ad ad

कला


‘पशुपति प्रसाद २ : भष्मे डन’ को बुकिङ खुला

‘पशुपति प्रसाद २ : भष्मे डन’ को बुकिङ खुला

नेपालखबर
असोज ११, २०८० बिहिबार १२:१३, काठमाडौँ

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ। सिनेमालाई लिएर दर्शकमाझ माग उच्च बनेको छ।

नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमासमेत सिनेमाप्रति दर्शकको माग उच्च देखिएकाले वितरकले रिलिजभन्दा एक महिना अगाडि नै अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन्। 

अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा सिनेमाका लागि अग्रीम टिकट बुकिङका लागि शो खोलिएका हुन्।

नेपाली सिनेमाप्रति देखिएको यो क्रेजले नेपालमा मात्र नभएर विदेशी बजारसमेत सिनेमाले बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ। सिनेमाको मेलबर्न प्रिमियरको तालिकासमेत सार्वजनिक भैसकेको छ। मेलबर्नको चाइना टाउनमा सिनेमाको प्रिमियर अक्टोबर २३ तारिखमा हुँदैछ।

यस्तै, सिनेमाको २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रिम टिकट बुकिङको लागि शो खुलिसेको छ। यता जापानका लागि पनि सिनेमाको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा सिनेमा रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको छ।

युरोपको बेल्जियम लगायतका देशमा पनि सिनेमाले आक्रामक सुरुवात गर्ने देखिएको छ। 

अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा सिनेमाको शो नै सुरु हुँदैछ। अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ। ओभरसिज वितरकले सिनेमाको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भैरहेको जानकारी दिएका छन्।

प्रतिक्षित सिनेमामा ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा समेटिएको छ।

सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ। सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन्।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि लामिछाने नै हुन्। सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन र कृष्ण भारद्वाजको संगीत रहेको छ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो। 

लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन्। सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .