कला


कमल र मेलिनाको जोडी: फ्यान हुँदै फक्रिएको प्रेमसम्बन्ध

कमल र मेलिनाको जोडी: फ्यान हुँदै फक्रिएको प्रेमसम्बन्ध

तस्बिरहरूः सरोज बैजु


लक्ष्मी बलायर
फागुन २, २०८० बुधबार ७:३५, काठमाडौँ

पाँच वर्षअघि कन्सर्टका लागि झापा पुगेका थिए गायक कमल खत्री। कमलले प्रस्तुति दिँइरहदा दर्शकदीर्घामा थिइन् मेलिना मैनाली पनि। सानैदेखि गीत गाउन सौखिन मेलिना कमलकी बिग फ्यान।

कलिलो उमेर अनि चञ्चले स्वभाव। मनपर्ने गायकलाई पहिलोपल्ट देख्दा मेलिना खुबै रमाएकी थिइन्। तर, सायदै सोचेकी थिइन्, मनपर्ने गायक नै एकदिन उनका प्रेमी बन्नेछन्।

तर संयोग, सेलेब्रिटी-फ्यानका रुपमा सुरु भएको उनीहरू सम्बन्धमा प्रेम फक्रियो। र, संगीतकै माध्यमबाट जोडिएका उनीहरू गतवर्षको असोज १६ गतेबाट जीवनसाथी बनिसकेका छन्।

आइतबार धापासीस्थित 'मेज रेस्टुरेन्ट' पुग्दा मेलिना कमलको भिडिओ बनाउन व्यस्त थिइन्। भ्यालेन्टाइनका लागि तय भएको सांगीतिक कार्यक्रमको प्रचारसामग्री बनाउन सघाइरहेकी थिइन् मेलिना।

भिडिओ बनिसकेपछि कमलले खुसी साटे, 'एउटै फिल्डको भएपछि निकै सहज हुँदोरहेछ। कहिलेकाहीँ हामी स्टेज कार्यक्रमको लागि सँगै गइरहेका हुन्छौँ। म्युजिक भिडिओमा पनि सँगसँगै काम गरिरहेका हुन्छौँ। जोसँग जे कामको लागि भेट हुने मान्छे हो। उसैलाई जीवनसाथी बनाउँदा साह्रै राम्रो हुँदोरहेछ।'

कमलका कुरा सुनेपछि मुसुक्क हाँसिन् मेलिना। प्रेमिल भावले कमलतिर हेर्दै उनले पनि श्रीमान्को तारिफ गरिन्, 'बिहेपछि केटा मान्छेहरू चेन्ज हुन्छन् भन्छन्। तर, ब्वाइफेन्डभन्दा पनि बुढो हुँदा उहाँबाट बढी माया र केयर पाइरहेकी छु।'

त्यसपछि कमल र मेलिनाले पुराना दिनहरू सम्झन थाले। चिनजानदेखि पहिलो भेटसम्मका कुरा।

झापाको कन्सर्टमा लाइभ प्रस्तुति हेरे पनि मेलिनाले कमलसँग भेट्न पाएकी थिइनन्। त्यस दिन भेट नभएपछि मेलिनाले कमललाई फेसबुकमा रिक्वेस्ट पठाइन्। 'हेलो नमस्ते' भनेर म्यासेज छाडिन्।

त्यतिबेला मेलिनाले भर्खरै गायन करिअर सुरु गरेकी थिइन्। उनको स्वर रहेको 'छोटो छ जिन्दगी' बोलको गीत रिलिजको तरखरमा थियो। रिक्वेस्ट पठाए पनि स्वीकृत हुने आशा थिएन। किनकि, कमल स्थापित गायक थिए।

सेलेब्रिटी भएपछि धेरैको फ्रेन्ड रिक्वेस्ट आइरहन्छ। मेलिनाको रिक्वेस्ट आएपछि कमलले एकचोटि प्रोफाइल हेरे। जहाँ 'छोटो छ जिन्दगी' को पोस्टर सेयर गरिएको थियो। एउटै फिल्डको भएपछि फेसबुकमा साथी बनेको सुनाउँछन् कमल। 

'फेसबुक हेर्दा संगीत क्षेत्रकै हो भन्ने थाहा पाएँ। उनको नयाँ गीत पनि आउँदै थियो। मेलिनाले नारायणगोपालका गीतहरू समेत गाएर भिडिओ राखेकी थिइन्। त्यो हेरेपछि राम्रो गाउने रहेछ भन्ने भयो,' खत्री भन्छन्, 'फेरि एउटै फिल्डको। मलाईचाँहि राम्रो गाउने कोही छ भने सहकार्य गर्न मन लाग्छ। त्यो हिसाबले मैले उसँग बोल्न खोजेको हो,' उनले भने।

त्यो पहिलो भेट
फेसबुकमा चिनजान भए पनि दुवैले एकअर्कालाई भेट्न पाएका थिएनन्। किनकि, कमल काठमाडौँमा बस्थे, मेलिना झापामै। २०७७ को असारतिर मेलिना 'छोटो छ जिन्दगी' गीतको रिलिजको लागि काठमाडौँ आइन्।

लकडाउन केही खुकुलो भइसकेको थियो। एक दिन कमलले मेलिनालाई भेट्न बोलाए। कमल सांगीतिक सहकार्य गर्नुपर्छ भनिरहन्थे। अवसर मिलिहाल्छ कि भनेर भेट्न राजी भइन् मेलिना।

'छोटो छ जिन्दगी रिलिज भएपछि धेरै राम्रो प्रतिक्रिया पाएकी थिएँ। धेरैले गीतको अफर गर्नुभएको थियो। त्यसैबेला कमलजीले पनि सहकार्य गर्नुपर्छ भन्नुभएको थियो,' उनले भनिन्, 'त्यो बेला फोटोसमेत खिच्न नपाएको। त्यति ठूलो कलाकारले बोलाउँदा किन नजाने भन्ने भयो। मेरो स्वर मन पराएर सहकार्य गर्न पाउँछु कि भन्ने लागेर पनि भेट्न गएँ।'

मेलिनालाई पिकअप गर्न कमल कोटेश्वर पुगे‍। कता जाने, केही योजना थिएन। कारमै घुम्दै कुराकानी गर्न थाले। मेलिनाले कमलकै गीत 'आत्मामा तिम्रो आत्मामा' गीत गाएर सुनाइन्। त्यसपछि दुवैजना गोदावरी पुगे।

तर, कोरोनाकै कारण पार्क खुलेको थिएन। बाहिरकै एक रेस्टुरेन्टमा कुराकानी गरे।

पहिलो भेटमै कमलले मेलिनालाई निकै मन पराएछन्। मेलिनाको स्वरदेखि उनको बानीव्यवहारले प्रभावित भए कमल। मेलिनासँग नजिकिन दिनहुँजस्तो म्यासेज गर्न थाले।

तर, मेलिनालाई कमलले धेरै केयर गरेको मन परेन। 'एकचोटि भेट्दैमा किन यति धेरै केयर गरेको होला?' उनलाई शंका हुन थाल्यो। धेरैचोटि कल/म्यासेज आउन थालेपछि मेलिनाले कमललाई थर्काइन्।

मेलिनाको रुखो बोलेपछि कमलले पनि बोल्न छाडे। मेलिनाले थर्काएपछि निकै दु:ख लागेको सुनाउँछन् कमल।

'पहिलो भेटमै मेलिना निकै मन परेकी थिइन्। उनको स्वर पनि मिठो लाग्यो। केटी मान्छे यता कोही छ कि छैन भनेर मैले केयर गर्न थालेको, मेलिनाले उल्टै थर्काइन्। उनले त्यसरी रुखो बोल्दा चित्त दुख्यो। त्यसपछि दूरी बढाएँ,' कमल सम्झन्छन्।

पशुपतिको भेटबाट बढ्यो निकटता
मेलिना र कमल नबोलेको पाँच/छ महिना बितिसकेको थियो। फेसबुकमा एकअर्काको फोटोमा लाइक गरे पनि बोलचाल बन्द थियो।

एकदिन मेलिना दिदीसँगै पशुपति पुगेकी थिइन्। जहाँ उनकी दिदीको नजर कमल खत्रीतर्फ गयो। पशुपतिमा आयोजित कार्यक्रममा कमल प्रमुख अतिथिको रुपमा पुगेका थिए। मेलिनाकी दिदी पनि कमलकी प्रशंसक थिइन्। कमललाई देखेपछि दिदी अनिताले भेट्न खोजिन्। दिदीका खातिर मेलिनाले पनि कमललाई फोन गरिन्।

कमलले फोन उठाएर आउन भने। त्यसपछि दुवैजना कमल भएको ठाउँतर्फ गए। कार्यक्रम चलिरहँदा कमल र मेलिना सानो स्वरमा कुरा गर्न थाले। पशुपतिमा पुगेकी मेलिनाले कहाँ झुट बोल्न सक्थिन् र! आफूले रुखो बोलेको भन्दै कमललाई सरी भनिन्। मेलिनाले सरी भनेपछि के चाहियो र! कमलको मन त्यसै पग्लिहाल्यो।

दिनहुँ कुराकानी हुन थालेपछि कमल र मेलिनाको भेटघाट पनि बाक्लिन थाल्यो। एकअर्काको केयर गर्दागर्दै मायामा परेको पत्तो समेत भएन।

'अनि प्रेम प्रस्ताव चाहिँ कसले राख्नु भयो नि?'

'हामीले एकअर्कालाई आइ लभ यु भन्नै परेन। एकअर्काप्रति गर्ने व्यवहारले मन पराउँछौँ भन्ने थाहा भइसकेको थियो। जति ठूलो मान्छे भएपनि उहाँमा कहिल्यै घमण्ड देखिनँ। अरुलाई इज्जत गर्ने अनि मायालु स्वभावले म उहाँतर्फ ढल्किसकेकी थिएँ,' मेलिनाले हाँस्दै भनिन्।

कमलले पनि मेलिनाको बानी र व्यवहारले मन तानेको सुनाए। भन्छन्, 'मेलिना उमेरले मभन्दा सानो भए पनि व्यवहारले परिपक्व थिइन्। आफूभन्दा पनि मेरो बारेमा सोच्थिन्। मलाई निकै केयर गर्थिन्। त्यो कुरा मैले नोटिस गरिरहेको थिएँ। यी कुराहरूले म मेलिनाको प्रेममा परेँ।'

पहिलो सहकार्य
'द भोइस अफ नेपाल ३' मा सहभागी भएसँगै चर्चामा छाइन् मेलिना। तर, नकआउट राउन्डबाट उनको भोइससँगको यात्रा टुंगियो।

पहिल्यैदेखि कमल मेलिनासँग सहकार्य गर्न चाहन्थे। भ्वाइसबाट आउट भएसँगै कमल र मेलिनाको पहिलो गीत 'फिक्का फिक्का' सार्वजनिक भयो। कमलकै शब्द र संगीतबद्ध गीतलाई दर्शकश्रोताले निकै मन पराए। टिकटकमा पनि यो गीत निकै भाइरल भयो।

पहिलो सहकार्य नै हिट हुँदा निकै खुसी लागेको मेलिना सुनाउँछिन्।

भन्छिन्, 'लकडाउनको समयमा फिक्का फिक्का टिकटकमा निकै चलेको थियो। त्यतिखेर नै भोइसमा गाएको गीत पनि चर्चामा थियो। झन् पहिलो सहकार्यको चर्चा हुँदा खुसी लागेको थियो। त्यतिखेर मलाई सबैले नोटिस गरिरहनुभएको थियो। मैले अवसर पनि निकै पाइरहेको थिएँ। मलाई उहाँचाँहि लक लागेजस्तो भयो। मेरो लागि उहाँ लक्की मान्छे हो।'

कमल पनि मेलिनासँगको सहकार्य निकै जमेको मान्छन्। 'मेलिना पनि मेरो लागि लक्की छिन्। पहिलो मायापछि मैले हिट गीत दिन सकेको थिइनँ। फिक्का फिक्काले मलाई फेरि चर्चा दिलायो। यो मेरो युट्युबमा धेरै हेरिने गीत पनि हो। त्यसले गर्दा निकै खुसी लाग्छ,' खत्रीले भने।

'फिक्का फिक्का' हिट भएसँगै कमल र मेलिनाले मिडियामा एकसाथ इन्टरभ्यु दिन थाले। सांगीतिक प्रस्तुतिको अफर आएसँगै उनीहरू देश/विदेशका कार्यक्रममा समेत पुग्न थाले। त्यसपछि नै हो उनीहरूको अफेयरको खबर छाएको।

मिडियामा प्रेमसम्बन्धबारे समाचार आउँदा कमल र मेलिनाका परिवारले थाहा पाइसकेका थिए। परिवारबीच कुरा चलेपछि दुवैले प्रेमसम्बन्धलाई बिहेमा परिणत गरे।

ख्याल राख्ने श्रीमान् अनि बुझ्ने परिवार पाउँदा दंग छिन् मेलिना। 'म घरमा ६ जनाको परिवारमा हुर्केकी हुँ। मलाई खाना पकाएर परिवारलाई खुवाउन पनि निकै मन पर्छ। म ग्रुपमा पनि एड्जस्ट गर्न सक्छु। त्यसैले खासै गाह्रो भएन। फेरि बुवाममी निकै बुझ्नुहुन्छ। मलाई हेटौँडा जाँदा माइत गएजस्तो हुन्छ।'

सहयात्रीसँगै सांगीतिक जोडी पनि
'फिक्का फिक्का' बाट सुरु भएको मेलिना र कमलको सांगीतिक सहकार्य अहिले पनि जारी छ। गीत होस् वा सांगीतिक कार्यक्रम। दुवैजना एकसाथ पुगिरहेका हुन्छन्। बिहेपछि सांगीतिक जोडी बन्न पाउँदा दंग छन् उनीहरू।

'हामीलाई दुवै सँगसँगै कार्यक्रममा गइरहेका हुन्छौँ। हाम्रो सांगीतिक सहकार्यलाई पनि दर्शकले मन पराउँदा निकै खुसी लाग्छ। हामी दुवैको स्वरमा शिवरात्रीको भजनसहित 'माया लै लै २' पनि गीत पनि आउँदैछ,' कमल सुनाउँछन्।

कमल र मेलिनाको उमेर अन्तर धेरै छ। जसकारण मेलिना र कमललाई उमेर अन्तरको प्रश्नले हैरान बनाउँछ। मेलिना भने मायाप्रेममा उमेरले खासै प्रभाव नपार्ने बताउँछिन्।

'धेरैले उमेर ग्याप भन्नुहुन्छ। म भोइसमा आउँदा अलि सानै थिएँ। त्यही सोचेर मलाई अझै पनि सानो भन्नुहुन्छ। गाउँघरतिर कति धेरै उमेर ग्याप हुन्छ। अझ उहाँहरूले इच्छाविपरीत बिहे गरिन्थ्यो। तर, हामीले त मन पराएर बिहे गरेका हौँ। मायाप्रेममा एज ग्यापले खासै प्रभाव पार्दैन जस्तो लाग्छ,' उनी भन्छिन्।

कमल र मेलिनाले म गीत हुँ तिम्रो २, माया यसरी म तिमीलाई गरुँ, माया बेइमानी, हातको बिँडी सल्केर लगायतका गीतमा सहकार्य गरिसकेका छन्। यो प्रेमिल जोडी भ्यालेनटाइन डेका कार्यक्रममा गुञ्जिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .