कला


हिन्दी फिल्म देखाएर चलचित्र विकास बोर्डका कर्मचारीले तलब खान्छन् : नीर शाह

हिन्दी फिल्म देखाएर चलचित्र विकास बोर्डका कर्मचारीले तलब खान्छन् : नीर शाह

नेपालखबर
भदौ १७, २०८० आइतबार १०:४३, काठमाडौँ

वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि नेपाली सिने उद्योगमा नयाँ-नयाँ बेथिति देखिन थालेको टिप्पणी गरेका छन्। 

ललितपुरमा आयोजित ‘कलिङ साहित्य महोत्सव’ अन्तर्गत ‘एक्काइसौं शताब्दीमा रीलः नेपाली सिनेमाको विकास’ सेसनमा बोल्दै उनले सरकारले अनुदान कटौती गरेपछि नेपाली सिनेमाको ओरालो यात्रा सुरु भएको बताएका हुन्। नेपालले वि.सं.२०५८ सालदेखि चलचित्रलाई अनुदान दिन बन्द गरेको थियो। 

०४२ सालदेखि सरकारले दिएको अनुवाद चलचित्र विकास बोर्डको स्थापनापछि बन्द भएको उनले बताए। 

‘७० प्रतिशत हिन्दी फिल्मले ओगटेको नेपाली फिल्मबजार २० प्रतिशतमा पुग्नु र नेपाली फिल्मको सेयर बजार ८० प्रतिशतमा उक्लनुको मूल कारण पनि यही हो। त्यसलाई बन्द गर्न केही चलचित्रकर्मीले ०५८ सालमा एउटा सम्झौता गर्नुभयो,’ विगत सम्झिँदै  उनले भने, ‘राज्यकोषबाट पाउने सबै इन्सेन्टिभलाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो। विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो। विकास बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो।’

‘वसन्ती’,  ‘सेतो बाघ’ र ‘वासुदेव’ जस्ता मौलिक फिल्म निर्देशन गरेका नीर शाह प्रसिद्ध कलाकार समेत हुन्। 

फिल्म क्षेत्रमा सरकारले उदासीनता देखाएको आरोप उनको थियो। ‘विगतमा राज्यले चलचित्र उद्योगलाई सघाउँथ्यो। २०४२देखि ०५८ सालसम्म राज्यले नेपाली चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो। मनोरन्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो,’ विगत सम्झिँदै उनले भने, ‘तर, अब त्यो अवस्था रहेन।’

उनले चलचित्र लाहुरेले विगतमा राष्ट्र बैँकबाट ३३ लाख रुपैयाँ मनोरञ्जनबाट पाएको स्मरण उनले गरे। 

‘प्रसिद्ध निर्देशक तुलसी घिमिरेको फिल्म ‘लाहुरे’ भृकुटीमण्डपको हाइभिजन हलमा चलेको थियो। यसको प्रदर्शन व्यवस्थापन नेपाल टेलिभजनले गरेको थियो। त्यतिबेला म नेपाल टेलिभिजनसँग जोडिएको थिएँ। त्यो सिनेमाले नेपाल राष्ट्र बैंकबाट ३३ लाख रकम मनोरन्जनबाट वापत् पाएको थियो,’ शाहले भने। 

अचेल चलचित्र विकास बोर्डका कर्मचारीले हलमा हिन्दी फिल्म देखाएर आएको पैसाबाट तलब थाप्ने गरेको पनि उनले बताए। 

‘अहिले हिन्दी फिल्म हलमा देखाएर जति पैसा कलेक्सन हुन्छ, त्यसबाट पाएको रकमबाट विकास बोर्डका कर्मचारीले तलब पाउँछन्। अध्यक्षले पाउने ६२ हजार ३ सय ‍८८ रुपैयाँ  हिन्दी चलचित्र सिनेमा देखाएवापत् प्राप्त गरेको रकम हो,’ उनले भने, ‘विगतमा भएका राम्रा अभ्यासलाई हाम्रा चलचित्रकर्मी साथीहरूले नै बिगार्नुभएको हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .