ad ad

कला


निर्माता रोहित भन्छन्- अनमोलको प्रोजेक्टमा म इन भएको हुँ

निर्माता रोहित भन्छन्- अनमोलको प्रोजेक्टमा म इन भएको हुँ

राधिका अधिकारी
जेठ १०, २०८० बुधबार १३:८, काठमाडौँ

नेपाली फिल्म उद्योगमा थोरै फिल्म निर्माण गरेर पनि आफूलाई स्थापित गराएका निर्माता हुन्- रोहित अधिकारी। उनले २०७३ सालमा पहिलोपटक ‘गाजलु’ फिल्ममा लगानी गरे। यो फिल्ममा अहिलेका स्टार कलाकार अनमोल केसी र सृष्टि श्रेष्ठले अभिनय गरे। फिल्म ब्लकबस्टर भयो। निर्माताका रुपमा रोहितको राम्रै चर्चा भयो। 

यो फिल्म हिट भएसँगै रोहितले अर्को फिल्म निर्माण गरिहाल्ने अनुमान धेरैले गरेका थिए। तर उनले हतार गरेनन्। पहिलो चलचित्रबाटै धेरैको ‘हाइहाइ’ पाएका रोहितले ३ वर्षपछि दीपकराज गिरी तथा दीपाश्री निरौलाको टिमसँग मिलेर ‘छ माया छपक्कै’मा लगानी गरे। यो फिल्मले पनि बक्स अफिसका थुप्रै रेकर्ड ब्रेक गरिदियो। त्यसपछि रोहितलाई फिल्म उद्योगमा धेरैले भाग्यमानी निर्माताका रुपमा हेर्न थाले। कारण यही समय फिल्म निर्माणमा आउने र लगानी डुबाएर पलायन हुने निर्माताको सूची लामो बन्दै गएको थियो।

‘छ माया छपक्कै’को सफलतापछि रोहितले दीपक–दीपाकै टिमसँग मिलेर अर्को फिल्म निर्माण गर्ने तयारी गरेका थिए। उनको यो तयारी कोरोनाले बिथोल्यो। कोरोनापछिको केही समय चुपचाप बसेका रोहितको हातमा यतिबेला तीनवटा फिल्म छन्। रोहित सबै फिल्मको छायांकन यसै वर्ष पूरा गर्ने योजनामा छन्।

उनी सबैभन्दा पहिला अनमोल केसीलाई लिएर फिल्म ‘फर्की फर्की’ लिएर फ्लोरमा जाने तयारीमा छन्। अनमोल र जसिता गुरुङलाई लिड क्यारेक्टरमा लिएर छायांकनमा निस्कने तयारीमा रहेका रोहित हिजोआज अनमोलका दर्शक तथा मिडियालाई स्पष्टीकरण दिँदैमा हैरान छन्। कारण हो- पछिल्लो समय अनमोलले साइन गर्दै छाडेका फिलमको लामो सूची। अनमोल उद्योगमा ठूलो स्टारडम भएका कलाकार हुन्। उनलाई दर्शकले उनकै जनरामा हेर्न पर्खिएको लामो समय भयो। सुस्ताएको उद्योगमा पनि अनमोल आफ्नै जनराको फिल्म लिएर फर्किने हो भने फस्टाउने धेरैको आश छ। 

तर अनमोलले पछिल्लो समय फिल्ममा अनुबन्ध हुँदै छाड्दै गरेका कारण यसपटक पनि अनमोलले ‘फर्की फर्की’ छाड्ने हुन् कि भन्ने धेरैलाई आशंका छ। रोहितलाई यही प्रश्न गरिरहेका छन्। तर रोहित यो आफ्नो नभएर अनमोलको प्रोजेक्टमा आफू जोडिएको बताउँछन्। यो फिल्म समयमै छायांकनमा जाने र समयमै रिलिज हुने रोहितको विश्वास छ। फिल्मको नाम पनि अनमोल आफैँले राखेको रोहितको भनाइ छ। भन्छन्, ‘यो फिल्म अनमोलको प्रोजेक्ट हो र यसमा हामी इन भएका हौँ।’

सुयोग गुरुङले निर्देशन गर्ने यो फिल्ममा जसिता र अनमोललाई अन्य दुई कलाकारले साथ दिने छन्। सहायक कलाकारका लागि रेश्मा घिमिरे र रवि काफ्लेसँग कुरा भइरहेको रोहित बताउँछन्। फिल्म निर्माणमा यसपटक रोहितसँग ओम अग्रवाल र श्याम कँडेलले सहकार्य गर्ने छन्। फिल्मका सहनिर्माता मनोज कुमार ओली हुन्। 

लभस्टोरी जनरामा निर्माण हुने फिल्मको कथा लेखन सकिएको छ। फिल्म भदौ पहिलो साताबाट छायांकनमा जाने निर्माता अधिकारीले बताए। फिल्ममा अनमोललाई दर्शकले हेर्न चाहेकै रुपमा प्रस्तुत गर्ने रोहितको तयारी छ। अनमोल लभस्टोरी फिल्ममा जमेका कलाकार हुन्।

बीचमा उनले आफ्नो भूमिका परिवर्तन गर्ने कोसिस गरे। तर त्यसलाई दर्शकले पत्याएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .