ad ad

कला


‘मिस युनिभर्स’को उपाधि निकारागुआलाई, नेपाल शीर्ष २० मा सीमित

‘मिस युनिभर्स’को उपाधि निकारागुआलाई, नेपाल शीर्ष २० मा सीमित

‘मिस युनिभर्स २०२३’ को उपाधि निकारागुआकी सेनिसस पलासियोसले जितेकी छिन्


नेपालखबर
मंसिर ३, २०८० आइतबार १२:५९, काठमाडौँ

‘मिस युनिभर्स २०२३’ को उपाधि निकारागुआकी सेनिसस पलासियोसले जितेकी छिन्।

आइतबार बिहान एल-साल्भाडोरामा भएको फिनालेमा उनले ताज पहिरिएकी हुन्।

दक्षिण अमेरिकी देश निकारागुआले पहिलो पटक मिस युनिभर्सको ताज जितेको हो। आमसञ्चार र पत्रकारितामा स्नातक गरेकी २३ वर्षीया सेनिसस पेसाले टेलिभिजन होस्ट हुन्।

त्यसैगरी, थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनरअप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेन्ड रनरअप घोषित भइन्।

मिस युनिभर्समा नेपालीबाट जेन दीपिका गारेट प्रतिस्पर्धामा उत्रिएकी थिइन्। अन्तर्राष्ट्रिय मिडियामा गारेटको निकै चर्चा भए पनि नेपाल टप २० भन्दा माथि उक्लन सकेन।

टप १० मा अटाउन नसके पनि ब्युटी पेजेन्टको इतिहासमा यसपटक नेपालले सर्वाधिक चर्चा बटुल्यो। प्लस साइजकी प्रतियोगी भएकाले दीपिकाले सौन्दर्य प्रतियोगिताको मापदण्ड भत्काएको भन्दै तारिफ बटुलिन्।

प्रारम्भिक चरणमा दाबेदार प्रस्तुति दिएकी उनको आत्मविश्वासको पनि निकै तारिफ भयो।

दीपिकाले लेखेकी छिन्, ‘मलाई साथ र सहयोग गर्नुहुने सबैलाई आभार व्यक्त गर्न चाहन्छु। म संसारभर वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताको स्टेरियोटाइप तोड्न पाउँदा गर्वित गर्छु। मेरो जीवन परिवर्तन गर्ने यो क्षणलाई सधैँ कदर गर्नेछु।’

मिस युनिभर्सको नेपालको आयोजक उमङ क्रिएसनको प्रबन्ध निर्देशक उद्धव अधिकारीले नेपाल शीर्ष २० मा पर्नु नै ठूलो उपलब्धि रहेको बताए।

‘मिस युनिभर्सजस्ता प्रतियोगितालाई संसारभरि नै आफ्नो देशको सा‌ंस्कृतिक तथा प्राकृतिक महत्त्वलाई विश्वमा चिनाउने प्लेटफर्मको रूपमा राज्यहरूले हेर्ने गरेका छन्। यसले पर्यटन प्रबर्धनमा पनि महत्त्वपूर्ण सहयोग गर्दै आएको देखिन्छ। यस्तोमा नेपाल जस्तो पर्यटनको भरपुर सम्भावना बोकेको देशले पनि राज्यका तर्फबाट यस्ता प्रतियोगतामा सहयोग गर्नुपर्छ,’ निर्देशक उद्धव अधिकारी भन्छन्।

यसपटक मिस युनिभर्समा ९० देशका प्रतियोगीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .