ad ad

ग्लोबल


पाकिस्तानको चुनाव : दुई पाका नेताको प्रतिस्पर्धा र एक युवा ‘किङमेकर’

पाकिस्तानको चुनाव : दुई पाका नेताको प्रतिस्पर्धा र एक युवा ‘किङमेकर’

नेपालखबर
माघ २५, २०८० बिहिबार १५:२५,

पाकिस्तानको आम चुनावमा बिहीबार मतदान भइरहेको छ। चुनावमा तीन प्रमुख प्रतिद्वन्द्वी छन्। 

पीटीआई पार्टीका नेता पूर्वप्रधानमन्त्री इमरान खान जेलमा छन्। उनलाई चुनावमा उठ्नै प्रतिबन्ध लगाइएको छ। तर, यतिबेला पाकिस्तानको सबैभन्दा लोकप्रिय नेता उनी नै हुन्। 

चुनावको केही दिनअघि मात्र गुप्त सूचना चुहाएको भन्दै १० वर्ष, भ्रष्टाचारका लागि १४ वर्ष र अवैध विवाहका लागि ७ वर्षको कैद सजाय उनलाई सुनाइएको छ। 

७१ वर्षीय खानको पार्टीका हजारौँ मानिस जेलमा छन्। अरु पनि स्वतन्त्र उम्मेदवार बन्न बाध्य छन्।

तैपनि यो चुनावमा खान सर्वत्र छन्। टिकटक र युट्युबमा उनको र्‍याली हुन्छ। आर्टिफिसियल इन्टेलिजेन्सका सहयोगमा उनको आवाजमा चुनावी सभाहरुलाई सम्बोधन गरिन्छ।

तर, उनको चुनावको लोकप्रिय चिह्न ब्याट भने खोसिएको छ। यसले चुनावमा असर पार्न सक्छ। किनभने पाकिस्तानको करिब ४० प्रतिशत जनसंख्या निरक्षर छ। 

चुनावमा सेनाको छाया हाबी छ। पाकिस्तानको राजनीतिमा सेनाको भूमिका निकै ठूलो छ। सत्तामा उक्लिन चाहने नेताका लागि जर्नेलहरुको साथ सहयोग महत्वपूर्ण मानिन्छ।

तीन पटक प्रधानमन्त्री भइसकेका नवाज सरिफ सेनाले नरुचाएको नेता मानिन्थे। तर, यसपटक सेनाले उनलाई साथ दिएको चर्चा छ।

भर्खरै अदालतले उनीविरुद्ध लागेका विभिन्न मुद्दाहरु पन्छाइदिएको छ।

एक्लै बहुमत नआए ७४ सरिफले बिलावल भुट्टो जर्दारीसँग गठबन्धन गर्न सक्छन्। राजनीतिक घरानाका यी युवा नेतालाई अहिले ‘किङमेकर’ मानिएको छ।

उनी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका ३५ वर्षीय छोरा हुन्। बेनजिरको २००७ मा हत्या गरिएको थियो। अक्सफोर्डमा अध्ययन गरेर फर्केका बिलावलले तलब दोब्बर पार्ने र घृणाको राजनीति अन्त्य गर्ने वाचा गरेका छन्।

चुनावमा ४४ वटा पार्टी सहभागी छन्। उनीहरुले तल्लो सदनका २६६ सिटका लागि प्रतिस्पर्धा गर्नेछन्। महिला र अल्पसंख्यकका लागि थप ७० सिट छुट्याएको छ।

चुनावपछि नयाँ संसदले अर्को नयाँ प्रधानमन्त्री चुन्नेछ।

कुनै पनि पार्टीले सीधा बहुमत प्राप्त नगरे सबैभन्दा ठूलो पार्टीले गठबन्धन बनाउन सक्छ। 

के छन् मुख्य मुद्दा?
पछिल्लो समय पाकिस्तानमा अव्यवस्था र भाँडभैलो चलिरहेको छ। नेताहरुको प्रयास, आतंकवादी हमला भइरहेका छन्। 

आणविक हतियार भएको पाकिस्तानको छिमेकीहरुसँग तिक्त सम्बन्ध छ। कस्मिरलाई लिएर भारतसँग लामो समयदेखि दुस्मनी जारी छ। 

सरिफ र जर्दारीले अमेरिकासँग अझ निकटता अपनाउने अपेक्षा गरिएको छ। इमरान खानले भने अमेरिकाले आफूलाई सत्ताबाट हटाउने षड्यन्त्र गरेको आरोप लगाएका थिए।

चीन पाकिस्तानको प्रमुख सहयोगी बनेको छ। 

आम मानिसको जीवनलाई भने आर्थिक संकटले सबैभन्दा ज्यादा असर गरेको छ। यस्तो अवस्थामा  जनताको ठूलो समर्थन नरहेको सरकार बन्ने र जनताले चुनावमा धाँधली भएको मान्ने अवस्था आयो भने ठूलो सामाजिक अशान्ति पनि आउन सक्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .