ad ad

कला


कथा सुनाउँदै संसार घुमिरहेका साइग्रेस

कथा सुनाउँदै संसार घुमिरहेका साइग्रेस

राधिका अधिकारी
जेठ १, २०८१ मंगलबार १९:२६, काठमाडौँ

भर्खर कलेज भर्ना भएकी किशोरी पहिलो पटक प्रेममा पर्छिन्। जिन्दगी नबुझ्दै, रंगीन सपना नदेख्दै प्रेम टुट्छ पनि। यो वियोग उनी सहन सक्दिनन्। कसैलाई माया गर्दा उनी आफैँलाई बिर्सिन पुग्छिन्। प्रेमीकै नाममा आफ्नो जीवनको अन्त्य होस् भन्ने चाहन्छिन्। यही चरम निराशाको विन्दुमा उनले साइग्रेस पोखरेलले वाचन गरेका कथा सुनिन्। त्यसपछि उनको बाटो मोडियो।

केही समयपछिको कुरा। ‘द पोइट आइडल’को सुटिङ चल्दै थियो। कलेजबाट सुटिङ हेर्न पुगेकी किशोरी र कथावाचक साइग्रेसको जम्काभेट भेट भयो। साइग्रेसका कथाहरूबाट आफूलाई प्रेम गर्न थालेकी किशोरी उनलाई भेट्न चाहन्थिन्। मायामा पाएको चोट, त्यसपछि खाएको हरेस, भंग भएको जीवनप्रतिको मोह र त्यहाँबाट फर्किंदाको कथा भन्न चाहन्थिन्। तर, सबैथोक भन्न सम्भव थिएन। किशोरीको यो कथासँग ‘शो’का होस्ट दिव्य देव जानकार थिए। उनले स्टेजमै साइग्रेसलाई सुनाए। 

दर्शकदीर्घामा रहेकी किशोरीका आँखाबाट आँसु झरिरहेथे। साइग्रेसले भने, ‘म तपाईं भए ठाउँमा आएँ भने तपाईंलाई खुसी मिल्छ?’ किशोरीले ‘हो’ को भावमा मुन्टो हल्लाइन्। साइग्रेसले उनलाई भेटे। उनीसँग केहीबेर कुरा गरे र फर्किए। त्यसपछि उनका साथीहरूले पनि पालैपालो हात मिलाए। उनीहरूका लागि साइग्रेस मोटिभेसनल स्पिकर हुन्, धेरैका ‘ड्रिम बोइ’ हुन् अनि कयौँका भर्चुअल गुरु। 

साइग्रेस भने यी सबै कुरा स्वीकार गर्दैनन्। भन्छन्, ‘म एउटा सामान्य मान्छे हुँ।’ उनले नमाने पनि युवा पुस्ताका लागि उनी धेरै थोक हुन्। 

केही वर्षयता स्पेनको बार्सिलोनामा बस्दै आएका साइग्रेस हाल नेपालमा छन्। उनी नेपालका विभिन्न सहर घुमिरहेका छन्। झापा, पोखरा, चितवनलगायतका सहरमा पुगेर भर्खरै काठमाडौँ आइपुगेका साइग्रेसको आँखाबाट टाढा हुन सकेको छैन ती सहरमा पाएको माया। हरेक ठाउँमा उनलाई हेर्न, सुन्न आउनेको भीड थामिनसक्नु थियो।। कति उनीसँग एउटा तस्बिर खिच्न, एक पटक छुन लालायित थिए। 

कुराकानीको सुरुवातमै उनीसँग हाम्रो जिज्ञासा थियो, ‘यो खालको लोकप्रियताले कत्तिको झस्काउँछ?’ 

‘पटक्कै झस्काउँदैन। तर जिम्मेवारी बोध चाहिँ गराउँदो रहेछ। मैले बोलेको कुरालाई उहाँहरूले यति सिरियस भएर सुन्न भएको छ, मैले उहाँहरूको त्यो भावनामा ठेस आउने कुनै त्यस्तो कुरा बोल्नु हुँदैन भन्ने महसुस गराएको छ,’ साइग्रेसले जवाफ दिए। 

‘यसरी दर्शकबाट घेरिँदा सेलेब्रिटी भएको अनुभव त पक्कै गर्नुभयो होला नि?’  

‘अहँ, त्यस्तो लागेन,’ प्रश्न भुइँमा खस्न नपाई उनी भन्छन्, ‘ममा यो खालको भोक पहिलादेखि नै थिएन। उहाँहरूले पनि मलाई सेलेब्रिटीका रुपमा खोज्नु भएको होइन। उहाँहरूलाई भेट्दा मलाई परिवारका सदस्य भेटेको महसुस हुन्छ, उहाँहरू पनि परिवारको सदस्य भेटेझैँ खुसी हुनुहुन्छ। म उहाँहरूको खुसीमै हराइहाल्छु।’ 

कथा उनलाई सानैदेखि मन पर्ने। बुवाले एउटै कथा पटकपटक सुनाउने गर्थे। तर, जति पटक सुन्दा पनि कथा फरक स्वादको लाग्थ्यो। त्यहीबेलादेखि कथामा उनको रस बस्यो। ४ कक्षा पढ्दा स्कुलमा कमेडी च्याम्पियन प्रतियोगिता हुँदै थियो। उनले हाँस्य कथा लेखे र सुनाए। अनि प्रथम भए। साइग्रेसले त्यही बेला बुझे, लेखाइमा शक्ति र आवाजमा प्राण हुन्छ।

उनी डायरीका पानामा कथा, कविता र गीत लेखिबस्थे। सन् २०१२ मा साइबाबा संगठन नेपालले राष्ट्रिय युवा सम्मेलन गर्‍यो। जमात ठूलो थियो। त्यो जमातमा साइग्रेसले कथा वाचन गरे। भीडबाट आएको प्रतिक्रियापछि उनले आफ्नो आवाज र कथा भन्ने शैलीमाथि विश्वास गरे। त्यसपछि अठोट गरे, ‘मैले कथावाचनलाई निरन्तरता दिनुपर्छ।’

साइग्रेसले कथा वाचककै रुपमा आफूलाई उभ्याएको केही वर्ष मात्रै भयो। छोटो समयमै ‘स्टोरीटेलर’को परिचय बनाएका साइग्रेस कथाहरूमा आफैँ जिउन रुचाउँछन्। अरुका कथा भनेर स्रोताको मन जित्ने साइग्रेसले आफ्नै कथा पनि भनेका छन्। उनी कथा भन्दाभन्दै कयौँ पटक रोएका छन्। भन्छन्, ‘जबसम्म म कथाहरूमा आफैँ जिउन सक्दिनँ, शब्दहरूलाई पानीसरी पिउन सक्दिनँ, म कथा भन्नै सक्दिनँ।’

सन् २०१० तिरबाट इन्टरनेटको दुनियाँमा कथा लिएर भित्रिएका साइग्रेस कथा बोकेरै विश्व यात्रा गरिरहेका छन्। कथा भन्नकै लागि विश्वका ५५ स्थान पुगेका साइग्रेसको विश्व यात्रा सन् २०२१ म नेपालबाटै सुरु भएको हो। ‘वर्ल्ड टुर विद् साइग्रेस’ नाम दिइएको यो यात्रामा उनले पछिल्ला केही दिनयता झापा, इटहरी, चितवन, बुटवल, पोखराको भ्रमण गरिसके। जेठ ५ गते काठमाडौँको राष्ट्रिय सभागृहबाट यो संस्करणको नेपाल यात्रा समापन हुँदैछ। क्यानेडियन स्टडी सेन्टरको सहकार्यमा भएको यो यात्राले साइग्रेसलाई नाम, दाम र दर्शकको माया मात्रै दिएको छैन, थुप्रै कथाका प्लटहरू पनि दिएको छ। 

भन्छन्, ‘हरेक भेट र यात्राले फरकफरक कथा दिएका छन्। जुन कथा जीवनमा कहीँ काम लागिहाल्छन्।’

नेपालमा छँदा साइग्रेस सरकारी जागिरे थिए। २०६५ तिर स्वास्थ्य मन्त्रालयमा जागिरे साइग्रेसलाई सिक्ने चाहनाले डेनमार्क पुर्‍यायो। विद्यार्थी भएर डेनमार्क पुगेका साइग्रेसको त्यसपछिको कर्मथलो बन्यो स्पेनको बार्सिलोना। उनले फिल्म, नाटक, म्युजिक, नृत्य सबैथोक सिके। तर, कथावाचनले उनको बलियो पहिचान बनाइदियो। 

कथा भनेरै साइग्रेसले धेरैको सपनाको बाटो कोरिदिएका छन्। कतिपय उनका फ्यानले सुनाउँछन्, ‘मलाई पनि ममीले स्टोरीटेलर बन्नु भन्नु भएको छ।’ 

उनीहरूका सपना सुनेर साइग्रेस मुसुक्क हाँस्छन्। भन्छन्, ‘सपनाको दुनियाँमा नयाँ सपना थपिएको छ। उहाँहरूले आफ्ना छोराछोरी स्टोरीटेलर बनाउने सपना बुन्दै गर्दा म आफू पनि सही बाटोमा हिँडिरहेको रहेछु भन्ने महसुस हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .