कला


हिंसामा परेका ३ युवतीको कथा कौशी थिएटरमा

हिंसामा परेका ३ युवतीको कथा कौशी थिएटरमा

नेपालखबर
जेठ ९, २०८० मंगलबार ९:५३, काठमाडौँ

काठमाडौंको एउटा फ्ल्याटमा तीन जना युवती भाडामा बस्छन्। एक–अर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन्। तर पनि सँगै बस्न बाध्य छन्।

आफ्नो रूचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ।

योसँगै उनीहरूको विगत किताबको पानाझैँ पल्टिँदै जान्छन् जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खल्छ। एक दिनको घटनाले उनीहरूको वर्षौँदेखिको कथा बताउँछ। 

यो कथासार हो मञ्चनको तयारीमा रहेको नाटक ‘त्रयम’को। तीन युवतीको विगत कोट्याउँदै नाटकले महिलाले दैनिक जीवनमा भोग्ने हिँसालाई रोचक पारामा प्रस्तुत गर्नेछ।

दिलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आउँदो १२ गतेदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुने भएको छ। 

नाटक थिएटर भिलेजले निर्माण गरेको हो। थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो। निर्देशक दिलिप रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताएका छन्। 

‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ। एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ। तर त्यो दर्शकसम्म पुगेको थिएन । यसपल्ट मौका जुर्दै छ’ दिलिपले भने, ‘यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन्। कतिले मलाई सुनाएका छन्। कतिले नभनी पनि मैले बुझेको छु। यो नाटकले तपाईँहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ।’

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन्। उनीहरुलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन्। 

नाटक १२ गतेबाट सुरु भएर २८ गतेसम्म चल्नेछ। दिलिप रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दापछाडि रहेर आयुष्मा खरेलले सघाएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad