कला


दसैँ–तिहार बिदामा हेर्नुस् यी ३ थ्रिलर फिल्म

दसैँ–तिहार बिदामा हेर्नुस् यी ३ थ्रिलर फिल्म

श्रीजु सरल
कात्तिक १, २०८० बुधबार १९:७, काठमाडौँ

दसैँको बेला छ। र यो समयलालाई कसरी रोमाञ्चक बनाउने भन्ने सबैलाई लाग्ने नै भयो। दसैँ बिदा सकिएपछि फेरि पनि काममा त फर्किनु नै छ। परिवार र आफन्तको साथमा बसेर मीठो-मीठो परिकार बनाउने, खाने त छँदैछ। त्योबाहेक पनि कतिले घुम्ने योजना बनाउनुभएको होला, पढ्न सौखिनहरूले किताबहरूको जुगाड वा किनमेल गर्नुभयो होला।

साँच्चै, सिनेमाप्रेमीहरूको तयारी के कस्तो छ? तयारी गरिसक्नुभएको भए त ठीकै छ। गरिसक्नुभएको छैन भने मलाई मनपरेका थ्रिलर जनराका केही फिल्महरू सिफारिस गर्न चाहन्छु।

यो भनिरहँदा यी फिल्म तपाईंले हेरिसक्नुभएको हुनसक्छ। तर हेरिसक्नेले पनि दोहोर्याउँदा फरक नपर्ने फिल्म हुन् यी। यो कुरामाथि तपाईंको असहमति  पक्कै नहोला। त्यसोभए आउनुस्, सुरु गरौँ।

१. आइज विदाउट अ फेस
आइज विदाउट अ फेस सन् १९६० को फ्रेन्च हरर ड्रामा फिल्म हो। उस्तै शीर्षकको जिन रेडनको उपन्यासलाई निर्देशक जर्ज फ्रान्जुले दृश्यमा उतारेका हुन्।

सस्पेन्सबाट सुरु हुने यो फिल्मको कथा केही समय नबित्दै हरर जनरामा अटाउन जान्छ। कथा केबारे हो लगभग थाहा भइसक्दा समेत दर्शकलाई बाँधेर राख्नसक्नु फिल्मको एउटा विशेषता हो। 

स्पोइल नगरी भन्नुपर्दा फिल्ममा एक पात्र छन् जसलाई हामी असल र खराबको तराजुमा पेन्डुलमजसरी घरी यता घरी उता पाइरहन्छौँ। अझै गहिराइमा पुगेर भन्ने हो भने फिल्ममा एउटा डाक्टर बाबुलाई ग्रे जोनमा देखाइन्छ जसले आफ्नी छोरीलाई यति धेरै माया गर्छ कि उसप्रति दर्शकलाई एक किसिमको घिन लागिदिन्छ। यद्यपि, तपाईं उसलाई घृणा गर्न भने सक्नुहुन्न।

आजभन्दा ६३ वर्षअघि बनेको यो फिल्मले फिल्मलाई हरर बनाउन अदृश्य आत्मा नै नचाउनुपर्छ वा कुनै न कुनै पात्रलाई कुनै न कुनै किसिमको पर्सनालिटी डिसर्डर नै हुनुपर्छ भन्ने अन्धविश्वासलाई अन्त्य गरिदिएको छ। पटकथा बलियो छ भने एउटा सिम्पल नकाबले पनि हरर जनरामा धेरै गर्न सक्नेरहेछ भन्ने फिल्मले पुष्टि गर्छ।

त्यसो त फिल्ममा केही दृश्य अति डिस्टर्बिङ छन् भने केही दृश्यले तपाईंको आत्तिरहेको मनलाई सान्त्वना पनि दिनेछन्। क्राइम-हरर भइकन पनि यो फिल्मले जसरी एउटा 'फाइट फर फ्रिडम'को सन्देश दिएको छ त्यसले फिल्मलाई जुगौँ बचाइराख्नेछ। चाहे पहिलोपटक हेर्नुस् या पटकपटक हेर्नुस् 'आइज विदाउट अ फेस'ले तपाईंलाई निराश पार्नेछैन।

२. साइको
हरर-थ्रिलर जनरा भन्नासाथ अलफ्रेड हिचककको नाम स्वतः स्मृतिमा आउनु स्वाभाविक हो। हो, यिनै अमेरिकी निर्देशकको सन् १९६० कै फिल्म हो- साइको। यो पनि रोबर्ट ब्लोचको उस्तै नामको उपन्यासमा आधारित रहेर बनाइएको सस्पेन्स थ्रिलर सिनेमा हो।

फिल्मले अन्तिमसम्म सस्पेन्स होल्ड गरेर राख्न सकेको छ जसले दर्शकलाई फिल्मको कथाबाट भड्किने कुनै मौका दिनेछैन। फिल्मले पात्रको चरित्र निर्माणमा सतही रूपमा मात्र नभएर गहिराइदेखि नै काम गरेको छ। जसकारण दर्शकले पात्र र तिनको मनस्थितिलाई भित्रैदेखि बुझिदिन वा छामिदिन सक्छन्।

पात्रको मनोविज्ञानलाई क्रमैसँग खोतल्ने यो फिल्मले दर्शकलाई स्प्लिट पर्सनालिटी डिसर्डरको जगमा उभिएर कथा सुनाउँछ।

हिचककको यो ब्ल्याक एन्ड ह्वाइट सिनेमा ब्ल्याक एन्ड ह्वाइट स्क्रि नमा भएकै कारण मात्र क्लासिक सिनेमाका नामले चिनिएको होइन। फिल्म हेरेको दशकौंपछि पनि तपाईं बरु

घटनाक्रम बिर्सिनुहोला तर केही दृश्य र विशेषगरी मुख्य पात्रको त्यो थ्रिलिङ लुक्स तपाईं बिर्सिनुहुने छैन।

३. झिग्राना
विश्व सिनेमाको सिफारिस गर्दागर्दै अचानक स्वदेशी सिनेमाको सम्झना कसरी भयो होला? यो दुर्लभ स्थिति हुनसक्छ तर असम्भव पक्कै होइन।

सन् १९६० मा बाहिर 'साइको', 'आइज विदाउट अ फेस' जस्ता सिनेमा बनिरहँदा नेपालमा फिल्म बनाउने न त संस्कृति भित्रिसकेको थियो न त प्रविधि!

खैर, सिनेयात्रामा ढिलै उदाउँदा उदाउँदै पनि सन् २०१५ मा नेपाली सिनेमाले पनि थ्रिलर जनरामा एउटा उल्लेख्य काम पस्कियो- 'झिग्राना'। झिग्राना एउटा साइको-थ्रिलर-सस्पेन्स सिनेमा हो। जुन आफ्नो जनरामा सफल बन्न पुगेको छ। दर्शकमा पूर्वानुमानहरूलाई लत्याउँदै फिल्मले अन्तिमसम्म सस्पेन्स होल्ड गरेर राख्न सकेको छ।

एउटा एनजीओको युवा टोली एउटा मिसनका लागि निस्किन्छन्। पुग्नुपर्ने गन्तव्य नपुग्दै उनीहरू झिग्राना नामक गाउँमै बाटो बिराएर अलमलिन्छन्। पिकनिक हिँडेजस्तै गरी हिँडिरहेका उनीहरूबीच तब समस्या सुरु हुन्छ जब एकजना साथीको मृत्यु हुन्छ।

फिल्मले ह्युमरसँगसँगै दर्शकलाई कदम कदममा थ्रिल दिन्छ। कथाको बहावसँगै दर्शक पनि सँगसँगै बगिदिन्छन्। मनोविज्ञानमा आधारित यो फिल्म नेपाली थ्रिलर सिनेमामध्येको एउटा राम्रो सिनेमा हो।

जाँदाजाँदै, काठमाडौँ उपत्यका भित्र र बाहिरका सीमित हलहरूमा समेत यतिबेला साइको-थ्रिलर जनरामा बनेको 'बसेन्जी' नामक नेपाली फिल्म प्रदर्शनरत छ। तपाईं थ्रिलर-हरर सिनेमा हेर्न रुचाउने मान्छे हो भने विश्वस्तरमा कहलिएका सँगसँगै उस्तै जनरामा बनेका केही स्वदेशी सिनेमा पनि अवश्य हेर्नुहोस्। आखिर, यति ठूलो विश्वमा हामी कहाँनेर छौँ- यो पक्कै हाम्रो चासोको विषय हुनु जरुरी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .