आगामी फागुन २५ बाट रिलिज हुने फिल्म ‘काँडेतार’ को ट्रेलर सार्वजनिक भएको छ। ‘जनयुद्ध दिवस’ को अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरमा सीमा अतिक्रमण विषयवस्तुलाई उठान गरिएको छ।
राष्ट्रिय भावनामा आधारित फिल्मको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु पेश गरिएको छ। फिल्मले नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने कुरामा जोड दिन्छ।
यसअघि देशभरका विभिन्न स्थानमा च्यारिटी शोमा प्रदर्शन गरिएको यो फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क प्रदान गरेको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशन तथा कलाकार नवल खड्काले काँडेतारको च्यारिटी शो र प्रचारप्रसार गर्दै जाँदा जनकपपुरमा प्रमुख जिल्ला अधिकारीले हल सञ्चालकहरूलाई फिल्म नदेखाउन निर्देशन नै दिएको बताए।
फिल्ममा नवलसहित गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय छ।
सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन्।
नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन्।
Shares

प्रतिक्रिया