सलमान खानको घरबाहिर गोली प्रहार गरेको आरोप लागेका अनुज कुमार थापानको बुधबार मृत्यु भएको खबर बाहिरिएको छ। अभियुक्त अनुज प्रहरी हिरासतमको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीको दाबी छ।
तर, अनुजका परिवारले भने हिरासतमा भएको आत्महत्याप्रति प्रश्न उठाएका छन्। थापानका भाइ अभिषेकले यो आत्महत्या नभई प्रहरीले हत्या गरेको दाबी गरेका छन्। ‘उनी आत्महत्या गर्ने मान्छे थिएनन्। हामी न्याय चाहन्छौं,’ उनले भने।
अनुजको परिवारले पोस्टमार्टम मुम्बईबाहिर गर्न पनि माग गरेको छ।
मृतकको जन्मगाउँका सरपञ्च मनोज गोदाराले यस विषयमा समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै यस प्रकरणमा एकातिर सुपरस्टार सलमान खान र अर्कोतिर सामान्य मजदुर रहेको बताए। दबाबमा आएर प्रहरीले उनको हत्या गरी आत्महत्याजस्तो देखाएको मनोजको भनाइ छ।
थापान बुधबार बिहान ११ बजे झुण्डिएको जानकारी प्रहरीले पाएको थियो। तर, अभियुक्त अनुजले आत्महत्या गरेको समयबारे भने खुलाइएको छैन। उनलाई बिहानै निकै गम्भीर अवस्थामा नजिकैको जीटी अस्पताल लगिएको थियो। उक्त अस्पतालका चिकित्सकले अनुजलाई सीएसएमटीस्थित सेन्ट जर्ज अस्पतालमा रेफर गरे, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
गत अप्रिल १४ का दिन मुम्बईको बान्द्रास्थित सलमान निवासबाहिर गोली प्रहारको घटना भएको थियो। गोली चलाएको आरोपमा मुम्बई प्रहरीले अप्रिल १६ का दिन विक्की गुप्ता र सागर पाललाई गुजरातको कच्छबाट पक्राउ गरेको थियो।
त्यसपछि प्रहरीले उनीहरूलाई हतियार आपूर्ति गरेको आरोपमा अनुज थापान र सोनुकुमार चन्द्र बिश्नोईलाई अप्रिल २५ मा पन्जाबाट पक्राउ गरेको थियो।
Shares
प्रतिक्रिया