सनुर्भी इन्टरनेसनल प्रालिको आयोजनामा सम्पन्न ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’ को उपाधि क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन्।

काठमाडौंमा बुधबार बेलुकी भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार भए। यीमध्ये ’मिस्टर एन्ड मिस नेसनल नेपाल’ का विजेताले ’मिस्टर एन्ड मिस सुप्रानेसनल’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् भने अन्यले सोही शीर्षकअन्तर्गत अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बु घोषणा भए।
समारोहमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिए। ‘प्रतियोगिताका विजयीले आफूलाई अन्तर्राष्ट्रिय स्टेजमा अब्बल साबित गर्न सक्नुहोस् शुभकामना छ। तपाईंहरूसँग हामी छौँ। देश चिनाउने अभिनयमा अगाडि बढ्न आग्रह गर्छु’,मन्त्री लिम्बुले भने। उनले बजेटको विषयमा भइरहेको छलफलबाट समय निकालेर युवाको गतिविधिमा सहकार्य गर्न र प्रोत्साहन गर्न कार्यक्रममा आएको बताउँदै आफ्नो मन्त्रालयलाई खेलकुदमा मात्र जोडेर नबुझ्न आग्रह गरे।
‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कारले सहभागी सम्पूर्णको भविष्य उज्वल देखेको बताए। ‘म एकसातादेखि नेपालमा छु। प्रतियोगीको लगनशीलता र मेहनत देखेर म प्रभावित भएको छु। नेपालमा यसको सुरुआत गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद’, मौलिङ्ग्कारले भने।
कार्यक्रम आयोजक डाक्टर सन्तोष उपाध्यायले आफैँ ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाका लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुआत गरेको जानकारी दिए। ‘म विदेशमा पुगेर तेस्रो उपविजेता बन्न सक्छु भने मभन्दा ट्यालेन्ट नेपाली धेरै छन्। उनीहरुको प्रतिभालाई स्टेजसम्म ल्याउने कोसिस गरेको हुँ। मेरो उद्देश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पुर्याउने र जिताउने हो’, डा. उपाध्यायले भने। सोको कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार थिए।
प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएका अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिएँ। त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन्।
Shares

प्रतिक्रिया