ad ad

राजनीति


अदालतको आदेश नमान्ने बालेनको निर्णयमा कमल थापाको समर्थन

अदालतको आदेश नमान्ने बालेनको निर्णयमा कमल थापाको समर्थन

फाइल फाेटाे


नेपालखबर
असार ७, २०८० बिहिबार २०:२४, काठमाडौँ

अदालतको आदेशसमेत नमानेर काठमाडौं महानगरमा भारतीय फिल्म चल्न नदिने मेयर बालेन्द्र शाहको अडानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन गरेका छन्। 

मेयर शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले हालेको मुद्दा सुनुवाइ गर्दै उच्च अदालत (पाटन) ले बिहीबार (आज) भारतीयलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्र प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

तर मेयर शाहले यो देशको सार्वभौमसत्ता र स्वाधीनताको सवाल भएको भन्दै अदालतको आदेशसमेत नमान्ने घोषणा गरेका छन्। र, काठमाडौं महानगरभित्रका सिनेमा घरमा भारतीय फिल्म प्रदर्शनमा लगाइएको रोक यथावत् रहने जिकिर गरेका छन्। 

राप्रपा नेपालका अध्यक्ष थापाले बालेन्द्रको उक्त निर्णयको प्रशंसा गरेका हुन्। 

‘कार्यशैली र अभिव्यक्ति विवादास्पद होलान्। तर, काठमाडौंका मेयर बालेन साहको मुटु ठीक ठाउँमा छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केही अपवादबाहेक छोटो समयमा बालेनले गरेका र गर्न खोजेका कार्य सराहनीय छन्। भारतीय चलचित्र ‘आदिपुरुष’का संवाद लेखक मुंतशिरको अभिव्यक्ति आपत्तिजनक छ।’

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा रामायणकी ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको र आफ्नो मागबमोजिम त्यो भनाइ फिल्मबाट नहटाइएको भन्दै मेयर शाहले गत सोमबारदेखि आफ्नो नगर क्षेत्रभित्रका सिनेमा घरमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका हुन्। 

तर त्यस फिल्ममा त्यस्तो संवाद नरहेको कुरा सार्वजनिक भएपछि मेयर शाहको आलोचना भइरहेको छ। सरकारले समेत बालेनले स्टन्ट गरेको आक्षेप लगाएको छ। यहीबीच उच्च अदालतले समेत भारतीय फिल्म प्रदर्शन नरोक्न भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

तर मेयर शाहले फिल्म लेखकले नै नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत प्रस्ट भइसकेको तर्क गरेका छन्। र, यस्तो अवस्थामा आफ्नो निर्णयविरुद्ध सरकार र अदालत देखिनु उनीहरू भारतको गुलाम भएको आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .