ad ad

कला


एक दशकपछि नयाँ एल्बम ल्याउँदै कर्मा ब्यान्ड

एक दशकपछि नयाँ एल्बम ल्याउँदै कर्मा ब्यान्ड

नेपालखबर
माघ २५, २०८० बिहिबार १५:२३, काठमाडौँ

नेपाली सांगीतिक ब्यान्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ। कर्मा ब्यान्डलाई व्यवस्थापन गरिरहेका आदि ग्रुपअन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिररहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत विजय अधिकारीले नयाँ एल्बम ‘हेर’ ल्याउन लागेको जानकारी दिए।

‘नेपाली संगीत र कलाकारहरूलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपअन्तर्गतको एएसक्यूले उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउनका लागि सहकार्य गरेको छ,’ एएसक्यूका सिइओ विजय अधिकारीले भने, ‘यसै सन्दर्भमा नेपाली चर्चित सांगीतिक ब्यान्ड कर्मालाई व्यवस्थापन गरिरहेका छौं। हामीहरु कर्मा ब्यान्डको नयाँ एल्बम हेर रिलिजको तयारीमा छौं।'

कर्मा ब्यान्डको नयाँ एल्बम हेरमा समावेश हुने गीतहरूको रेकडिङ सिध्याएर म्युजिक भिडिओ निर्माण भइरहेको छ। म्युजिक भिडियो निर्माणको काम सिध्याएपछि कर्मा ब्यान्डको एल्बम सार्वजनिक गरिनेछ।

उनका अनुसार कर्मा ब्यान्डको ‘हेर’ एल्बममा आठ वटा गीतहरू समावेश हुनेछन्। यस एल्बममा समावेश अधिकांश गीतहरूमा कर्मा ब्यान्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ।

एएसक्यूले यसअघि नेपाली सांगीतिक ब्यान्ड ‘कन्दरा’को पुनर्आगमनको सिलसिलामा पोखरामा भव्य कन्सर्टको आयोजना गरेको थियो।

‘हेर’ कर्मा ब्यान्डको ६ औं एल्बम हो। यसअघि कर्मा ब्यान्डले सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ सार्वजनिक गरेको थियो। सन् २००० मा सार्वजनिक भएको दोस्रो एल्बम ‘हुक्का’ एल्बममा समावेश ‘हुक्का मेरो’ गीतले कर्मा ब्यान्ड स्रोता तथा दर्शकमाझ परिचित गराएको थियो। कर्मा ब्यान्डले सन् २००३ मा ‘एस.एम.एस.’ र सन् २००७ मा ‘कर्मा’ एल्बम सार्वजनिक गरेको थियो।

नेपाली गीतलाई पश्चिमा संगीतसँग फ्युजन गराउन माहिर कर्मा ब्यण्डले सन् २०१३ मा ‘नयाँ सपना’ एल्बम सार्वजनिक गरेको थियो।

केही वर्षदेखि अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेको कर्मा ब्यान्डले क्यानडा, अष्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा रहेका नेपाली स्रोता तथा दर्शकमाझ सांगीतिक प्रस्तुति दिइसकेको छ।

कर्मा ब्यान्डको ‘हुक्का मेरो’ गीतसहित ‘मौनतामा’, ‘कहाँ होला घरबार’, ‘मार्यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’लगायत गीतहरू चर्चामा छन्।

ब्यान्डले गत वर्ष ‘कारबारी छाता’ गीत सार्वजनिक गरेको थियो। कर्मा ब्यान्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्रचार्य र रिग्जिन वाङ्गेल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले आवद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .