ad ad

कला


श्रीमान छोडेर देश रोजेकी नसिमले छोरीका लागि छोडेकी थिइन् फिल्मी करिअर

फिल्म खेल्नकै लागि बसेकी थिइन् अनसन
श्रीमान छोडेर देश रोजेकी नसिमले छोरीका लागि छोडेकी थिइन् फिल्मी करिअर

नेपालखबर
असार ३, २०८० आइतबार १३:४१, काठमाडौँ

४० को दशकमा सबैभन्दा सुन्दर अभिनेत्रीका रुपमा चिनिएकी थिइन् नसिम बानोले। उनले लगातार ३१ वर्षसम्म फिल्म उद्योगमा राज गरिन्। भनिन्छ, सुन्दरताकै कारण नसिमलाई फिल्म छायांकनका क्रममा निकै समस्या हुने गर्थ्यो।

फिल्म निर्माताले उनलाई भिडबाट जोगाउनका लागि छायांकन स्थलमा पर्दा बनाएर अभिनय गराउँथे। उनलाई ब्यूटी क्वीन र पहिलो महिला सुपरस्टारको उपाधि समेत दिइएको थियो।

नसीम बानोको वास्तविक नाम रोशा अरम बेगम थियो। उनको जन्म ४ जुलाई १९१६ मा पुरानो दिल्लीमा भएको हो। नसीमकी आमा शमशाद बेगम आफ्नो समयकी चर्चित गायिका थिइन्।

उनलाई चमियान बाई भनेर पनि बोलाइन्थ्यो। नसिमको बाल्यकाल निकै सुन्दर तरिकाले बितेको हो। उनलाई आमा शमशादले पाल्कीमा स्कुल पठाउँथिन्। छोरी सुन्दर भएकाले सबैको नजरबाट जोगाउन शमशादले यस्तो गरेकी हुन्।

नसिमकी आमा आफ्नी छोरी डाक्टर बनोस् भन्ने चाहान्थिन्। तर उनलाई भने सानैबाट नायिका बन्ने मन थियो। सुलोचना (रुबी मेयर) जस्तै अभिनेत्री बन्ने उनको सपना थियो।

नसिम एकपटक स्कुल बिदा भएको बेला आमासँग फिल्म ‘सिल्भर किङ’को सुटिङ हेर्न गएकी थिइन्। सुटिङ हेरेपछि उनी निकै प्रेरित भइन् र अभिनयमा मात्रै करियर बनाउने निर्णय गरिन्। त्यही क्रममा जब एक निर्देशकको नजर सेटमा नसीममाथि पर्यो, उनी पनि उनको सौन्दर्यबाट मोहित भए र तुरुन्तै फिल्ममा काम गर्ने प्रस्ताव गरे। न्सिमकी आमाले यो प्रस्ताव अस्वीकार गरिन्।

केही समयपछि निर्माता सोहराब मोदीले नसीमलाई फिल्म ‘खून का खून’को लागि मुख्य महिला अभिनेत्रीको रूपमा प्रस्ताव गरे। यसपटक पनि नसीमकी आमाले इन्कार गरिन्, तर यसपटक आमाको इन्कारपछि नसीमले आफूलाई अभिनेत्री बन्नै पर्ने जिद्दी गरिन्।

आमाले छोरीको जिद्दीलाई पनि वास्ता गरिनन्। त्यसपछि नसिम अनसनमा बसिन्। अन्ततः आमाले हार खाएर नसिमले फिल्म ‘खून का खून’बाट फिल्म उद्योगमा डेब्यु गरिन्।

फिल्म ‘खून का खून’ बक्स अफिसमा हिट भयो। नसिमको देशभर चर्चा भयो। पहिलो फिल्मबाटै नसिम सबै फिल्म मेकरहरुको पोहिरो रोजाइ बनिन्। फिल्मको अफर आउन थालेपछि नसिमले पढाइ छाडिन्। छोरीले पढाई छाडेकोमा उनकी आमा दुःखी थिइन्।

उनले मिनर्भा मूवीटोन ब्यानरमा मोदीसँग ‘तलाक’, ‘मीता जहर’, ‘बसन्ती’ लगायतका थुप्रै फिल्ममा अभिनय गरिन्। उनलाई सबैभन्दा धेरै हिट भने फिल्म ‘पुकार’मा निर्वाह गरेको ‘नूरजहाँ’ भन्ने क्यारेक्टरले दिलायो। यसपछि भने उनलाई अन्य प्रोडक्सनका फिल्मको पनि अफर आउन थाल्यो। तर सोहराब मोदीसँगको सम्झौताका कारण उनले ती अफर स्वीकार गर्न सकिनन्। यही कुरालाई लिएर नसीम र सोहराबबीच केही मतभेद भएको थियो।

नसिमले केही फिल्ममा अभिनय गरेपछि नै उत्कृष्ट अभिनेत्रीको उपाधि पाएकी थिइन्। पछि उनले धेरै ‘सि ग्रेट’का फिल्ममा अभिनय गर्न थालिन। उनले त्यो समय अभिनय गरेका भूमिका उनको चरित्रभन्दा भिन्न भएको रिपोर्टहरुले दाबी गरेका छन्।

पति छोडेर देश रोजिन्
नसीमले आफ्नो बाल्यकालको साथी मियाँ एहसान उल हकसँग विवाह गरिन्। विवाहपछि नसीमले छोरी सायरा बानो र छोरा सुल्तान अहमदलाई जन्म दिइन्। उनका श्रीमानले ताजमहल पिक्चर्स ब्यानर सुरु गरे। यो ब्यानर अन्तर्गत नसीम र उनका पतिले ‘मुलाकात’, ‘चाँदनी रात’ र ‘अजीब लडकी’ लगायतका फिल्म निर्माण गरे।

नसीमका श्रीमान सन् १९४७ मा भारत–पाकिस्तान विभाजनपछि पाकिस्तान बसाइ सरेर गए। उनले नसिमलाई आफूसँगै लिएर जान चाहान्थे। तर नसिम पाकिस्तान जान चाहिनन्। उनले पाकिस्तान नजाने र आफ्नो देश भारतमै बस्ने निर्णय गरिन्।

त्यसपछि श्रीमान पनि उनलाई भेट्न भारत आएनन्। उनले पाकिस्तानमा रिलिज भएका नसीमका धेरै फिल्मको नकारात्मक टिप्पणी गरे। तर नसिमका फिल्मले पाकिस्तानमा पनि राम्रो कमाइ गरे। त्यहाँ पनि उनको लोकप्रियता थियो।

छोरीका लागि फिल्म छोडिन्
‘अजीब लडकी’ फिल्म नसिमको सिने करिअरको अन्तिम फिल्म बन्यो। यो फिल्मबाट उनले फिल्मी करिअर छोडिन्। यो त्यही समय थियो जुन समय उनकी छोरी सायरा बानोले फिल्मी पर्दामा डेब्यु गर्ने सपना बनाइनन्। उनले आफ्नो तुलना छोरीसँग गर्न चाहिनन्। त्यसैले उनले फिल्मबाट सन्यास लिएकी थिइन्।

त्यसपछि नसीमले फेसन डिजाइनरको रूपमा काम गर्न थालिन् र आफ्नी छोरीको धेरै फिल्मका लागि लुगा डिजाइन गरिन्। एक रिपोर्टका अनुसार सायरा बानो र दिलीप कुमारको विवाहमा नसीमको ठूलो भूमिका रहेको बताइएको छ। नसिमको मृत्यु सन् २००२ मा भयो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .