि उक्त घटनालाई जातीय भेदभाव र छुवाछुतका कारण वडाध्यक्ष डम्बरबहादुर मल्लसहितको टोलीले घटाएको नियोजित घटना भनेर उल्लेख गरेको थियो।

अघिल्लो साल (वि.सं. २०८०) मंसिरमा मात्रै जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासले हत्या प्रकरणमा दोषी ठहर भएका २४ जनालाई जन्मकैद, छुवाछुतसम्बन्धी कसुरमा दोषी ठहर भएका २ जनालाई छुवाछुतमा कानुनबमोजिमको सजाय गर्ने र बाँकी ८ जनालाई सफाइ फिने फैसला गरेको थियो।

तर, फिल्मले भने प्रत्यक्षदर्शी, समाज र अनुसन्धान रिपोर्टले बताउँदै आएको कुरा अदालतले पुष्टि गरेर फैसला सुनाइसक्दा समेत उक्त घटनालाई पुनर्व्याख्या गर्न खोजेको हो कि? दर्शकको मनमा यो सवाल पक्कै उठ्न सक्छ।

फिल्ममा दमाइको छोरो (धर्म छोरो) मैतेलाई एउटा स्वार्थी, धूर्त र उरन्ठेउलो पात्रको रूपमा चित्रण गरिएको छ। अधिकांश समय जब मैते दृश्यमा हाबी हुन्छ तब पृष्ठभूमिमा ठट्यौली किसिमको धुन बज्छ, जुन अन्य पात्रका लागि बज्दैन। उसले बोल्ने संवाद र लवजमा पनि ठट्यौली मिजास दिन खोजिएको छ। बा, आमा, साथी, छिमेकीदेखि लिएर हरेकलाई मैतेले सरापेकै छ,  गाली गरेकै छ। र यसो गर्दा पृष्ठभूमिमा बज्ने ठट्यौली धुन र संवाद र लवजले झल्काउने तितो-टर्रो स्वभावले दर्शकका नजर एवं समझमा उसलाई एउटा उरन्ठेउलो पात्र हो भनेर पटकपटक साबित गरिरहन्छ।

साथै, आफैलाई पाल्ने बा-आमालाई सराप्ने, साथीको कमजोरीको फाइदा उठाएर ब्ल्याकमेल समेत गर्ने, जता स्वार्थ त्यता लहसिने जस्ता अवसरवादी प्रवृत्ति नवराज वि.क.को प्रतिनिधिस्वरूप उभ्याइएको पात्र मैतेको चरित्रको रूपमा देखाइँदा यसले रुकुम घटनाको दुर्व्याख्या गर्न सक्दैन र? फिल्ड र फिल्म फरकफरक धारमा त छैनन्? दर्शकले सशङ्कित हुने ठाउँ यथेष्ट भेटाउन सक्लान्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .