ad ad

कला


वीर रसको कविताजस्तो ‘मिसन रानीगञ्ज’

वीर रसको कविताजस्तो ‘मिसन रानीगञ्ज’

श्रीजु सरल
असोज २०, २०८० शनिबार २०:२१, काठमाडौँ

अक्षय कुमार अक्सर बायोपिकमा देखिने गर्छन्। त्यसो त पछिल्लो समय बलिउड सुपरहिरो सिनेमामा बढी रमाइरहेको देख्न सकिन्छ। तर, यसअघि पनि केशरी, एयरलिफ्ट, रुस्तमजस्ता बायोपिकमा  काम गरिसकेका अक्षयले यसपटक पनि यथार्थका हिरोलाई इतिहासको सुरुङबाट बाहिर  निकालेर प्रकाशमा ल्याएका छन्।

सन् १९८९ मा पश्चिम बंगाल, भारतको रानीगंजस्थित कोइलाखानीमा पसेको बाढीमा फसेका ६५ खानी-मजदुरलाई खानी इन्जिनियर जसवंत सिंह गिलले सफल उद्दार गरेका थिए। इतिहासको यही यथार्थ घटनामाथि दीपक किंग्रानीले लेखेको कथामा आधारित भएर विपुल के. रावलले पटकथा तयार पारेका हुन् भने यश फिल्मको निर्देशन टिनु सुरेश देसाइले गरेका हुन्। टिनु सुरेशले यसअघि पनि अक्षयलाई नै लिएर 'रुस्तम' जस्तो चलचित्र बनाइसकेका छन्।

त्यसो त ऐतिहासिक घटनामाथि बनेको फिल्मको कथा आधाभन्दा ज्यादा दर्शकलाई त पक्कै थाहा भइसकेको हुनुपर्छ। यो कथालाई टिनु सुरेशको मिसन रानीगंजले कत्तिको न्याय गरेको छ त?

पहिलो दृश्य कार्यालयमा घुसखोरी छिर्न नदिने शीर्षकमा अक्षय अभिनित पात्र जसवंत सिंह गिलको धेरैथोरै एक्सनबाट सुरु हुन्छ। यो ओपनिङ दृश्यले जसवंत सिंहको आदर्श व्यक्तित्व र उनको कामप्रतिको बफादारीलाई देखाउँछ। त्यो लगत्तैको नाचगान फिल्ममा जबर्जस्ती राखिएको महसुस हुँदैन। कथाको बहावसँगै बगेको गीतले जसवंत सिंह र उनकी पत्नीबीचको सम्बन्धको गहिराइलाई देखाउन खोजेको छ। यद्यपि, फिल्मको मुख्य कथामा भने यसले राम्रो-नराम्रो कुनै फरक पार्दैन।

फिल्मको कथा आफैमा दमदार र उदाहरणीय छँदैछ। फिल्मलाई यदि कविता मान्न सकिन्छ भने मिसन रानीगंज वीर रसमा लेखिएको एउटा कविता हो। फिल्म हेर्दैगर्दा कतिपय ठाउँमा दर्शकको छाती गर्वले ढक्क फुलिदिन सक्छ। तर, फिल्ममा करुण रसको भने कमी देखिन्छ। संवेदनशील दर्शकले केही दृश्यमा गर्वको आँसु बगाउन सक्लान् तर, यति मार्मिक दुर्घटनासम्बन्धी फिल्ममा त्यस्ता दृश्य भने छैनन्, जहाँ दर्शक ती मजदूर तथा तिनको परिवारको पीडामा आफै पनि छटपटाउन्। फिल्मले जसवंत सिंहलाई बुद्धिमानी र निर्भीक पात्र देखाउने लोभमा उसलाई एउटा मानव देखाउन भने चुकिरहेको हो कि?

फिल्मभित्र त्यस्ता कति ठाउँहरू छन् जहाँ जसवंत सिंहको मानव हृदयको बाँध फुट्न सक्थ्यो। उभित्रको करूण रस छचल्किन सक्थ्यो। तर, उसलाई बुद्धिमानी इन्जिनियर र निर्भीक पात्र भइरहनुबाट फुर्सद नै मिल्दैन। कुमुद मिश्राले निभाएको आर.के. उज्ज्वलको पात्रको मानवीय चरित्र र संवेदनाको अभिव्यक्तिमा जति समझदारीका साथ काम गरिएको छ, त्यति नै समझदारीसहित मुख्य पात्र जसवंतमाथि पनि काम गरिएको हुन्थ्यो भने फिल्मले मानवीय संवेदनशीलतालाई यथेष्ट मात्रामा अभिव्यक्त गर्न सक्थ्यो। जसले गर्दा पात्र र तिनको अनुभूतिसँग दर्शकहरू एकाकार भइदिन सक्थे। यसो भन्न सकिन्छ, पटकथाले वीरताको बाटो नबिराओस् भन्ने ध्याउन्नमा विपुल के. ले पात्र विकासमा आवश्यक समय दिन सकेनन्। फलस्वरूप, फिल्मको न्यारेटिभ लिनियर लागिदिन्छ।

यद्यपि, केही पात्रहरूको पृष्ठभूमिमा मेहनत गर्दा दर्शकले कतै न कतै उनीहरूसँग भावनात्मक रूपमा जोडिने बाटो भने पाएका छन्। विवाह छिनेर बाबु मरेबाँचेको खबर नहुँदा आत्तिएकी छोरी, मालिक बेपत्ता हुँदा अलपत्रिएको बफादार कुकुर! त्यसो त मिसन भाँड्न गरिएको असहयोग, मजदुरहरूको जीवनमरणमाथि गरिएको राजनीति। फिल्ममा यस्ता उल्लेखनीय दृश्य तथा घटनाहरूको कमी भने छैन। फिल्मको ब्याकग्राउन्ड स्कोर पनि भड्किलो लाग्दैन।

तर, बाढीको दृश्य भने सुरुवातमा जसरी देखाइयो पछिसम्म पनि त्यसको भयलाई त्यही मात्रामा देखाउन सकिएको भए? पछिल्लो समय पानीलाई छोडेर कथाले ग्यासलाई समाउँछ। त्यसले उत्तिकै भयपूर्ण वातावरण निर्माण गर्न नसकेको हो कि? खैर, बायोपिक हो, वास्तविकतालाई तोडमरोड गर्न भएन तर, जे हो त्यसैको प्रस्तुतिमा भने अझै तीव्रता ल्याउन सकिन्थ्यो कि भन्ने चाहिँ अवश्य महसुस भइदिन्छ।

बेलाबेला देखिने सन्ध्याकालीन आकाशको रातोपनले खतराको संकेत गरिरहेझैं लागिदिन्छ। अनि एक ठाउँ जब उद्दारमा लागिपरेका मानिसहरूले हरेस खाइदिन्छन् तर पनि मालिकको व्यग्र प्रतीक्षामा छटपटिएको कुकुरले आश मार्दैन। उक्त दृश्यले आजको ढोंगी मानवतामाथि एउटा चोटिलो व्यङ्ग्य गरेको छ। जे होस्, फिल्म हेरेर निस्किरहँदा तपाईंलाई जसवंतको चरित्रप्रति ईर्ष्या नजाग्ला भन्न सकिन्न।

अतिरञ्जित नगरी भन्ने हो भने पनि हाल क्यूएफएक्सलगायत हलहरुमा प्रदर्शनरत यो फिल्मले मानवताको खोजी गर्दै वीरताको उदाहरण पेस गर्छ। यो फिल्ममा धेरै कुरा छैनन् तर जति छन्, चाहिने कुरा छन्। कमसेकम आफूले समाएको सस्पेन्स थ्रिलरको हात यसले अन्तिम घडीसम्म छोडेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .