कला


प्रेमभन्दा धेरै टाढा जान नचाहने कवि (भिडिओ)

प्रेमभन्दा धेरै टाढा जान नचाहने कवि (भिडिओ)

साहित्यका अनेक विधामा हात हालेका विप्लव अब नाटक लेख्ने धोको रहेको बताउँछन्। फोटो/भिडिओ : सरोज बैजु


लक्ष्मी बलायर
चैत २५, २०८० आइतबार ८:४९, काठमाडौँ

करिब दुई दशकअघि। कवि विप्लव प्रतीक पहिलोपटक हाइकुबारे जानकार भए। हुन त नेपाली साहित्यमा वि.सं २०१९ देखि नै हाइकु लेखन प्रारम्भ भइसकेको थियो। तर, विप्लवको त्यसअघि न हाइकुसँग चिनजान थियो, न चासो नै।

लेखक भूषिता वशिष्ठसँग भेट भएपछि मात्रै उनको हाइकुसँग परिचय भयो।

एकदिन उनी कविता वाचन गर्न भक्तपुर जाँदै थिए। बाटोमै उनको दिमागमा एउटा हाइकु फुर्‍यो।

त्यो हाइकु उनले भूषितालाई सुनाए। विप्लवले हाइकु सुनाएपछि भूषिताले पनि एउटा हाइकु सुनाइन्। जब भूषिताको हाइकु सुने, विप्लवको संवेदना मज्जाले छोएछ।   

विप्लवले सुनाएको हाइकु थियो:

सुख्खा पोखरी
छुप्लुङ् छुप्लुङ् 
बिना वर्षात्

सोहीताका एकदिन उनी जनकवि दुर्गालाल श्रेष्ठको घर पुगे। संयोग नै भनौँ, दुर्गालालले पनि विप्लवलाई हाइकुको महत्त्वबारे बुझाए। श्रेष्ठले भने, ‘हाइकु लेख्नेले शब्दलाई किफायत गरेर लेख्न जान्दछ, उसले मर्मस्पर्शी अभिव्यक्ति दिन सक्छ। हाइकु लेख्नेले कविता, कथा वा उपन्यास लेख्दा के होला?’

विप्लवले निकै आदर गर्ने व्यक्ति दुर्गालाल। हाइकुले स्पर्शी चिज लेख्न सिकाउँछ भनेपछि विप्लव हाइकु लेख्न प्रेरित भए। त्यसपछि सुरु भयो उनको हाइकु लेखन यात्रा।

उनी तल्लीन भएर हाइकु लेख्न थाले। आफ्ना अनुभूति अनि कल्पना समेट्दै उनले केही दिनमै सयवटा हाइकु लेखेर सके। समयसँगै ती हाइकुहरू कम्प्युटरमा पुगे। अनि बेलाबेला शब्दहरूको सम्पादन पनि भए। केही हाइकु त उनी कार्यक्रम अनि जमघटका बेला सुनाउँथे पनि।  

पुस्तककै रुपमा आफूले लेखेका हाइकुहरू आउँछन् भन्ने सोचेका थिएनन् उनले। कहिलेकाँही नसोचेको अनि नचिताएको पनि हुन्छ भनेझै नेपालयबाट विप्लवको हाइकुहरूको सङ्ग्रह ‘शाडेनफ्रोएडा’ प्रकाशित भइसकेको छ।

‘मैले हाइकु लेखे पनि यो छापिन्छ भनेर कल्पना गरेर लेखेको होइन। अनि संयोग कस्तो भयो कि परिचय भूषिताले गराइन्। धेरैवर्षपछि कोरोनाको बेला उनकै फोन आयो। त्यो हाइकु कहाँ छ, पब्लिकेसन नेपालयबाट छाप्नुपर्छ भनिन्। मैले पनि पठाएँ। उनले सुझावहरू दिएपछि त्यसलाई मैले केही फेरबेदल गरेँ। त्यो काम गर्दा हाइकु भनेको शब्दमार्फत एउटा इमेज क्रिएट गर्ने विधा रहेछ भनेर थाहा पाएँ। भूषिता र नेपालयको सहयोगले यो पुस्तक आएको हो,’ उनले भने।

पुस्तक छाप्ने पक्का भइसकेपछि शीर्षक पनि चाहियो। विप्लव पुस्तकको शीर्षक खोज्नतर्फ लागे। उनलाई एउटा त्यस्तो शब्द चाहिएको थियो, जसले पीडामा महसुस हुने आनन्दको भाव देओस्। त्यो शब्द खोज्दै जाँदा एकदिन उनले फेला पारे। तर, जर्मन भाषामा। ‘शाडेनफ्रोएडा’ ले हाइकुहरूको भावलाई प्रतिनिधित्व गर्ने उनको भनाइ छ।

भन्छन्, ‘यो पुस्तकको शीर्षक मैले डेढ वर्ष लगाएर जुराएको हुँ। सुरुमा भन्दा मलाई पनि गाह्रो भएको थियो। पछि बानी पर्यो। शाडेनफ्रोएडा भनेको कसैको पीडामा महसुस हुने आनन्द हो। मेरा सबै हाइकु रमाइलोमा निस्केको होइन। जति पनि छन्, त्यसको ब्याकड्रप पीडा हो। अझ दर्द भन्न रुचाउँछु म।’

हाइकुको लेखनको छुट्टै नियम हुन्छ। यसलाई पाँच-सात-पाँच अक्षरका तीन हरफमा लेख्ने गरिन्छ। तीन हरफ १७ वटा शब्दको बन्धन भए पनि हाइकु सुनेर पाठकलाई आनन्दको अनुभूति हुने उनको विश्वास छ।  

‘तीन पङ्क्ति जब निस्किन्छ। ओहो! यो त ठिकै लेखेछु भनेर एकप्रकारको आनन्दको अनुभूति भयो। यो पनि पीडाबाट आएको आनन्द नि त। मैलै हृदयबाट भोगेको पीडाबाट त आनन्द महसुस गरिरहेको छु। हुनसक्छ मेरो पीडा र दर्दबाट निस्किएका हाइकुहरू उहाँहरूले मनपराइदिनुहुन्छ। अनि आनन्दको महसुस हुन्छ,’ उनी भन्छन्। 

यस पुस्तकका अक्षरहरू कम्प्युटरका लिपि नभई स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित गरिएको हो। अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी पुस्तकमा आठ खण्डमा हाइकुहरू समेटिएको छ।

विप्लवकाअनुसार १६ औँ शताब्दीतिर हाइकु लेखन जापानबाट उदय भएको हो। जापानी कवि कावाहिमागी बासोको नाम हाइकुको विकासमा उच्च स्थानमा छ। त्योबेलाको हाइकुले गहिरो अर्थ दिने समेत उनले बताए।

‘त्योबेलाको हाइकु पढ्दा त्यसले गहिरो अर्थ दिन्छ। एउटा मात्रै अर्थ लाग्दैन। खासमा हाइकु भनेकै त्यस्तै हुनुपर्छ, सबैमा सम्प्रेषण होस्। तर एउटै लेयर हुनुभएन।’

उनको यो हाइकुहरूको सङ्ग्रह विशेष पाठकलक्षित छैन। जो साहित्यसँग नजिक छन्, तिनीहरूले उनका हाइकु बुझ्नेछन्।

‘लक्षित पाठकभन्दा पनि यसमा प्रष्ट रुपमा जे भन्न खोजेको छु। त्यो भनेको छु। सकेसम्म स्पर्शी चिज लेखौँ। र, जसले नेपाली भाषा पढ्न जानेका छन्, उहाँहरूले बुझ्नुहुन्छ। मेरो विचार वा कुनै कुरालाई मैले कसरी लिन्छु। मैले त प्रेम, पीडा र जीवनको दर्शन सेयर गर्ने हो। उहाँहरूलाई त्यो कुरासम्म पुग्न सजिलो होस् भनेर मेहनत गरेको छु,’ कवि विप्लवले भने।

लामो समयदेखि विप्लव कविता लेखनमा सक्रिय छन्। कविताभन्दा हाइकु के फरक रहेछ त?

‘ठयाक्कै यो नै त भन्न सक्दिनँ। यसमा अभ्यास गरिरहेको छु। कविता, गीत जे लेखे पनि त्यसले मान्छेको हृदयलाई स्पर्श गर्न सक्नुपर्छ। त्यसमा मेहनत गर्ने हो,' उनी भन्छन्, 'कविता लेख्दा समय धेरै लाग्छ। यसको मतलब हाइकुमा समय लाग्दैन भन्ने होइन। हाइकु तीन हरफमा भनिसक्नुपर्छ। कहिलेकाँही एकैचोटि तीनवटा लेख्न आउँदैन पनि। मलाई त हाइकु लेखन झन् रमाइलो लागिरहेको छ। अब त बोल्दा पनि हाइकुमा बोल्छु कि जस्तो लागिरहेको छ।’

विप्लवका धेरै कवितामा प्रेमिल भाव भेटिन्छन्। एउटा कवि संवेदनाभन्दा टाढा जान नसक्ने भएकाले आफ्ना कविता प्रेमिल लाग्ने गरेको उनको बुझाइ छ।

‘ईर्ष्या गर्दा हामी कहीँ पनि पुग्दैनौँ। तर, प्रेम गर्‍यौँ भने कहीँ न कहीँ पुग्छौँ। संसारभरि प्रेम सम्बन्ध, संवेदना, जीवनदर्शनको बारेमा मात्रै कविता लेखिएका छन्। कवि त्योभन्दा टाढा जान सक्दैनन्। जानु हुँदैन भनेको होइन। तर, म त्यसैमा पर्छु,’ उनी भन्छन्।

नाटक लेख्ने धोको
विप्लवले आफ्नो साहित्य जीवनमा थुप्रै विधामा काम गरिसके। उनका कविता होस् वा कथाले चर्चा पाएका छन्। विप्लवले रचना गरेका गीत पनि कालजयी बनेका छन्। हरेक विधामा सफल विप्लवलाई नाटकमा मज्जाले काम गर्न मन छ।

हुन त यसअघि विप्लवले अनुवाद गरेका दुईवटा नाटक मञ्चन भइसके। तर, आफैँले सिर्जना गरेर नाटक लेख्न मन लागेको सुनाउँछन्।

‘मलाई साहित्यको सबै विधा मनपर्छ। तर, मलाई अब नाटक लेख्न मन छ। नाटक भनेको पोयट्रीको ठूलो क्यानभास हो। त्यहाँ साहित्य, कविता, गीतसंगीत छ। त्यहाँ प्रकाश, ध्वनि सबै छ। प्रप्समा पनि काम हुन्छ। जीवन्त अभिनय छ। त्यसमा आकर्षण छ,’ विप्लवले भने, ‘मैले अनुवाद गरेका कृतिमा महाभोज र एउटा सपनाको अवसान मञ्चन भइसके। अब आफैँले एउटा नाटक सिर्जना गर्न मन छ। त्यसले बढी र विशेष समय माग्छ।’

सिर्जनाको बारेमा सबैका आ-आफ्नै बुझाइ छन्। कसैले सिर्जना कल्पनशीलताबाट आउने बताउँछन्। त कसैले सिर्जना भोगाइबाट प्रस्टफुटन हुन्छ भन्छन्। विप्लवले भने आफ्ना धेरैजसो सिर्जनाहरू भोगाइबाट आउने गरेको बताए।

‘सबैभन्दा ठूलो कुरा भोगाइ हो। त्यो मान्छेले कति ठक्कर खाएको छ। कति संवेदनशील भएर अर्काको पीडा महसुस गरेको छ। एउटा सर्जकमा त्यो किसिमको संवेदनशीलता चाहिन्छ। समाजलाई कसरी हेरिरहेको छ। देशको संस्कृतिदेखि इतिहासम्म के भइरहेको छ। देशदेखि संसारभरको इतिहास जान्न अध्ययनको जरुरी पर्छ। अध्ययनबिना कल्पनाशीलता र भोगाइले मात्रै हुँदैन। सुरुमा अध्ययन र भोगाइ त्यसपछि कसरी प्रस्तुत गर्ने भन्ने कल्पनाशीलता चाहिन्छ,’ विप्लवले भने।

एकान्त लेखनको आवश्यक पाटो
कवि विप्लव आफ्ना सिर्जना लेख्न एकान्त वातावरण मन पराउँछन्। कुनै पनि कुरामा केन्द्रित हुन एकान्त चाहिने उनको बुझाइ छ। भन्छन्, ‘लेखनको लागि एकदमै चाहिने कुरा भनेको एकान्त हो। जुन आधारभूत पनि हो। आफ्नो ध्यान जेमा छ, त्यसमा केन्द्रित हुन पनि एकान्त माग गर्छ। आफूले महसुस गरेको र दिमागमा ल्याएर आएको चिज केही भन्न खोजिरहेको त्यो चिज नितान्त मेरो लागि मात्र स्पर्शी हुन्छ वा अरु कसैले सुन्दा पनि हुन्छ। त्यो पत्ता लगाउने एउटा चेत रहनुपर्छ। यी सबै चिजले आफूलाई भन्न खोजेको कुरा बाहिर निस्किन्छ।’ 

हरेकक्षेत्रझै लेखनमा पनि सफल हुन अनुशासन जरुरी रहेको कवि विप्लव बताउँछन्। उनका अनुसार लेख्ने मान्छेले पनि कुन समयमा सुत्ने/उठ्ने र मानसिक स्वास्थ्यलाई कसरी ख्याल गर्ने भनेर सोच्नुपर्छ। अस्वस्थ्य मानिसले स्वस्थ रचना गर्न नसक्ने उनको दाबी छ।

कवि विप्लव प्रतीक नेपालको साहित्यिक माहोललाई कसरी हेर्छन् त? जवाफमा उनले भने, ‘मेरो मूल्यांकन गर्ने काम नै होइन। मैल मूल्यांकन गर्न थालेँ भने त्यसले मलाई बिगार्छ। प्रदुषित गर्छ। म आफ्नै काममा इमान्दारीपूर्वक लाग्नलाई समय पाइरहेको छैन। मैले कसलाई मूल्यांकन गर्ने? त्यो त पाठकले गर्छन् नि!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .