ad ad

कला


समीक्षा दाङ पुग्दा आएनन् दर्शक, २३ वटा मात्रै टिकट बिक्री भएपछि कार्यक्रम रद्द

समीक्षा दाङ पुग्दा आएनन् दर्शक, २३ वटा मात्रै टिकट बिक्री भएपछि कार्यक्रम रद्द

फाइल तस्बिर


नेपालखबर
चैत ११, २०८० आइतबार १७:४६, काठमाडौँ

दाङको तुलसीपुरमा आयोजित एक सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन पुगेकी चर्चित गायिका समीक्षा अधिकारी निराश भएर फर्किनु परेको छ।

समीक्षा शनिबार दिउँसो आफ्नो प्रस्तुति दिने गरी दाङको तुलसीपुर पुगेको अवस्थामा निराश हुनु परेको हो। ठूलो रकम खर्चिएर बोलाइएकी समीक्षाको प्रस्तुति हेर्न दर्शक ओइरिने विश्वासमा थियो आयोजक।

तर आयोजकले सोचेभन्दा ठिक उल्टो भयो। प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुरस्थित अरनिको मैदानमा आयोजना गरेको होली फेस्टिबल २०८० का लागि समीक्षासहित १६ जना कलाकार बोलाइको थियो।

दर्शकको राम्रो उपस्थिति गराएर राम्रो आम्दानी गर्ने योजनासहित आयोजकले त्यहीअनुसार तयारी पनि गरेको थियो। पहिलो दिन शुक्रबार केही मनोरञ्जनात्मक प्रस्तुति पनि भयो।

तर दोस्रो दिन शनिबारका लागि काठमाडौंबाट दाङ उत्रिएकी समीक्षाको कार्यक्रम हेर्न दर्शक नै आएनन्। आयोजक प्राकृतिक कला केन्द्रका अध्यक्ष चोभार पौडेलले आइतबार दिउँसो नेपालखबरसँगको कुराकानीमा समीक्षाको प्रस्तुति तय भएको कार्यक्रमका लागि १०० रुपैयाँ गोटाका २३ वटा मात्रै टिकट बिक्री भए।

‘समीक्षा चर्चित गायिका भएकाले उनको प्रस्तुति हेर्न हजारौँ दर्शक आउने अपेक्षासहित तयारी गरेका थियौँ’, उनले नेपालखबरसँगको कुराकानीमा भने, ‘महंगो खर्च गरेर समीक्षासहितलाई बोलाएका थियौँ। समीक्षा काठमाडौंबाट आएर तुलसीपुरको होटलमा बसेकी थिइन्। तर दर्शक नै नआएपछि हामीले उनलाई स्टेजमा बोलाएनौँ। हाम्रो अपेक्षाविपरीत केबल २३ वटा मात्रै टिकट बिकेर २३ सय आम्दानी भएको थियो। दर्शक नै नआएपछि कार्यक्रम स्थगित गर्नुपर्‍यो।’

पौडेलका अनुसार शनिबार र आइतबारका सबै कार्यक्रम स्थगित भइसकेका छन्। अब सोमबारका लागि एकजना कलाकारलाई मात्रै बोलाइएको छ। उनका अनुसार सोमबार चर्चित र्‍यापर जीबबले मात्रै प्रस्तुति दिने भएका छन्।

‘हामीले सोमबारका लागि कार्यक्रम राखेका छौँ तर त्यसमा जीबबको मात्रै प्रस्तुति हुनेछ’, उनले भने, ‘दर्शक नआएपछि हामीले अन्य कलाकारको प्रस्तुति राखेका छैनौँ।’

कार्यक्रममा दर्शक नआएपछि समीक्षालाई होटलबाटै फर्काइएको छ। अध्यक्ष पौडेलका अनुसार समीक्षालाई उनले पाउने पारिश्रमिकसहित काठमाडौं पठाइएको हो। 

कारण के त?
समीक्षाको प्रस्तुति हेर्न किन दर्शक आएनन् त? आयोजक संस्थाका अध्यक्ष चोभार पौडेलले यसको सटिक उत्तर दिनएनन्।

‘हामीले कार्यक्रम भब्य हुने सोचेका थियौँ। तर हाम्रो अनुमानविपरीत दर्शक नै आउनु भएन’, पौडेलले भने, ‘किन यस्तो भयो हामी पनि छक्क परेका छौँ।’

आयोजक संस्थाका अध्यक्ष पौडेलले यसो भनिरहँदा समीक्षाको कार्यक्रम हेर्न दर्शक नआउनुलाई पल शाहसँगको विवाद जोडिएको अनुमान छ।

पल शाहसँगको विवादपछि दाङमा समीक्षालाई प्रतिबन्ध घोषणा गरिएको थियो। उनलाई दाङमा हुने कुनै पनि कार्यक्रममा सहभागी नगराउने, नबोलाउने घोषणा गरिएको थियो। पलको गृहजिल्लामा समीक्षा बहिष्कार अभियान नै चलाइएको थियो। 

पलको गृहजिल्लामा यसअघि चलाइएको बहिष्कार अभियानलाई निरन्तरता दिँदै दर्शकले पनि उनको कार्यक्रम हेर्न नआएको अनुमान गरिएको छ। 

यसअघि पल शाह जेलबाट छुटेर जाँदा दाङमा आयोजित कार्यक्रममा दर्शक ओइरिएका थिए। शाहलाई हेर्नैका लागि दसौँ हजारले टिकट पनि काटेका थिए।

तर, पलको गृहजिल्लामा समीक्षाले तितो भोग्दै फर्किनु परेको छ। समीक्षाको प्रस्तुति बहिष्कारमा परेपछि अन्य १५ कलाकारले पनि निराश हुनुपरेको छ। 

अरनिको मैदान तुलसीपुरमा आयोजित होली फेस्टिबल २०८० मा प्रस्तुति दिन समीक्षासहित, र्‍यापर सुदीप भण्डारी (जीबब) र्‍यापर मिस्ट डी, गायक एमटी महर, मोडल करिश्मा ढकाल, गायक टंक खड्का र शान्तराम सेन्चुरीसहित १६ जनालाई बोलाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .