सन् २०२३ को अन्त्यतिर बक्स अफिसमा शाहरुख खान र प्रभास एकआपसमा भिड्दैछन्। शाहरुख स्टारर बलिउड फिल्म ‘डंकी’ २१ डिसेम्बरमा रिलिज हुँदैछ। २२ डिसेम्बरबाट प्रभास अभिनीत दक्षिण भारतीय फिल्म ‘सलार’ हलमा लाग्दैछ।
रिलिजको तरखरमा हुँदा यी दुवै फिल्मको अग्रिम बुकिङ खुलिसकेको छ। पहिलो दिन राजकुमार हिरानी निर्देशित ‘डंकी’ को अग्रिम बुकिङ आक्रामक देखिएको छ। यस फिल्मले पहिलो दिनको टिकट बिक्रीबाट १ करोड २४ लाख भारतीय रुपैयाँ कमाइसकेको छ। पहिलो दिन यस फिल्मको हिन्दीतर्फ २ हजार ८३६ शोको ३३ हजार ७७० टिकट बिक्री भइसकेको छ।
त्यसैगरी, सलारले पनि पहिलो दिन सबै भाषाको एडभान्स बुकिङबाट १ करोड ५ लाख भारु कमाइसकेको छ। सलारको हिन्दी भाषामा ६७ शोको ९७२ टिकट बिक्री हुँदा २ लाख भारु कलेक्सन भएको छ। फिल्मको ८६७ शोका लागि जम्मा ५१ हजार २८० टिकट बिक्री भएका छन्। जसमध्ये तेलुगुको टिकटबाट मात्रै सलारले ८० लाख ३० हजार कमाएको हो।
केजीएफ फेम्ड प्रशान्त निलको निर्देशन तथा कथा र पटकथा रहेको यस फिल्ममा प्रभासका साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।
नर्थ अमेरिकामा अग्रिम बुकिङको मामिलामा ‘डंकी’ ले रेकर्ड कायम गरेको छ। पहिलो दिन नर्थ अमेरिकामा १ करोड ७४ लाख भारु बराबरको डंकीको १५ हजार टिकट बिक्री भइसकेका छन्।
सिनेहवको रिपोर्टअनुसार डंकीले नर्थ अमेरिकामा ‘जवान’लाई समेत पछि पार्दै बलिउड फिल्मको रेकर्ड तोडिदिएको छ।
नेशनल चेन मल्टिप्लेक्स हलहरूबाट पनि ‘डंकी’का १० हजार बढी टिकट सोल्डआउट भइसकेका छन्। भारतीय फिल्म समीक्षक सुमित केडालले १० हजार टिकट बिक्री भइसकेको एक्समा उल्लेख गरेका छन्। यस फिल्ममा शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ।
भारतीय फिल्म उद्योगमा सलार र डंकीबीचको प्रतिस्पर्धालाई यस वर्षकै सबैभन्दा ठूलो भिडन्तको रूपमा लिइएको छ। यी दुवै फिल्मका मुख्य कलाकार शाहरुख र प्रभासको फ्यान फलोइङ पनि धेरै छन्।
शाहरुखका अघिल्लो फिल्म ‘पठान’ र ‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेका छन्। प्रभासको पछिल्लो हिट फिल्म सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ थियो। त्यसपछि रिलिज भएका साहो, राधे श्याम र आदिपुरुष बक्स अफिसमा नराम्ररी पछारिए। यस्तो अवस्थामा अभिनेता प्रभास हिट फिल्मको खोजीमा छन्।
Shares

प्रतिक्रिया