भारतीय नायिका तथा मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झुटो समाचार बनाएर सबैलाई चकित बनाएकी छन्। शनिबार भिडिओ सन्देश जारी गर्दै पुनमले आफू जीवितै रहेको बताएपछि मानिसहरू आश्चर्यचकित परेका हुन्।
हिजो शुक्रबार मात्र उनको आधिकारिक इन्स्टाग्राममा पोस्ट गर्दै पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको सन्देश दिइएको थियो। तर महिलाहरूलाई उक्त रोगबारे सचेत गराउन आफूले मृत्युको नाटक गरेको बताउँदै आफू जिउँदै रहेको जानकारी गराएकी हुन्।
उनको यो नाटक देखेर फिल्म निर्देशक विवेक अग्निहोत्रीदेखि अभिनेत्री कुशा कपिलासम्मले निन्दा गरेका छन्।
‘द कश्मीर फाइल्स’ फेम निर्देशक विवेक अग्निहोत्रीले ट्विट गर्दै लेखेका छन्, ‘सोसल मिडियाको बढ्दो चुनौतीलाई हेरेर यहाँ पनि केही नियम हुनुपर्छ भन्ने मलाई लाग्छ। विशेष गरी समाचार निर्माता र आफूलाई प्रभावकारी भनाउनेहरूका लागि। यो सनसनीखेज र नौटंकीलाई सामान्य बनाइनु खतरनाक छ। मृत्युको झुटो समाचार त सुरुवात मात्र हो। अब के हुन्छ हेरौँ।’
यस्तै चलचित्र निर्माता अशोक पण्डितले भिडिओ सन्देश जारी गर्दै अभिनेत्री पुनमले धेरैको भावनामा खेलवाड गरेको टिप्पणी गरेका छन्।
उनले पुनमले पाठेघरको मुखको क्यान्सरसँग लडिरहेका महिलाहरूको खिल्ली उडाएको आक्रोश पोखे। उनले भनेका छन्, ‘सिंगो देशलाई झुक्याएर यस्तो नाटक रच्ने अभिनेत्री पुनमविरुद्ध मुद्दा दर्ता गर्न सरकारका सबै कानुनी निकायलाई आग्रह गर्दछु । यस घटनामा संलग्न पीआर एजेन्सीलाई पनि कारबाही हुनुपर्छ।
Shares
प्रतिक्रिया