कला


काठमाडौंमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएकोमा भारतीय नागरिकको पनि समर्थन

काठमाडौंमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएकोमा भारतीय नागरिकको पनि समर्थन

नेपालखबर
असार ४, २०८० सोमबार १०:२६, काठमाडौँ

दक्षिण भारतीय चलचित्र 'आदिपुरुष'को विवादित संवाद नसच्चाइएको भन्दै आज सोमबारदेखि काठमाडौं र पोखरा महानगरपालिकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका छन्। 'जानकी भारतकी छोरी' भन्ने संवाद नसच्चाएपछि फिल्म विवादमा तानिएको हो।

उसो त फिल्मको कथा र संवादका कारण भारतमा पनि फिल्मप्रति आक्रोशको ज्वाला दन्किरहेको छ। धेरैले फिल्मको आलोचना गरेका छन्।

काठमाडौं महानगरका मेयर बालेन शाह र पोखरा महानगरका मेयर धनराज आचार्यले संवाद नसच्चाएसम्म सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेका छन्। जसको समर्थन र विरोधमा मत विभाजन भइरहेको छ। कतिले उक्त निर्णय सही भएको अभिव्यक्ति दिइरहेका छन् त कतिले सबै हिन्दी फिल्मलाई एउटै डालोमा हालेर हेर्न नहुने तर्क गरेका छन्।

'समस्या आदिपुरुषले निकालेको हो त्यसैले आदिपुरुष मात्रै बन्द गरौँ। उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि! उता बाट त धेरै कुरा आउछ,' कलाकार दीपकराज गिरीले लेखेका छन्। उनको उक्त टिप्पणीमा धेरैले विरोध पनि जनाएका छन्।

'सबै हिन्दी फिल्मलाइ एउटै डालोमा हालेर रोक्नुभन्दा जुन फिल्ममा गलत सन्देश सम्प्रेषण छ, त्यही मात्रै रोक्दा चाहिँ उचित होला कि!' चलचित्र निर्देशक केपी पाठकले भनेका छन्।

'जानकी भारतकी छोरी' संवादको विवाद अब भारतमा पनि प्रवेश गरेको छ। उक्त फिल्मलाई नेपालमा लगाइएको प्रतिबन्धमा धेरैले समर्थन गरेका छन्। भारतीय सञ्चारमाध्यम समाचार प्रकाशित भएपछि त्यहाँका आम सर्वसाधारणले फिल्ममा लगाइएको रोकको समर्थन गरेका छन्। तर सबै भारतीय फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय भने उचित नभएको उनीहरूको भनाइ छ।

भारतीय सञ्चार माध्यममा आएका अधिकांश कमेन्टमा अधिकांशले नेपालको निर्णयको समर्थन गरेका छन् भने केहीले अन्य फिल्मलाई पनि रोक लगाइएकोमा आक्रोश समेत व्यक्त गरेका छन्।

स्विडेनस्थित उप्साला विश्वविद्यालयका प्रोफेसर भारतीय नागरिक अशोक स्वैनले नेपालको कथा फरक भएको बताउँदै त्यो बुझ्नुपर्ने टिप्पणी गरेका छन्। ट्विट गर्दै उनले भनेका छन्, 'सीताको जन्म भारतमा भएको दाबी गरिएपछि काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको छ। हिन्दू सर्वोच्चतावादीहरूले नेपाल गौरवशाली स्वतन्त्र देश हो भन्ने बुझ्नुपर्छ, तपाईंहरूले मुस्लिमलाई धम्की दिनुभयो। रामभूमि भन्दै मस्जिद भत्काउनुभयो। तर नेपालको कथा फरक छ।'

छत्तीसगढका योगा अभियन्ता सन्तोष यादवले आफू नेपालको पक्षमा उभिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'आदिपुरुषको एक संवादका कारण काठमाडौंमा सबै हिन्दी फिल्म ब्यान गरिएको छ। यो कारवाही बिलकुल सही छ। भारतबाट समय सयमा कहिले गौतम बुद्धको जन्म भारतमा भएको भनेर त कहिले के भनेर नेपालीको भावनामा चोट पुर्‍याइएको छ। म नेपालीको पक्षमा उभिन्छु।'

'भारतमा पनि यो हुनपर्छ, फिल्मलाई प्रतिबन्ध गर्नुपर्छ,' पटनाका केशव सिंहले भनेका छन्।

यसैगरी कानपुरका ओमप्रकाश मिश्रले फिल्ममाथि टिप्पणी गर्दै भनेका छन्, 'नेपाललाई धेरै बधाई, आदिपुरुषलाई ब्यान गरेर धेरै राम्रो काम गरेकोमा।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad