ad ad

कला


श्रेष्ठ र निरौलालाई छायाछवि रजत सम्मान, गिरीलाई चलचित्र पत्रकारिता पुरस्कार

अरू कुन अवार्ड कसलाई?
श्रेष्ठ र निरौलालाई छायाछवि रजत सम्मान, गिरीलाई चलचित्र पत्रकारिता पुरस्कार

नेपालखबर
असार १८, २०८० सोमबार ११:५५, काठमाडौँ

अभिनेता अर्जुन श्रेष्ठ र हास्य अभिनेत्री तथा चर्चित निर्देशक दीपाश्री निरौलालाई छायाछवि रजत सम्मान दिइने भएको छ। 

छायाछवि क्रियसनको आयोजनामा हुने डी सिने अवार्ड २०७६/०७७ मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान दिन लागिएको अवार्डका अध्यक्ष शान्तिप्रियले जानकारी दिएका छन्। अवार्ड समारोह यही असार १८ गते रसियन कल्चर सेन्टरमा आयोजना हुने छ। 

सन् १९९१ को चलचित्र ‘सम्पत्ति’बाट नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गरेका श्रेष्ठले तीसभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। यस्तै विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रममा काम गरेपछि सन् १९९८ मा प्रदर्शन भएको चलचित्र ‘गाउँले’  (प्रदर्शनका हिसाबले सन् १९९७ को चलचित्र ‘नासो’) बाट यस क्षेत्रमा प्रवेश गरेकी निरौलाले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गर्नाका साथै चलचित्र ‘छक्कापञ्जा’का बहुचर्चित ३ वटा सिरिज निर्देशनसमेत गरिसकेकी छन्। 

यस्तै छायाछवि चलचित्र पत्रकारिता पुरस्कार चलचित्र पत्रकार कुवेर गिरीलाई दिइने भएको छ। वि.सं. २०५८ सालमा ‘प्रभातकालीन’ दैनिकबाट पत्रकारिता सुरु गरेका गिरी निरन्तर चलचित्र पत्रकारितामा सक्रिय छन्। चलचित्र पत्रकार संघ, नेपालको उपाध्यक्षसमेत रहेका गिरी हाल रातोपाटी डटकममा आबद्ध छन्। 

यस्तै यस वर्ष कलाका विभिन्न माध्यमबाट नेपाली चलचित्र, गीत-संगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पुर्‍याएका कला-साधकहरुलाई पनि छायाछवि सम्मान अर्पण गरिने भएको छ। यस वर्ष अभिनेता तथा मोडल दिनेश केसी, चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राविधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुवेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाछवि सम्मान दिइने भएको छ। 

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको चलचित्र छनोट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिस्ट जीवन थापा, मोडल सुदीप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर छन्।

समारोहमा २०७७/०७८ सालमा सार्वजनिक प्रदर्शनमा आएका चलचित्रबाट वभिन्न विधामा अवार्ड प्रदान गरिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .