ad ad

कला


प्रिय हिरोसिमा, मोन अमोर!

प्रिय हिरोसिमा, मोन अमोर!

श्रीजु सरल
असोज १९, २०८० शुक्रबार १८:२१, काठमाडौँ

केही महिनाअघि क्रिस्टोफर नोलनको चलचित्र 'ओपनहायमर' प्रदर्शन भएथ्यो। कस्तो डर र त्रासका कारण जापानको 'हिरोसिमा' र 'नागासाकी'मा बम खसालियो र उक्त बम प्रक्षेपणले बम बनाउन अगुवाइ गरेका वैज्ञानिक 'ओपनहायमर'को करिअर र मनोविज्ञानमा कस्तो असर पार्यो भन्ने कथा उक्त फिल्मले बताएको थियो। 

तर, त्यही बमको असर जापानमा कस्तो रह्यो, विश्वका अन्यत्र देशमा, पीडित आम मानिसहरूमा कस्तो रह्यो 'ओपनहायमर'ले बताउँदैन। हिरोसिमा, मोन अमोर!- हिरोसिमाको सेटमा बनेको यो फ्रेन्च चलचित्रले ती असरहरूबारे बोल्छ कि? सायद, बोल्छ पनि र बोल्दैन पनि! आउनुस्, अलान रेनेको यही चलचित्रमाथि कुरा गरौँ।

बिहीबार ‘चलचित्र समीक्षक समाज (फिक्सन)ले युरोपियन युनियन (ईयू) को सहकार्यमा मार्टिन चौतारीमा अलान रेने निर्देशित यो चलचित्र प्रदर्शन गरेको थियो। यस फिल्मलाई बुझ्न सर्वप्रथम त रेनेलाई बुझ्नुपर्ने हुन्छ।  

वृत्तचित्रबाट चलचित्र निर्माण-निर्देशनमा प्रवेश गरेका रेनेको यो पहिलो फिचर फिल्म हो। रेनेले फ्लासब्याकको राम्रो प्रयोग गरेर क्षतविक्षत हिरोसिमाको कथा भन्ने प्रयास गरेका छन्। डायलग, मोनोलगजस्ता विभिन्न टेक्निक उनले यसमा प्रयोग गरेको देखिन्छ। यसमा उनले फुटेज तथा डकुमेन्ट्री क्लिप्सको समेत प्रयोग गरेका छन्। 

यो सबै बताइरहँदा एउटा छुटाउनै नहुने कुरा पनि भनिहालूँ, कि रेने सधैँ भन्ने गर्थे, 'मलाई जतिसक्दो साहित्यिक कथा देऊ, त्यसलाई फिल्म बनाउने जिम्मा मेरो!' हो, उनी स्क्रिप्ट वा स्क्रिनप्लेमाथि आधारित रहेर फिल्म बनाउनभन्दा साहित्यिक लेखनलाई प्रत्यक्ष दृश्यमा उतार्न रुचाउँथे। त्यसकारण पनि हुनसक्छ उनका कामहरू उनका समकालीन निर्देशकका तुलनामा पृथक महसुस हुन्छ। उनका कुरा तपसिलमा आउँदै रहलान्। अब भने विशुद्ध फिल्मबारे कुरा गरौँ।

प्रोलग 
हिरोसिमा, मोन अमोर हेर्न बसिरहँदा फिल्मको प्रोलग अर्थात् प्रारम्भिक दृश्यदेखि नै तपाईंको सक्रिय सहभागिता देखिनेछ। तसर्थ, फिल्मको सुरुवाती दृश्यलाई 'थट् प्रोभोकिङ' भन्न सकिन्छ। त्यो दृश्य हेरेर मनमा केही कुरा नखेलाई बस्नु सम्भव छैन। खरानी, धुलो र बालुवा, चिल्लो- टल्कने स्वस्थ त्वचा अनि त्यो आलिङ्गन! 

रूपान्तरणको यो सिलसिलाले तपाईंलाई सारा फिल्मको थिम केही सेकेण्डभित्र छर्लङ्ग पारिदिनेछ। खैर, फिल्मको थिम र कथा पृथक कुरा हुन्। प्रोलगपछि हामीसँग हेर्नका लागि सिङ्गो फिल्म बाँकी हुनेछ। यो त ओपनिङ मात्र... माफ गर्नुस्, यो त एउटा 'दमदार ओपनिङ' मात्र न हो!

कन्ट्रास्ट
सन् १९५९ मा बनेको यो ब्ल्याक एन्ड ह्वाइट सिनेमा हो। ब्ल्याक एन्ड ह्वाइट जसरी एउटा पर्फेक्ट कन्ट्रास्टको उदाहरण हो यो फिल्म। यसले त्यस्ता अरू कति कन्ट्रास्ट आफूभित्र संगालेको छ। ध्यान दिएर हेर्नुभयो भने फिल्ममा तपाईं विगत र वर्तमानको कन्ट्रास्ट देख्नुहुनेछ। युद्ध र प्रेम, आफैमा पनि अर्को एउटा पर्फेक्ट कन्ट्रास्ट हो। फिल्मभित्र फिल्म खिचिँदै छ, केटो उसलाई सोध्छ, 'के सम्बन्धी बन्दैछ यो फिल्म?' ऊ भन्छे, 'शान्तिसम्बन्धी' त्यति नै बेला फिल्मको सेटमा बमले घाइते हिरोसिमावासीहरूको दर्दनाक जुलुस निस्किन्छ! शान्तिसम्बन्धी फिल्म? त्यो पनि हिरोसिमामा? 

वास्तवमा, कन्ट्रास्ट नै यो फिल्मको एउटा सौन्दर्य हो जसलाई रेनेले एउटा सबटेक्स्चुअल मेटाफोरको रूपमा प्रयोग गरेका छन्। रेने सायद यही भन्न चाहन्छन्- खरानी भइसकेको सहरमा फेरि पनि फूलहरू फुल्न सक्छन्।

त्यसो त फिल्ममा दुईपटक दुई रंगका बिरालो देखिन्छन्। रेनेले यस फिल्ममा कन्ट्रास्टले दिने सौन्दर्यलाई कथा भन्ने शैलीका रूपमा यथासक्य प्रयोग गरेका छन्।

हिरोसिमाको कथा
हिरोसिमा, मोन अमोरले हिरोसिमाको कथा भन्छ त? फिल्ममा केटो उसलाई भन्छ, 'तैँले हिरोसिमालाई कत्ति पनि देखेकी छैनस्' । केटी जिद्दी गर्छे, 'म हस्पिटल घुमेँ, चारपटक त म्युजियम नै गएँ। मैले हिरोसिमालाई मज्जाले देखेकी छु।' केटो आफ्नै अडानमा छ, केटी आफ्नै! तर, हिरोसिमाबारे केटो आफै कतै केही बोल्दैन। बीचमा कतै रेने आफ्ना पात्रहरूमार्फत् भन्छन्, 

'अतीतलाई बिर्सिनु जति डरलाग्दो कुरा हो, सम्झिनु पनि उति नै भयानक हुन्छ!' 

त्यसो त सुनिन्छ, हिरोसिमाको कथा भन्ने फिल्म बनाउने प्रस्ताव हुँदा रेने भन्थे रे- हिरोसिमाको कथा भन्न सकिने कथा होइन, बरु 'हिरोसिमाको कथा भन्न नसकिने कथा हो' भन्नेबारे चाहिँ म फिल्म बनाउन सक्छु। 

मनोविज्ञान 
मनोविज्ञानमा रुचि राख्ने दर्शक यदि तपाईं हो भने फिल्म हेरिरहँदा तपाईंलाई स्विस मनोवैज्ञानिक कार्ल यङको सम्झना हुनसक्छ। यङको 'थ्योरी अफ स्याडो'ले 'डार्क फेमनिन' बारे कुरा गर्दा भन्छ कि समाजका कारण अक्सर महिलाहरू आफ्ना संवेदना, इच्छा, चाहना, भावनाहरू दबाउन बाध्य हुन्छन्। जसकारण ती उनका मस्तिष्कको सबैभन्दा गहिरो र अँध्यारो कुनामा गएर बस्छन्। यङकै भाषामा भन्ने हो भने ती थाहै नपाई बाहिर निस्किरहेका हुन्छन्। जसकारण यस्ता महिला 'रहस्यमयी' देखिन्छन् र 'आकर्षक' लाग्दछन्।

फिल्ममा पनि केटो उसलाई भन्छ, 'तँ बोल्दा म बुझ्नै सक्दिनँ कि तँ सत्य बोलिरहिछेस् या फेरि झुटो!' अर्को एक ठाउँमा केटो फेरि भन्छ, 'तँ यसरी विरक्त देखिएकी थिइस् कि त्यो विरक्तिले जुनै पुरुषमा पनि माया पलाउन सक्थ्यो।' 

यङको यही 'डार्क फेमनिन थ्योरी' माथि टेकेर अन्य धेरै 'फेमनिन थ्योरी' जन्मिएका छन् जसले कालान्तरमा डार्क फेमिनन मुभमेन्टकै रूप पनि लियो। सन् १९६३ मा बेट्टी फ्रिड्यानको 'फेमिनन मिस्टिक' नामक किताबको सफलतापछि  महिलावादको दोस्रो लहर सुरु भएको मानिन्छ भने अहिले विश्वव्यापी रूपमा 'डार्क फेमनिन इरा' नामक ह्यासट्यागको प्रयोग बढ्दो देखिन्छ। 

यङले उल्लेख गरेको उक्त डार्क स्याडोलाई आफूमाथि हाबी हुन नदिएर त्यसलाई नै सचेत भएर प्रयोग गरी आफ्नो शक्तिका रूपमा प्रयोग गर्नु यो अभियानको लक्ष्य रहेको देखिन्छ। 

फिल्ममा पनि केटीले आफ्नो 'डार्क पास्ट'लाई उर्जाका रूपमा प्रयोग गरेकी छ। त्यसो त फिल्मभर नै हिरोसिमाको कोलाहललाई फरक नजरले हेर्नु, युद्धका घाउहरूलाई निको हुँदै गरेको देख्नु, पीडाले छटपटाएका गर्भवती महिलाहरूलाई दीनहीन नदेखेर साहसी देख्नु उभित्रको स्याडोमाथि उसको आफ्नो नियन्त्रण रहनुको संकेत हो।

जब उसलाई महसुस हुन्छ, म यो मान्छेसँग सहजै खुल्न सक्छु र यो मान्छेले मलाई सजिलै बुझ्न सक्छ तब उसलाई फर्किएर पेरिस जान मन हुँदैन। आफ्नो नैतिक पतन हुनसक्ने यो स्थिति अर्थात् 'फिलिङ अफ गिल्ट'लाई उसले आफ्नो शक्तिमा रूपान्तरण गर्छे। ऊ आफै आफ्नो मनको कुरा केटोलाई बताउँदिन। ऊ मनमनै भन्छे, 'मलाई पछ्याउँदै आइज, अंगालोमा राख् र मलाई जान नदे' तर, मनभित्र यो सब चलिरहँदा पनि ऊ केटोबाट भाग्न छोड्दिन। यसरी एकातिर ऊ आफ्नो मस्तिष्कलाई झुक्याउन सफल हुन्छे र अर्कोतिर केटो आफूप्रति कुन हदसम्म लगाव राख्छ भन्ने कुराको मूल्यांकन गर्छे। ऊ तबसम्म भाग्छे जबसम्म उसलाई यकिन हुँदैन कि केटो उसलाई वास्तवमै चाहन्छ, जबसम्म उसको मस्तिष्कलाई महसुस हुन्न कि यसमा 

उसको केही दोष छैन, ऊ परिस्थितिको वशमा परी। यसरी ऊ आफ्नो रहस्यमय गुणको प्रयोग गरेर केटोलाई र आफ्नो अवचेतनलाई आफ्नो वशमा पार्छे। 

प्रेम
'हिरोसिमा, मोन अमोर' अर्थात् 'हिरोसिमा, मेरी माया' ! नाममै माया बोकेको फिल्मको चर्चा गर्नु र पात्रहरूको प्रेमकथा नखोतल्नु? यो पक्कै सुहाउँदो नहोला। 

जम्मा २ रात, १ दिन सँगै बिताउँदा पनि उनीहरू एकापसमा यसरी नजिकिए कि केटी भन्छे, 'ऊ मेरो शरीरमा यसरी ठिक्क हुन्छ मानौँ म हात हुँ, ऊ मेरो पञ्जा।' हुन पनि, केटी कहिल्यै कसैसँग नखोलेको आफ्नो कालोभन्दा कालो अतीत एउटा अपरिचितसँग छताछुल्ल पोखिदिन्छे। र उसका साथका लागि ऊ आफ्नो नैतिक पतनको खतरासमेत मोल्न तयार छे। 

केटोको त के कुरा गर्नु? ऊ त वश उसप्रति यसरी सम्मोहित छ जसरी फूलप्रति कुनै पनि मौरी हुनेगर्छ। 

दुई फरक भूगोलका, फरक भाषाका, फरक संस्कृतिका उनीहरूलाई यो समेत हेक्का रहँदैन कि हामीबीच के-के फरक छन्? एकअर्कालाई नामसमेत नसोधेरै उनीहरू एकअर्कामा लिप्त भइदिन्छन्, सोध्ने मौका आउँछ र पनि सोध्दैनन्। बस्, एकको नाम हिरोसिमा र अर्कोको नेभर।

जाँदाजाँदै, बमले ध्वस्त भएको हिरोसिमाको कथा भन्न खोजेको भए पनि फिल्मले हिरोसिमाको होइन नेभरको कथा भन्छ जहाँ जर्मनको निर्मम मृत्यु र फ्रान्सको मरेतुल्य अधमरो जीवनको झल्को पाइन्छ। यो सब केटी उर्फ नेभरको मुखबाट सुनिरहँदा सुन्नेको हृदय कटक्क खान्छ नै। सुनाउन सकिएको नेभर (फ्रान्स)को कथा त यति दर्दनाक छ। सुनाउनै नसकेको, सम्झिनै समेत नसकेको हिरोसिमाको कथा अझै कति दर्दनाक होला? 

वास्तवमै, हिरोसिमाले जे भोग्यो, जति भोग्यो, जति घाउ र चोटहरू लिएर बाँच्यो, अब दोहोर्याएर उसले कहिल्यै त्यस्ता अँध्यारा दिनहरू खेप्न नपरोस्। खरानी भइसकेको हिरोसिमा आज पुन: मलिलो भएको छ, अब त्यहाँ फूलहरू फुल्नेछन्। अब त्यहाँ सधैँ शान्ति छाउनेछ। हिरोसिमाले आफ्नो अँध्यारो विगतलाई अब शक्तिमा रूपान्तरण गरेको छ।

तिमी यसरी विरक्त देखिएका छौ, जसलाई हेरेर जो कोहीमा पनि माया पलाउन सक्छ। प्रिय हिरोसिमा, मोन अमोर! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .