अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ले हाम्रो देशमा सिर्जना गरेको विवादप्रति चिन्ता प्रकट गरेका छन्।
उक्त फिल्ममा रामायणकी सीता भारतमा जन्मिएको आशयको संवाद रहेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भारतीय फिल्म प्रदर्शनमा लगाएको प्रतिबन्धविरुद्ध उच्च अदालत (पाटन) ले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि नेपाली समाज दुई कित्तामा विभाजन भएको छ।
बिहीबार अदालतले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्नासाथ मेयर शाहले सामाजिक सञ्जालमा लेखे– जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन।...अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ।...जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’
यस विषयमा अहिले पक्ष र विपक्षमा प्रतिक्रिया व्यक्त भइरहेका छन्। कतिले राष्ट्रियताका सवालमा बालेनको अडान जायज भनिरहेका छन् भने कतिले अदालत/कानुनै मान्दिनँ भन्नु अराजकताको पराकाष्ठा हो भन्दै कडा आलोचना गरिरहेका छन्।
यसैलाई इंगित गर्दै कलाकार दीपकराजले हामी गम्भीर मोडमा आएको उल्लेख गरेका हुन्। यसले नेपाली–नेपालीबीच नै लडाइँको संकेत गरेको चिन्ता उनले व्यक्त गरेका छन्।
‘अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौँ’, गिरीले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई। पहिला हाम्रा पुर्खा राष्ट्रको लागि विदेशीसँग लडे। अब हामी राष्ट्रियताको नाममा आफूआफू लडने छौँ। यसबाट जुन पक्षले जिते पनि देशले चाहिँ हार्नेछ।’
उनले चिन्ता प्रकट गर्र्दै लेखेका छन्, ‘एकले अर्कोलाई राष्ट्रघाती भन्ने, अर्कोले अर्कोलाई तानाशाह भन्ने जुन संकेत भिडन्तको संकेत हो। संहारको संकेत हो। अहिलेको भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोडिनेछ।’
यस्तो छ गिरीको फेसबुक स्टाटस
मलाई लाग्छ- हामी गम्भीर मोड़मा आइपुगेका छौँ। जनताको जुन प्रकारको जनअपेक्षा थियो दलहरूले त्यसको ठीकविपरीत काम गरेकै हो। देशमा परिवर्तन अनेकौँ भए। तर ती केवल राजनीतिक परिवर्तन मात्रै थिए। जनताको अवस्थामा खासै केही परिवर्तन आएन।
धनी हरेक दिन धनी बन्दै गए, गरिब झन्झन् गरिब। पहुँच हुनेहरूको लागि हरेक सुविधा ढोकामै उपलब्ध हुने, तर भुइँ मान्छेको लागि सामान्यभन्दा सामान्य कुरा पनि दुर्लभ हुन थाल्यो। दलहरू र तिनका कार्यकर्ताको तडकभडक शैलीले उनीहरूमा झन् नैराश्यता निम्त्यायो।
पछिल्लो कोभिडको समयपछि स्थिति झनै भयावह हुँदै गयो। सर्वसाधारणहरूले चर्को अभाव र गरिबी झेल्नुपर्यो। फलस्वरूप पासपोर्ट लिनेहरूको लाइन, हरेक सोमबार पशुपतिनाथमा दर्शन गर्नेहरूको लाइनभन्दा लामा हुन थाले। हाम्रो एअरपोर्ट कुनै ट्रेन स्टेसनजस्तो लाग्न थाल्यो। सबैतिरको यो बेथिति, विसंगति र अभावविरुद्ध आफ्ना आवाजहरू बुन्लद गरेर केही नयाँ व्यक्ति र शक्तिहरूको उदय भयो। त्यो स्वाभाविक पनि थियो। जसरी जनताका यस्तै अभाव असन्तुष्टिको प्रतिनिधित्व गरेर कुनै समय कांग्रेस, एमाले, माओवादीहरूले लामो समयसम्म शासन गर्ने मौका पाए।
ठीक त्यसै गरेर अहिलेको अवस्थामा जनताको आशा-भरोसा नयाँ अनुहारहरूमा केन्द्रित भएको छ। उनीहरूमा जनताको विश्वास र भरोसा बढ्दै गयो। यी नयाँ व्यक्ति र शक्तिहरूप्रति जनताको मुख्य आकर्षण भनेको नै दलहरूप्रतिको वितृष्णा नै हो। नयाँ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो, त्यो स्वाभाविक पनि हो।
हरेक गरिब र कमजोर मुलुकमा सबैभन्दा चाँडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो। अब यसरी उदाएका शक्तिहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा नै चलेको छ। जनता पनि जसले ठूलो स्वरमा देशको बारेमा बोल्छ त्यता लाग्नु स्वाभाविक हो। देश आखिर देश नै हो।
झन् पछिल्लो समय जुन घटना घट्यो, त्यसले मलाई के लाग्छ भने पहिचानका लागि अब देशमा २ शक्तिहरू मात्रै बाँकी रहनेछन्। एउटा राष्ट्रवादी अर्को राष्ट्रघाती। एकले अर्कोलाई राष्ट्रघाती भन्ने, अर्कोले अर्कोलाई तानाशाह भन्ने, जुन संकेत भिडन्तको संकेत हो। संहारको संकेत हो। अहिलेको भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोडिनेछ।
अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौँ। अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई। पहिला हाम्रा पुर्खा राष्ट्रको लागि विदेशीसँग लडे। अब हामी राष्ट्रियताको नाममा आफू-आफू लडने छौँ। यसबाट जुन पक्षले जिते पनि देशले चाहिँ हार्नेछ।
समय छँदै यो विनासकारी प्रतिस्पर्धाबाट बाहिर आएर एकले अर्कोको विचारको सम्मान गर्दै दलीय र व्यक्तिगत स्वार्थ त्यागेर हातेमालो गरेर अगाडि बढेमा मुलुकमा रहेको विद्यामान समस्याहरुविरुद्ध जित हासिल गरेर देश अगाडि बढाउन सकिएला। नत्र यही शैलीमा अघि बढे जय पशुपतिनाथ!! जय नेपाल!!
Shares
प्रतिक्रिया