ad ad

कला


जेबी टुहुरेलाई सरकारले दियो ‘जनगायक’को उपाधि

जेबी टुहुरेलाई सरकारले दियो ‘जनगायक’को उपाधि

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८० बुधबार ११:५०, काठमाडौँ

सरकारले चर्चित प्रगतिशील गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिएको छ। 

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‍को बैठकले स्वर्गीय गायक टुहुरेलाई उक्त उपाधिले सम्मान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

शर्माका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा टुहुरेलाई उक्त उपाधि दिने निर्णय गरेको हो। 

सयौँ जनवादी र प्रगतिशील गीत गाएका टुहुरेको २ वर्षअघि निधन भइसकेको छ। उनको २०७८ भदौ १० गते ७८ वर्षको उमेरमा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको थियो। उनको जन्म सुनसरीको धरानमा भएको थियो।

कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारले तत्काल बयोधा अस्पताल लगेका थिए। उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेपछि निधन भएको थियो। 

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतका दीर्घरोग भएका कारण उनको शल्यक्रिया भएको थिएन।

दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी थियो। उनी २० वर्षको उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका थिए।

वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन्।

‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले वि.सं. २०३४ सालदेखि गाउँदै आएका थिए।

टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .