कला


अभिनेता तेज गिरी भन्छन्: 'उपहार'मा मेरो अभिनय सुधारिएको छ

अभिनेता तेज गिरी भन्छन्: 'उपहार'मा मेरो अभिनय सुधारिएको छ

नेपालखबर
फागुन २३, २०८० बुधबार ११:५६, काठमाडौँ

यही फागुन २५ गते प्रदर्शन हुने फिल्म 'उपहार'मा तेज गिरी र बेनिशा हमाल जोडी बनेका छन्।

यसअघि पनि फिल्म ‘प्रेमगन्ज’ उनीहरूले सँगै काम गरिसकेका छन्।

‘उपहार’ निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘प्रेमगन्ज’को प्रिमियरपछि आफूलाई ‘सँगै काम गर्नुपर्छ’ भनेको सम्झन्छन् तेज।

भन्छन्, ‘फिल्म प्रेमगन्जकै कारण म उपहारमा जोडिएँ। फिल्मका लागि दुई नायकको फाइनल भइसकेपछि म जोडिएँ। प्रेमगन्जमा बेनिशाजी र मेरो केमेस्ट्री सुहाएको देखेपछि ज्ञानेन्द्र दाइले मेरो जोडी बेनिशालाई राख्नुभएको रहेछ।’

तेजका अनुसार ‘उपहार’मा उनी र बेनिशा विवाहित जोडीका रुपमा छन्।

‘माया गर्ने जोडीले एकअर्काका अपेक्षा शतप्रतिशत खोज्दा र एकअर्कामा देखिएका कमजोरीका कारण सम्बन्धमा आएको दरार यो फिल्ममा छ। त्यो विछोड र दरार पीडादायी नै छ’, उनले भने।

निर्देशक ज्ञानेन्द्र देउजासँगको सहकार्य निकै राम्रो लागेको उनले बताए। उनका अनुसार निर्देशक ज्ञानेन्द्रले ‘अडियन्स प्वाइट अफ भ्यु’बाट फिल्म बनाएका छन्।

तेजको अनुभवमा पुराना निर्देशकसँग काम गर्नु सय किताब पढेर भन्दा एउटा विद्वान्‌को एक घण्टाको प्रवचनबाट धेरै कुरा सिकिन्छ।

भन्छन्, ‘पुरानासँगको अनुभव, कार्यशैली र काम गर्दा यी कुरा सिक्न पाएँ। मैले आफ्नो चरित्र जति निभाएको छु, त्यो मेरो सुधारिएको अभिनय पनि हो। निर्देशक र टिमको सहकार्यले नै यो सम्भव भएको छ’, उनले भने।

पुरानो ठूलो ब्यानरमा काम गर्दा मानसिक रुपमा आफूलाई असहज भएको अनुभवसमेत उनले सुनाए। 

‘म भित्र रहेको चिज देखाउन सक्दिनँ कि, निकाल्न सक्दिनँ कि भन्ने फिल हुँदोरहेछ। पुरानो टिमसँग काम गर्दा मैले दिएको चिजले उहाँहरूलाई सन्तुष्ट बनाउन सक्दिनँ हुँदोरहेछ। तर उहाँहरूले काम गर्ने वातावरण बनाइदिएपछि सहज भयो’, तेजले भने।

‘उपहार’मा आफ्नो चरित्रलाई तेज चुनौतिपूर्ण मान्छन्।

‘एउटा दृश्य अलिक भारी किसिमको छ, जहाँ बेनिशाजी र मेरो मायासहितको झगडा छ। त्यो नचाहँदा नचाहँदै सिर्जना भएको झगडा थियो’, उनी भन्छन्।

तेज ‘उपहार’को कथालाई समाजमा भएको मौलिक घटनाका रुपमा बुझ्छन्।

‘फिल्म हेर्दा जो कोहीले त्यो चरित्रभित्र आफूलाई अनुभव गर्न सक्छन्। यसमा महिला सशक्तीकरण, वर्ग संघर्षका कुरा छन्, जुन हाम्रो समाजमा जल्दोबल्दो रुपमा उठेका कुरा हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .