खोटाङमा यातायात सेवामा अवरोध गर्दै हिँडेका आठजना पहिचानपक्षधर आन्दोलनकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
कोशी प्रदेश नाम राखिएको विरोधमा आन्दोलित संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरात, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समितिका सदस्य संगीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राई पक्राउ परेका हुन्।
आइतबार बिहान दिक्तेलको किरात चौकमा यातायात बन्द गराइरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। उनीहरूले एमालेको अभियान रोक्ने क्रममा पक्राउ परेका नेता कार्यकर्ताको नि:शर्त रिहाइ माग गरेका छन्।
यसअघि नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राको टोलीलाई सडकमा रुख ढालेर अवरोध गर्दै हिँडेपछि प्रहरीले खोटाङबाटै करिब दर्जन नेता कार्यकर्तालाई पक्राउ गरेको थियो। माओवादीका पूर्व नेता गोपाल किरातीसहितलाई अहिले पनि प्रहरीले हिरासतमा राखेको छ।
Shares
प्रतिक्रिया