ad ad

कला


काठमाडौँमा ‘महाजात्रा’को छायांकन धमाधम

काठमाडौँमा ‘महाजात्रा’को छायांकन धमाधम

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १३:३१, काठमाडौँ

चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृ‌ंखला ‘महाजात्रा’को छायांकन काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको छ। यही कात्तिक १५ गतेदेखि मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा छायांकन भइरहेको हो।

चलचित्रका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत छायांकनमा व्यस्त छन्। 

जीवन समृद्ध तुल्याउने सपना र आपत्‌कालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने चलचित्रको छायांकन बुधबार नरदेवीमा गरियो।

छायांकन हेर्न आइपुगेका स्थानीयले शृ‌ंखलाको प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेका थिए। उक्त स्थानबाट गन्तव्यका लागि निस्किएका अधिकांश व्यक्ति एकछिन रोकिन्थे। 

आफ्नो प्रिय शृ‌ंखला र कलाकारलाई अगाडि पाउँदा धेरैले ‘चलचित्र कहिले हेर्न पाइन्छ’ भन्ने जिज्ञासा राख्थे।

निर्देशक प्रदीप भट्टराईले योजनाअनुरुप नै छायांकन भइरहेको जानकारी दिए। उनले भने,‘हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ। युनिटका सम्पूर्ण सदस्यले मेहनतका साथ काम गरिरहनुभएको छ।’

उनको निर्देशकीय शैली र कौशलता देखेर टिममा जोडिएका नयाँ सदस्य खुसी देखिन्थे। ‘जात्रा’ र ‘जात्रै जात्रा’ कै निरन्तरता भएकाले कथा कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा स्वाभविक नै हुन्छ। निर्देशक भट्टराईले चलचित्रले प्रस्तुत गरिरहेको भावमै रहेर कथा तयार गरिएको बताए। अर्थात् चलचित्रमा हासो र रोदनको मिश्रण छ।

अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृ‌ंखला दर्शकको प्रिय बनेको छ। यसले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाइसकेको छ। नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन्। चलचित्रको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ-नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ। 

दृश्यमा व्यस्त अभिनेता विपिन कार्कीले छायांकनमा रमाइलो भइरहेको बताए। ‘हामी तेस्रोपटक काम गर्दै छौँ । अधिकांशलाई के गर्ने र कसरी गर्ने भन्ने ज्ञान छ। यसपटक महाजात्रा छ, दर्शकले गर्ने अपेक्षालाई बुझेर नै काम गरिरहेका छौँ’, अभिनेता कार्कीले भने। 

अभिनेता रवीन्द्र झाले ‘मुन्ना’ अवतारलाई दर्शकअनुरुप नै प्रस्तुत गरिने बताए। उनले यो चलचित्र आफ्ना लागि खास रहेको भन्दै काठमाडौँमा अधिकांश र तराई केही छायांकन हुने बताए। 

अघिल्लो दुई शृ‌ंखलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहने छ।

‘जात्रा’ मा गायकका रुपमा जोडिएका आचार्य यस शृ‌ंखलामा अभिनेता बनेका छन्। चलचित्रको निर्मातामा दीपेश खत्री र यज्ञश्वर पौडेल छन्। ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायांकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ। 

यसमा जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपक प्रताप अधिकारी प्रोडक्सन डिजाइनर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .