ad ad

कला


जसलाई टिकटकले बनायो कलाकार

जसलाई टिकटकले बनायो कलाकार

नेपालखबर
बैशाख २५, २०८० सोमबार १३:१५, कञ्चनपुर

बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन्। प्रविधिको तीव्र विकासँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जनको प्रमुख माध्यम बनेको छ। त्यसमा पनि पछिल्लो समय टिकटकमा रमाउने बढी छन्। 

मनोरञ्जन मात्रै नभई टिकटक आजकल प्रतिभा प्रस्फुटन गर्ने माध्यम भएको छ। टिकटकमार्फत गीतमा अभिनय गर्ने कञ्चनपुर भीमदत्त नगरपालिका– १८ का नरेश जोशी अहिले म्युजिक भिडिओमा पनि अभिनय गर्न थालेका छन्। सुरुवाती समयमा टिकटकमा अभिनय गरेका भिडिओ सार्वजनिक गर्न थालेपछि उनको अभिनय मन पराउनेको सङ्ख्या धेरै भयो। 

टिकटकमार्फत नै चर्चामा आएका उनी पछिल्लो समय देउडा गीतमा अभिनय गर्न खोजिने पात्र बनेका छन्। ‘टिकटकमा अभिनय गरेका भिडिओ राख्थेँ पछि म्युजिक भिडिओमा पनि अभिनय गर्ने अवसर पाएँ’, जोशीले भने,‘अहिलेसम्म एक दर्जनभन्दा बढी भिडिओमा‍ अभिनय गरिसकेको छु।’

विशेषगरी देउडा गीतमा अभिनयका लागि अफर आउने गरेको उनले बताए। लामो समय रोजगारीका लागि भारत बसेका उनी केही वर्षयता कञ्चनपुरमा अटो व्यवसाय सञ्चालन गरिरहेका छन्। ‘परिवारको खर्च जोहो गर्न अटो चलाउँछु, अभिनय त कहिलेकाहीँ मात्रै हो’, उनले भने, ‘अभिनयबाटै घरपरिवार चल्ने नदेखेपछि अटो व्यवसाय पनि गरिराखेको छु।’

कोरोना भाइरस महामारी फैलिएका वर्ष समय बिताउन मानिसलाई सजिलो माध्यम बन्यो- टिकटक।  त्यसयता नै नेपालमा पनि टिकटकको चर्चा एकाएक चुलियो। यसले कैयौँ मानिसका प्रतिभालाई बजारमा परिचित गरायो। कैयौँ मानिसलाई लोकप्रिय बनायो। नाम पनि नसुनिएका ठाउँलाई एकाएक पर्यटन क्षेत्र बनायो। कक्षा १२ पास गरेर उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर आएका बैतडीका प्रतिभा भट्ट पनि अहिले चर्चामा छिन्। 

बैतडी बस्दासम्म मोबाइलसमेत नभएका उनी अहिले देउडा गीत गाएका भिडिओ टिकटकमा राखेर चर्चामा छन्। ‘बैतडीबाट महेन्द्रनगर आए पनि एकदिन देउडा गीत गाएको भिडिओ टिकटकमा राखेँ’, भट्टले भने, ‘टिकटकमा फलोअर्स र भ्युज धेरै आयो। साथीहरुले पनि राम्रो छ, अझ गाउनुपर्छ भने।’ उनले पछि स्वर राम्रो छ, अझै गाउनुपर्‍यो भनेर अनुरोध आउन थालेपछि थप भिडिओ टिकटकमा पोस्ट गर्न थालेको बताए। 

त्यसैगरी यहाँका लक्ष्मण अधिकारी पनि टिकटक प्रतिभा प्रस्फुटन गर्ने प्रमुख माध्यम बनेको बताउँछन्। ‘मैले टिकटकमा देउडा गीतको मात्रै भिडिओ बनाउने गरेको छु’, उनले भने, ‘सबैले देउडा गीत पनि हेरुन्, सुनुन्, हाम्रो भाषा संस्कृतिको पनि प्रचार होस् भन्ने उद्देश्य पनि हो।’

देउडा गीतमा अभिनयसँगै आफ्नै स्वरमा गीतसमेत बजारमा ल्याएको उनले बताए। अहिले उनका ‘दुवैको लाहुर्या’ लगायतका गीत चर्चामा छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .